आज नेपालगन्ज आइपुग्दै रवि लामिछाने, भोलि सभा

माइकिङ्ग, ब्यानर, पोष्टरका माध्यमबाट सबैतिर जानकारी र आमन्त्रणको आव्हान

देश दौडाहमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने संगठन बिस्तार अभियानका क्रममा आज बुधबार नेपालगन्ज आइपुग्ने भएका छन् ।

हालसालै पत्रकारिता त्याग गरी पार्टी घोषणा गरेका उनले पार्टीको नाम र चुनाव चिह्न पाइसकेपछि आक्रामक रुपमा संगठन विस्तारमा देश दौडाह गरिरहँदा नेपालगन्ज आउन लागेका हुन् । ‘त्यसको आवश्यक तयारी भैसकेको छ’, नेपालगन्जमा कार्यक्रम संयोजन गरिरहेका पुराना राजनीतिज्ञ बलराम शाहले दैनिक नेपालगन्जसँग भने, ‘भोलि बिहीबार सभा गरिंदैछ ।’

नेपालगन्जमा रविको सभाका लागि पुराना राजनीतिज्ञ शाहसँगै सामाजिक कार्यकर्ता लक्ष्मी ज्ञवाली सहितका कार्यकर्ताहरु परिचालित छन् । ‘सुर्खेतको आकर्षण देख्दा नेपालगन्जमा तोकिएको ठाउँ भीड थाम्न सकिन्न कि भन्ने शंका छ’, ज्ञवालीले दैनिक नेपालगन्जसँग भनिन्, ‘माइकिङ्ग, ब्यानर, पोष्टरका माध्यमबाट सबैतिर जानकारी र आमन्त्रण गरिरहेका छौं ।’

मंगलबार सुर्खेतमा भएको रवि लामिछानेको सभामा निकै ठूलो जमघट भएपनि राजनीतिक दलहरु विरुद्धको असन्तुष्टि राष्ट्रिय स्वतन्त्र पार्टीतिर अभिव्यक्त हुने चर्चा सामाजिक सञ्जालमा गर्न थालिएको छ ।

लामिछानेले यसअघि वाग्मती प्रदेशको चितवनमा पहिलो प्रदेश भेला राखेका उनले क्रमिक रुपमा प्रदेश नम्बर १ को विर्तामोड, मधेश प्रदेशको मोरङ, गण्डकी प्रदेशको पोखरा लगायतमा कार्यक्रम गरिसकेका छन् । हालसम्मको उनको कार्यशैली हेर्दा उनी प्रदेश केन्द्रित तयारीमा रहेको स्पष्ट हुन्छ ।

प्रतिक्रिया

प्रतिक्रिया