फिर्के खोलाको अतिक्रमण हटाउन पोखरा महानगरको अभियान तीव्र

पोखरा महानगरपालिकाले फिर्के खोलाको अतिक्रमण हटाउने अभियानलाई तीव्र बनाएको छ । आइतबारदेखि सुरु गरिएको ‘खोलाघर खाली गराउने अभियान’ अन्तर्गत दुई दिनमै साना–ठूला गरी ५१ वटा संरचना हटाइएको महानगरले जनाएको छ ।

महानगरका अनुसार सोमबार मात्रै ३१ वटा संरचना हटाइएको हो । वडा नम्बर १८ र २ को सिमानामा रहेका ६ वटा, वडा नम्बर ४ र ५ मा रहेका ९ वटा तथा वडा नम्बर ८ मा रहेको राधाकृष्ण सामुदायिक भवनसहित १५ वटा संरचना भत्काइएको छ ।

अभियानमा ३ वटा जेसीबी र २ वटा एक्स्काभेटर परिचालन गरिएको छ भने नेपाल प्रहरी, सशस्त्र प्रहरी, महानगर प्रहरी तथा प्राविधिकसहित ४ सय ३४ जना जनशक्ति फिल्डमा खटिएका छन् ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य ले खोलाको प्राकृतिक बहावलाई सुचारु बनाउने र अतिक्रमण हटाउने उद्देश्यले अभियान सञ्चालन गरिएको बताए । उनका अनुसार अभियानमा स्थानीयबासी, जनप्रतिनिधि तथा सुरक्षा निकायको व्यापक सहयोग प्राप्त भइरहेको छ ।

संरचना हटाउँदा निस्कने भग्नावशेषले खोलाको बहाव अवरुद्ध हुन सक्ने जोखिमप्रति चासो व्यक्त भइरहेका बेला महानगरले त्यस्ता सामग्री तत्काल व्यवस्थापन गर्ने व्यवस्था मिलाएको जनाएको छ । अधेरीकुनादेखि प्राविधिक टोली तथा एक्स्काभेटरसहितको विशेष टोली परिचालन गरिएको र खोलाको प्राकृतिक बहावमा अवरोध भए तत्काल हटाइने मेयर आचार्यले जानकारी दिए ।

महानगरले फिर्के खोलाको खोलाघर पूर्ण रूपमा खाली गरेपछि यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना अघि सारेको छ । योजना अनुसार यहाँ साइकल लेन, फुटपाथ, हरियाली प्रवर्द्धन तथा आधुनिक प्रकाश व्यवस्थासहित सुरक्षित करिडोर निर्माण गरिने जनाइएको छ ।

महानगरपालिकाले अभियान सञ्चालन भइरहेका क्षेत्रमा अनावश्यक भीड नगर्न तथा काममा अवरोध नपुर्‍याउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया