नेपालगन्जका व्यवसायीहरु बीच राजश्व अनुसन्धान कार्यालय कोहलपुरको तनाव चलिरहँदा राजश्व विभागबाट अध्ययनका लागि आएको उच्च स्तरीय टोलीले विभिन्न व्यवसायिक प्रतिष्ठानमा छापा मारिरहेको छ । जुन कुरालाई व्यवसायिक क्षेत्रका अगुवाहरुले ‘रिस साँध्ने’ काम भन्दै आलोचना गरेका छन् ।
राजश्व विभागका सहनिर्देशकको नेतृत्वमा भएको टोलीले मोबाइल डिलर, मोटरपार्टस् शो रुम, कपडा पसल लगायतमा छापा मारेको हो । घटनालाई लिएर नेपालगन्ज उद्योग वाणिज्य संघका पदाधिकारीले विभागका महानिर्देशक सँग आपत्ति जनाएका छन् ।
‘हाम्रो लचकतालाई कमजोरी ठानियो’ संघका पदाधिकारीले विभागका महानिर्देशकसँग गुनासो गर्दै भने, ‘आफ्ना कर्मचारीको बदमासी लुकाउन रिस साँध्दै जाने हो भने आन्दोलनको विकल्प रहँदैन ।’ महानिर्देशकले रिस साँध्न नभई नियमित अनुगमन भएको प्रतिक्रिया दिंदै व्यवसायीहरु आतंकित हुने अवस्था भए टोली फर्काउने प्रतिबद्धता व्यक्त गरे ।
सम्बद्ध स्रोतका अनुसार, शनिबार झण्डै आधा दर्जन प्रतिष्ठानमा छापा मारेका कागजपत्र राजश्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाएर सहनिर्देशकको टोली बीचैमा काठमाडौं फर्किएको छ । ‘छिट्टै विभागका उच्च अधिकारीहरु र व्यवसायी बीच विद्यमान समस्याबारे बृहत छलफल गरेर निकासको बाटो खोजिनेछ’, स्रोतले भन्यो, ‘त्यसैले थप द्वन्द्व टोली काठमाठौं फर्काइएको हो ।’