सकियो संघको अल्टिमेटम: कहिले छुट्लान् धामी ?

राजश्व अनुसन्धान कार्यालय कोहलपुरका कर्मचारीलाई दुव्र्यवहार गरेको आरोपमा नेपालगन्ज उद्योग वाणिज्य संघका प्रवक्ता टंक प्रसाद धामी प्रहरी नियन्त्रणमा रहेका छन् । राजश्व अनुसन्धानका नाममा व्यवसायीहरुलाई लगातार सताइएपछि प्रतिवादमा उत्रिएका व्यापारीहरु बीच धामीले अनुसन्धानमा खटिएका राजश्व कर्मचारी बाबुराम पन्थीको कठालो समातेका थिए । उक्त घटनालाई कानुनी प्रक्रियामा लगिएपछि प्रहरीले पक्राउ पुर्जी जारी गरी हाजिर हुन आदेश दियो ।

आइतबार भएको घटनालाई लिएर कर्मचारीले मंगलबार धामी लगायत विरुद्ध उजुरी दर्ता गरेका थिए । बुधबार धामी आफै जिल्ला प्रहरी कार्यालयमा हाजिर भएपनि नेपालगन्ज उद्योग वाणिज्य संघको अगुवाईमा जिल्लाका दुई दर्जन बढी वस्तुगत संघहरुले उनको रिहाइका लागि दबाब दिए ।

स्थानीय प्रशासन पुगेर घरबारीटोल राजश्व काण्डको स्वतन्त्र छानबिनको माग गर्दै राजश्वका कर्मचारीले गरेको ‘बदमासीको छानबिन र दोषी’लाई कारवाहीको माग गरे । उनीहरुले भने, ‘त्यसो गरिएन भने चरणबद्ध आन्दोलन गरिनेछ ।’ २४ घण्टे अल्टिमेटम दिएको संघले शनिबारसम्म कुनै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छैन । न त व्यवसायीहरुले माग गरेझै कुनै स्वतन्त्र समिति नै बनेको छ । बरु विभागबाट आएको सहनिर्देशक नेतृत्वको टोलीले छापा मार्दै ‘तह लगाउने’ सन्देश प्रवाह गरिरहेको छ ।

‘धामी अस्पतालमा बसिरहँदा अनुसन्धानमा बाधा पुग्यो, त्यसैले थप प्रगति छैन’, बाँकेका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले भने, ‘सम्भवत उहाँलाई निको भैरहेको छ, आइतबारबाट अनुसन्धान प्रक्रिया अगाडि बढ्ला ।’ प्रहरी उपरीक्षक अधिकारीले निरन्तर अस्पतालमा बस्दा अनुसन्धान अगाडि नबढेको भन्दै त्यसका लागि जिल्ला प्रहरी कार्यालयमा उपस्थित हुनुपर्ने तर्क गरे ।

नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवि ओलीले व्यवसायी र राजश्व बीच उत्पन्न तनाव छलफल, परामर्श, समन्वयबाट नै हल हुने आफुहरुले विश्वास लिएको बताए । ‘मुठभेडबाट समस्या नै निम्तिने हो’, महासचिव ओलीले दैनिक नेपालगन्जसँग भने, ‘तनाव बढाउने भन्दा समझदारीबाट समाधान तिर उन्मुख छौं ।’ उनले प्रवक्ता धामी छिट्टै रिहा हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

प्रतिक्रिया