ईद–उल–अज्हाले सामाजिक सद्भाव र भाइचारालाई मजबुत बनाउँछ : उपराष्ट्रपति यादव

उपराष्ट्रपति रामसहायप्रसाद यादवले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ‘ईद–उल–अज्हा’ (बकर इद) ले समाजमा सहानुभूति, सहयोग, भाइचारा र मेलमिलापको भावनालाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ।

ईद–उल–अज्हा पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले त्याग, समर्पण र बलिदानको प्रतीकका रूपमा मनाइने यस पर्वले सबैलाई एकआपसमा मिलेर बस्न प्रेरित गर्ने उल्लेख गर्नुभएको हो।

उपराष्ट्रपति यादवले पर्वले विशेषगरी विपन्न तथा सहयोगको आवश्यकता भएका व्यक्तिहरूप्रति सहयोग र सहकार्यको संस्कारलाई प्रोत्साहन गर्दै सामाजिक न्याय र समानताको भावनालाई बलियो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

“धार्मिक महत्वसँगै सामाजिक तथा सांस्कृतिक दृष्टिले पनि यो पर्वले सामूहिकता, सहकार्य र मानवताको उच्च मूल्यलाई उजागर गर्दछ,” शुभकामना सन्देशमा उल्लेख गर्दै उहाँले सुख–दुःख साझा गर्ने, अभावमा रहेकाहरूसँग हातेमालो गर्ने तथा समाजमा सहिष्णुता र सद्भाव अभिवृद्धि गर्न पर्वले प्रेरित गर्ने बताउनुभएको छ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक विशेषतायुक्त मुलुक भएको उल्लेख गर्दै उहाँले विविधतामा एकता नेपाली समाजको मौलिक पहिचान भएको बताउनुभयो। यहाँ मनाइने विभिन्न पर्वहरूले समुदायबीच आपसी समझदारी, अपनत्व र एकताको संस्कारलाई सुदृढ बनाउँदै राष्ट्रिय अखण्डता तथा सांस्कृतिक ऐक्यबद्धताको संरक्षणमा योगदान पुर्‍याउने उहाँको भनाइ छ।

उपराष्ट्रपति यादवले ईद–उल–अज्हा पर्वले लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय अखण्डता र राष्ट्रियतालाई थप सुदृढ बनाउँदै सभ्य, शान्त, समुन्नत र समृद्ध समाज निर्माणमा प्रेरणा दिने विश्वास व्यक्त गर्दै सम्पूर्ण मुस्लिम समुदायमा शुभकामना व्यक्त गर्नुभएको छ।

प्रतिक्रिया

प्रतिक्रिया