सीमा क्षेत्रमा विवाद चर्किँदा धुलाचौरमा यात्रु रोकिए

हुम्ला र बाजुरा को सीमावर्ती क्षेत्रमा अस्थायी प्रहरी चौकी स्थापना गर्ने विषयलाई लिएर दुई जिल्लाका स्थानीयबीच उत्पन्न विवादले तनावपूर्ण अवस्था सिर्जना गरेको छ । बुधबार बाजुराको हिमाली गाउँपालिका–३ स्थित लाम्पाटामा भएको झडपमा परी कम्तीमा छ जना घाइते भएका छन् भने सयौँ यात्रु कर्णाली करिडोरअन्तर्गत धुलाचौर क्षेत्रमा अलपत्र परेका छन् ।

हुम्लाको नाम्खा, ताँजाकोट, सर्केगाड र खार्पुनाथ गाउँपालिकासँग जोडिएको सीमाक्षेत्र लाम्पाटामा अस्थायी प्रहरी चौकी स्थापना गर्ने निर्णयपछि स्थानीयस्तरमा विवाद चर्किएको हो । विवादले उग्र रूप लिएपछि दुवै पक्षबीच झडप भएको बताइएको छ ।

स्थानीय चन्द्रसिंह कार्कीका अनुसार काठमाडौं, नेपालगन्ज र सुर्खेतबाट हुम्लातर्फ जाँदै गरेका सयौँ यात्रु दुई दिनदेखि धुलाचौर क्षेत्रमा रोकिएका छन् । सडक अवरुद्ध हुँदा यात्रुहरू भोकभोकै बस्न बाध्य भएका छन् भने बालबालिका र ज्येष्ठ नागरिक बिरामी पर्न थालेका छन् ।

स्थानीयवासीले सडक अवरुद्ध भइसक्दा पनि सम्बन्धित निकायले समस्या समाधानमा पर्याप्त चासो नदेखाएको गुनासो गरेका छन् । यतिबेला जिल्लाभित्र तथा जिल्लाबाहिर आवतजावत गर्ने यात्रु पूर्ण रूपमा प्रभावित भएका छन् ।

घटनाबारे टेककुमार रेग्मी ले विवाद समाधानका लागि प्रशासनले सहजीकरण गरिरहेको जानकारी दिनुभयो ।

विवाद चर्किएपछि धुलाचौर क्षेत्रका केही व्यवसायीका पसलसमेत बन्द गराइएको स्थानीयले बताएका छन् । विरोधस्वरूप स्थानीयले टायर बालेर प्रदर्शनसमेत गरेका थिए । झडपका क्रममा प्रहरी चौकी बिच्छ्यामा कार्यरत प्रहरी सहायक हवलदार महेश धामी र हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापा घाइते भएको जनाइएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया