तपाई किन राजनीतिक क्षेत्रमा एकाएक उम्मेदवारकै स्तरले चिनिन खोज्नु भयो ?

‘मैले सिनियर लिडर दाजुहरुको अपमान गर्नु छैन, तर सधैं उहाँहरुनै अग्रसर भएर युवा पुस्तालाईनै अवसरबाट बञ्चित गराइँदा राजनीतिबाटै युवा पलायनको जोखिम देखियो ।’
गोकर्ण बहादुर शाही, बाँके क्षेत्र २ ‘ख’ प्रदेश सभा सदस्यका दावेदार, नेपाली काँग्रेस
नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा प्राध्यापनरत गोकर्ण बहादुर शाहीलाई आसन्न मंसिर ४ गतेको निर्वाचनका लागि काँग्रेसका आकांक्षीको सूचीमा देखिएपछि संवाददाताको जिज्ञासा थियो ।
‘राजनीतिमा नजीर आवश्यक देखियो,’ शाहीले सटिक जवाफ दिए । कस्तो नजीर ? ‘राजनीतिमा लागेपछि सधैं एउटै व्यक्ति, घराना र उनकै नजिक सबै पद, जिम्मेवारी घुमफिर भइरहने अवस्थाको अन्तका लागि हामी जस्ता व्यवसायिक तथा एकेडेमिक क्षेत्रका मानिसहरु राजनीतिमा सक्रिय हुन जरुरी छ ।’
नेपाली काँग्रेसका युवा कार्यकर्ता उनी तत्कालिन पार्टी सभापति, पूर्व प्रधानमन्त्री स्व. सुशील कोइरालाको आदर्शसँग निकै प्रभावित रहे । ‘उहाँ प्रधानमन्त्री हुँदा प्रधानमन्त्री कार्यालयमा भएको एउटा सामुहिक भेटवार्ताले मलाई सक्रिय राजनीतिको महत्वबोध गरायो,’ बाँके क्षेत्र २ ‘ख’ प्रदेश सभा सदस्यका दावेदारको सूचीमा वहालवाला प्रदेश मन्त्री सुरेन्द्र बहादुर हमालदेखि गोकर्ण बहादुर शाही सम्मको नाम सिफारिश भएपछि उनलाई संवाददाताको प्रश्न थियो, तपाई किन राजनीतिक क्षेत्रमा एकाएक उम्मेदवारकै स्तरले चिनिन खोज्नु भयो ?
संवाददाताले किन उम्मेदवार बन्नु पर्यो भन्नुभन्दा किन उम्मेदवारका रुपमा चिनिनु पर्यो भन्यो होला ? यसको उत्तर शाहीकै भनाइभित्र भेटिन्छ । शाही भन्छन्, ‘मैले सिनियर लिडर दाजुहरुको अपमान गर्नु छैन, तर सधैं उहाँहरुनै अग्रसर भएर युवा पुस्तालाईनै अवसरबाट बञ्चित गराइँदा राजनीतिबाटै युवा पलायनको जोखिम देखियो ।’
नजीरकै लागि उम्मेदवारी दावी गरेका शाहीको नाम पनि सिफारिश भयो, तर उनीसहित ७ जनाको नाममा जिल्लाको सूची प्रदेश पुगेको छ । एकाध दिनमै गठबन्धनको सिट बाँडफाँडपछि काँग्रेसबाट कसले टिकट पाउन भन्ने निश्चित हुन्छ । तर, शाही भन्छन्, ‘जीवनभर एउटै व्यक्तिलाई पद र प्रतिष्ठाको सत्ता लिप्साबाट च्यूत गर्नपनि युवा पुस्ता अग्रसर हुनुपर्छ ।’











