प्रधानमन्त्री बालेन्द्र शाह ले सामाजिक सञ्जालमार्फत शनिबार सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी) को उत्पादन याक चिजसहितको तस्बिर सार्वजनिक गरेपछि स्वदेशी दुग्धजन्य उत्पादनको प्रवर्द्धनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । प्रधानमन्त्री शाहले आफ्नो आधिकारिक फेसबुकमार्फत “से चिज, डिडिसीको चिज” भन्दै तस्बिर साझा गर्नुभएको हो ।

डिडिसीले उच्च हिमाली क्षेत्रमा पालिने चौँरीको दूधबाट उच्च गुणस्तरको याक चिज उत्पादन गर्दै आएको छ । संस्थानका अनुसार वार्षिक रूपमा करिब ३६ हजार केजी याक चिज उत्पादन हुँदै आएको छ । देशभर सञ्चालनमा रहेका १४ वटा चिज उत्पादन केन्द्रमध्ये आठ केन्द्रबाट याक चिज उत्पादन गरिन्छ ।
डिडिसीका सूचना अधिकारी नीलकण्ठ गौतमले प्रधानमन्त्रीले याक चिजको प्रचारात्मक तस्बिर सार्वजनिक गरेपछि यसको बजार विस्तार र प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार हिमाली क्षेत्रमा उत्पादन हुने भएकाले याक चिज अन्य चिजको तुलनामा महँगो पर्ने गरेको छ ।
डिडिसीले रसुवाको लाङटाङ, चन्दनबारी र गोसाइँकुण्ड, दोलखाको चोर्दुङ, रामेछापको थोदुङ र देउराली, सोलुखुम्बुको पिके, इलामको पशुपतिनगर र फिक्कल तथा पाँचथरको पौवाभञ्ज्याङलगायत क्षेत्रबाट चौँरीको दूध सङ्कलन गरी चिज उत्पादन गर्दै आएको जनाएको छ ।
संस्थानले वार्षिक रूपमा करिब ५५ लाखदेखि ६० लाख रुपैयाँ बराबरका तीन प्रकारका चिज बिक्री गर्दै आएको छ, जसको अधिकांश खपत आन्तरिक बजारमै हुने गरेको छ । डिडिसीले याक चिज, कञ्चन चिज र मोजरेल्ला चिज उत्पादन गर्दै आएको छ । याक चिज चौँरीको दूधबाट तयार गरिन्छ भने कञ्चन चिज गाई तथा भैँसीको दूधबाट उत्पादन गरिन्छ ।
डिडिसीका अनुसार हाल याक चिज प्रतिकिलो एक हजार ८८० रुपैयाँ, कञ्चन चिज प्रतिकिलो एक हजार २०० रुपैयाँ तथा मोजरेल्ला चिज प्रतिकिलो ९०० रुपैयाँमा बिक्री भइरहेको छ । यी उत्पादनहरू डिडिसीका विभिन्न बिक्री केन्द्रमार्फत उपभोक्तासम्म पुग्ने गरेका छन् ।
विशेषगरी विदेशी पर्यटकले याक चिज बढी रुचाउने भएकाले पर्यटकीय क्षेत्रमा यसको माग उल्लेखनीय रहेको डिडिसीले जनाएको छ । चैतदेखि कात्तिकसम्म चिज उत्पादन हुने भए पनि चिसो मौसम सुरु भएसँगै उत्पादन बन्द हुने गरेको छ । डिडिसीले चिजसँगै दूध, दही, घिउ, आइसक्रिम, बटर र पनिरसमेत बिक्री गर्दै आएको छ । निजी क्षेत्रबाट पनि चिज उत्पादन हुँदै आएको छ ।











