लिग–२ अन्तर्गत अन्तिम घरेलु खेलमा नेपालको चुनौती अमेरिका

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत जारी त्रिकोणात्मक शृङ्खलाको अन्तिम खेलमा नेपालले आज (शुक्रबार) अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान मा बिहान ९ः३० बजे सुरु हुनेछ ।

घरेलु मैदानमा भइरहेको शृङ्खलाको अन्तिम खेलमा नेपाल सुखद् अन्त्य गर्ने लक्ष्यसहित मैदानमा उत्रँदैछ । यसअघि शनिबार भएको पहिलो भेटमा नेपालले अमेरिकामाथि ९ विकेटको प्रभावशाली जित दर्ता गरेको थियो । उक्त खेलमा ओपनर कुशल भुर्तेल ले अविजित शतकीय इनिङ्स खेलेका थिए ।

नेपालले हालसम्म शृङ्खलामा मिश्रित प्रदर्शन गरेको छ । पहिलो खेलमा स्कटल्यान्डसँग २ रनको झिनो अन्तरले पराजित भए पनि त्यसपछि लगातार दुई खेलमा उत्कृष्ट जित निकाल्दै टोलीले लय समातेको छ । तीन खेलमध्ये दुईमा जित हासिल गरेको नेपाल घरेलु मैदानको फाइदा उठाउँदै अंक तालिकामा थप सुधार गर्ने योजनामा छ ।

यता, भ्रमणकारी टोली अमेरिका भने अघिल्लो हारको बदला लिने लक्ष्यसहित मैदानमा उत्रने तयारीमा छ । बुधबार स्कटल्यान्डविरुद्ध फराकिलो जित निकालेपछि अमेरिकाको मनोबल उच्च देखिएको छ । तर, त्रिवि मैदानमा अमेरिकाको विगतको प्रदर्शन भने कमजोर रहेको छ ।

यस मैदानमा नेपाल र अमेरिकाबीच हालसम्म भएका तीनवटै एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) खेलमा नेपाल विजयी भएको तथ्याङ्क छ । साथै, लिग–२ अन्तर्गत नेपालका लागि यो अन्तिम घरेलु खेलसमेत भएकाले टोलीका लागि यस खेलको महत्त्व अझ बढेको छ ।

यस शृङ्खलापछि नेपालले आगामी दुई त्रिकोणात्मक शृङ्खला विदेशी भूमिमा खेल्ने तालिका रहेको छ । त्यसैले विदेश भ्रमणअघि घरेलु समर्थकमाझ जितसहित घरेलु अभियान टुंग्याउने लक्ष्य नेपाली टोलीको रहेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया