राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज देशभर वडा अधिवेशन सञ्चालन गर्दैछ । पार्टीले गत वैशाख २० गतेअघि तदर्थ समिति गठन भएका करिब १५ सय वडामा अधिवेशन गर्न लागेको जनाएको छ ।

रास्वपाका सङ्गठन विभाग सचिव शंकर श्रेष्ठका अनुसार हालसम्म देशभर करिब तीन हजार वडामा तदर्थ समिति गठन भइसकेको छ । तीमध्ये करिब ५० प्रतिशत वडाको अधिवेशन निर्वाचनअघि तथा निर्वाचनपछिको चरणमा सम्पन्न भइसकेको र बाँकी वडाको अधिवेशन आज आयोजना गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।
पार्टीले वडा अधिवेशन दुई चरणमा सम्पन्न गर्ने निर्णयअनुसार जेठ ३ गतेअघि तदर्थ समिति गठन हुने वडाहरूको अधिवेशन आगामी जेठ १६ गते गर्ने मिति तय गरेको छ ।
यसैगरी, पालिका अधिवेशन पनि दुई चरणमा सञ्चालन गरिने र जेठ ९ तथा १७ गतेका लागि मिति निर्धारण गरिएको रास्वपाले जनाएको छ । पार्टीका अनुसार कुनै पालिकामा ३० प्रतिशत वडा अधिवेशन तथा जिल्लामा ३० प्रतिशत पालिका अधिवेशन सम्पन्न भए उपल्लो तहको अधिवेशन प्रक्रिया नरोक्ने निर्णय गरिएको छ ।
रास्वपाले आगामी जेठ २३ र २४ गते जिल्ला अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । त्यसपछि जेठ २६ गतेदेखि सुरु हुने प्रदेश अधिवेशन असार १ गतेसम्म सञ्चालन गरिनेछ ।
पार्टीको प्रथम केन्द्रीय महाधिवेशन भने असार ७ देखि ९ गतेसम्म चितवन मा आयोजना हुने तय गरिएको छ । पार्टी स्थापना भएको ठीक चार वर्ष पूरा भएको अवसर पारेर पहिलो महाधिवेशनको मिति तय गरिएको रास्वपाले जनाएको छ ।











