जिल्ला प्रहरी कार्यालय नवलपुरले करिब ५८ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको जनाएको छ ।

प्रहरीका अनुसार देवचुली नगरपालिका–१६, रजहर क्षेत्रमा बुटवलबाट नारायणघाटतर्फ जाँदै गरेको प्रदेश ०३–००१ ख ३८२६ नम्बरको ट्रकमा भन्सार छली गरी ल्याइएका विभिन्न सामान फेला पारिएको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक अनिल पण्डितका अनुसार बरामद गरिएका सामग्रीमा बिल–भरपाइ नभएका ७०० थान एयरबड, १ हजार ६८० थान मोबाइलमा प्रयोग हुने सिसा, २०५ थान स्मार्ट वाच, ६८ थान ह्यान्डसेट, ६५ जोर नाइक कम्पनीका जुत्ता, ३७४ जोर चप्पल तथा ७ हजार थान पानी नछिर्ने मोबाइल झोला रहेका छन् ।
बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय, नवलपरासी पश्चिम पठाइएको प्रहरीले जनाएको छ । विशेष सुराकीका आधारमा गरिएको निगरानीका क्रममा भन्सार छली गरी ल्याइएका सामान बरामद गरिएको प्रहरीको भनाइ छ ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ट्रक चालक भक्तपुरको सूर्यविनायक नगरपालिका–८ निवासी ३० वर्षीय सजेन्द्र मचामसीलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको जनाएको छ ।











