द्वन्द्वपीडित एकल महिला संजाल बाँकेका संस्थापक अध्यक्ष तथा केन्द्रीय उपाध्यक्ष शोभा बि.सी.ले अबका दिनमा कहिल्यै आफूहरूलाई बेपत्ता दिवस मनाउन नपरोस् भन्ने लाग्ने गरेको बताएकी छिन् । ११ औं बलपूर्वक बेपत्ता पार्ने कार्य विरूद्धको अन्तर्राष्ट्रिय दिवसको सन्दर्भ पारेर मंगलबार बाँकेको राप्तीसोनारी गाउँपालिकाको कार्यालयमा द्वन्द्वपीडित एकल महिला संजाल बाँकेद्वारा आयोजित कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।

द्वन्द्वकालमा राज्य तथा तत्कालिन विद्रोही माओवादीबाट बलपूर्वक बेपत्ता पारिएका मानिसहरूको अवस्था अझै पनि सार्वजनिक नभएकाले त्यसको दबाब स्वरूप यो कार्यक्रमको आयोजना गरिएको बताएकी छिन् । आफ्नो परिवारका सदस्य अझै पनि फर्किएर आउँछन् कि भन्ने आसमा आफुहरू बसेको बताएकी छिन् । उनीहरू फर्किएर आउने आसलाई शक्तिमा बदल्न र सरकारलाई दबाब दिन बेपत्ता पारिएका परिवारलाई आँपको विरूवा वितरण गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि तथा राप्तीसोनारी गाउँपालिकाका उपाध्यक्ष धनीकुमारी खत्रीले आफ्नो स्थानीय तहमा रहेका त्यस्ता बेपत्ता पारिएका मानिसहरूको अवस्था सार्वजनिक गर्नका लागि आफुहरूले खोजी गर्न र आवश्यक सहयोग गर्न तयार रहेको बताइन् ।
बेपत्ता पारिएकाहरूको अवस्था सार्वजनिक गर्न सरकारलाई दबाब दिने उद्देश्य स्वरूप पनि यो कार्यक्रम आयोजना गरिएको संजालका उपाध्यक्ष बिन्दा खरेलले बताइन् ।
कार्यक्रममा करिब ८ जनाभन्दा बढिलाई विरूवा वितरण गरिएको संजालका सचिव विजया रोकायले बताइन् । कार्यक्रममा नेपालगंज उपमहानगरपालिकाका कार्यपालिका सदस्य बसन्ता जोशी तथा बेपत्ता परिएका घरपरिवारका सदस्यहरूको उपस्थिती रहेको थियो ।