धान खेतीको मुख्य याम नजिकिँदै गर्दा कृषि सामग्री कम्पनी लिमिटेड को महेन्द्रनगर शाखाले मौज्दात रासायनिक मल वितरणको प्रक्रिया अगाडि बढाएको छ । शाखाले मौज्दात मलको पुनः कोटा निर्धारण गरी सहकारी संस्थामार्फत किसानलाई उपलब्ध गराउने तयारी गरेको जनाएको छ ।

हाल शाखाको गोदाममा एक हजार मेट्रिक टन युरिया, ५०० मेट्रिक टन डिएपी र १५० मेट्रिक टन पोटास मौज्दात रहेको शाखाले जनाएको छ । शाखा प्रबन्धक हेमराज जोशी का अनुसार सहकारी संस्थामार्फत कोटा प्रणालीअनुसार किसानलाई मल बिक्री–वितरण गर्ने व्यवस्था मिलाइएको हो ।
उनले निर्धारित समयमा सहकारी संस्थाले मल नउठाउँदा केही मल गोदाममै मौज्दात रहेको बताए । “कार्यविधिअनुसार सहकारीले तोकिएको कोटाको मल दश दिनभित्र उठाइसक्नुपर्ने व्यवस्था छ,” उनले भने, “समयमै मल नउठाउँदा गोदाममा मौज्दात रहन गएको हो ।”
प्रबन्धक जोशीका अनुसार गत साउनदेखि हालसम्म शाखाले युरियाको नौ कोटा र डिएपीको सात कोटा वितरण गरिसकेको छ । एक कोटा बराबर ५०० मेट्रिक टन मल हुने उनले जानकारी दिए ।
मौज्दात रहेको मल पुनः वितरणका लागि प्रदेश मल वितरण व्यवस्थापन समितिसँग पुनः कोटा निर्धारण गर्न पत्राचार गरिएको शाखाले जनाएको छ । “कोटा निर्धारणसम्बन्धी निर्णय आएलगत्तै मल पुनः वितरण प्रक्रिया सुरु हुन्छ,” जोशीले भने, “हाल मौज्दात रहेको मलले धान रोपाइँसम्मको आवश्यकता धान्ने अनुमान गरेका छौँ ।”
उनका अनुसार साल्ट ट्रेडिङ कर्पोरेशन सँग समेत मल उपलब्ध रहेकाले यस वर्ष धान खेतीका लागि मल अभाव नहुने विश्वास गरिएको छ ।
शाखाले आगामी आवश्यकतालाई मध्यनजर गर्दै थप मल आपूर्तिका लागि केन्द्रीय कार्यालयमा मागसमेत पठाइसकेको जनाएको छ । “थप मल असारभित्र आइपुग्ने आश्वासन पाएका छौँ,” प्रबन्धक जोशीले बताए ।











