मदाने गाउँपालिकाद्वारा सातवटै वडामा निःशुल्क वृहत स्वास्थ्य शिविर सञ्चालन

मदाने गाउँपालिका ले ग्रामीण क्षेत्रका नागरिकलाई लक्षित गर्दै सातवटै वडामा निःशुल्क वृहत स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । सोमबारदेखि सुरु भएको शिविर अन्तर्गत पालिकाभित्र रहेका स्वास्थ्य चौकीहरूमा फरक–फरक दिनमा विशेषज्ञ चिकित्सकसहित स्वास्थ्य सेवा प्रदान गरिनेछ ।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तीर्थराज पन्थी का अनुसार शिविर जेठ १७ गतेसम्म सञ्चालन हुनेछ । शिविरमा महिलाको पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर तथा स्त्रीरोगसम्बन्धी विभिन्न समस्याको निःशुल्क परीक्षण, उपचार र परामर्श सेवा उपलब्ध गराइनेछ ।

त्यसैगरी समुदायस्तरमा क्षयरोगको जोखिम न्यूनीकरण तथा समयमै रोग पहिचान गर्ने उद्देश्यले खकार सङ्कलनको विशेष व्यवस्था पनि गरिएको छ । प्रत्येक दिन बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म पायक पर्ने स्वास्थ्य चौकीमार्फत सेवा प्रवाह गरिने स्वास्थ्य शाखाले जनाएको छ ।

पालिकाले स्वास्थ्य सेवाको पहुँचबाट कोही पनि वञ्चित हुन नहुने नीति अनुरूप शिविर सञ्चालन गरिएको जनाएको छ । विशेषगरी विपन्न तथा स्वास्थ्य सेवाको पहुँचभन्दा टाढा रहेका समुदायलाई यस कार्यक्रमले प्रत्यक्ष लाभ पुग्ने विश्वास गरिएको छ ।

कार्यक्रमअन्तर्गत जेठ ११ गते भनभने स्वास्थ्य चौकी, जेठ १२ गते बाँझकटेरी स्वास्थ्य चौकी, जेठ १३ गते सिर्सेनी स्वास्थ्य चौकी, जेठ १४ गते म्यालपोखरी स्वास्थ्य चौकी, जेठ १५ गते मलागिरी स्वास्थ्य चौकी, जेठ १६ गते अग्लुङ्ग स्वास्थ्य चौकी र जेठ १७ गते पुर्कोटदह स्वास्थ्य चौकीमा शिविर सञ्चालन गरिने जनाइएको छ ।

गाउँपालिकाले स्थानीय नागरिकलाई शिविरमा सहभागी भई स्वास्थ्य परीक्षण तथा उपचार सेवा लिन आग्रह गरेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया