बजेटजति सबै केन्द्रमा थुपार्ने सरकारले स्थानीय र प्रदेश सरकारलाई सिमित बजेट दिएर संघीयतालाई असफल पार्न खोजिंदै
नेपालगन्ज:
नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले विपीका विचारलाई पछ्याउन सके पार्टीलाई ठूलो उपलब्धी हुने बताएका छन् । विपी पुत्र समेत रहेका उनले आफ्नो बाल्यकालमा पितासँगको अविष्मरणीय क्षण कार्यकर्तालाई सुनाउँदै भने, ‘विपीको जीवन एकदमै कठिन थियो, धेरै त्याग र तपस्या गर्नुभयो ।’ विपीले आफ्ना कार्यकर्तालाई सम्मान गर्ने गरेका प्रसंग उठाउँदै भने, ‘बरु आजका नेताले कार्यकर्तालाई चिन्दैनन् ।’
विपी कोइरालाको ३७ औं स्मृति दिवसको अवसरमा कांग्रेस बाँकेले सोमबार नेपालगन्जमा आयोजना गरेको विचार गोष्ठीमा सम्बोधन गर्न महामन्त्री कोइरालाले नेपालगन्ज आइपुगेका हुन् । पार्टीमा रहेको चरम गुटबन्दीलाई खुलेरै पस्किएका महामन्त्री कोइरालाले पार्टीको आसन्न महाधिवेशनमा नेतृत्व परिवर्तन गर्नुपर्ने आवश्यकता औल्याए । ‘नेतृत्व परिवर्तनका लागि सम्पूर्ण कार्यकर्ता एक हुनुपर्छ,’ डा.कोइरालाले पार्टीै नेतृत्वको खुलेर आलोचना गर्दै भने, ‘हाम्रो महाधिवेशन अब आउँदैछ, शेरबहादुर जी सायद फेरि लड्नु हुन्छ होला, हाम्रो तर्फबाट पनि एउटा उम्मेदवार तयार हुन्छ, महाधिवेशनले नयाँ नेतृत्व निर्वाचित गर्नुपर्छ ।’ नयाँ नेतृत्वले मात्र पार्टीलाई नयाँ ढंगले अगाडि बढाउन सक्ने उनको तर्क थियो ।
सरकारबारे पनि आलोचना गरेका प्रमुख प्रतिपक्ष दलका महामन्त्री कोइरालाले बर्तमान सरकार हरेक कुरामा चुकिरहेको टिप्पणी गरे । सरकारले नै संघीयतालाई उपेक्षा गरिरहेको आरोप लगाउँदै डा. कोइरालाले भने, ‘वर्तमान सरकारले बजेटजति सबै केन्द्रमा थुपार्ने काम गरेको छ, स्थानीय र प्रदेश सरकारलाई सिमित बजेट दिएर संघीयतालाई असफल पार्न खोज्दैछ ।’ कम्युनिस्ट शासन केन्द्रिकृत नै हुने धारणा राख्दै काँग्रेस महामन्त्री डा.कोइरालाले नागरिकले सरकारबाट शान्ति सुरक्षाको अनुभुती नै गर्न नपाएको गुनासो गरे ।
कांग्रेस बाँकेका सभापति किरण कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी केन्द्रिय सदस्य बद्री पाण्डे, पूर्व जिल्ला सभापति सनत रेग्मी, प्राध्यापक अर्जुन पोखरेल लगायतले विपीको आदर्श र ब्यक्तित्वलाई पछ्याउनुपर्ने धारणा राखे । वक्ताहरुले पार्टीका आम नेता, कार्यकर्ताले विपीको विचार र आदर्शलाई बोक्नुपर्ने बताए । ‘विपीको विचार र आदर्शलाई बोक्न सके नेपाली कांग्रेस मात्र नभएर समग्र राष्ट्रलाई फाइदा पुग्ने’ उनीहरुको भनाइ थियो ।
विपी कोइरालाको ३७ औं स्मृति दिवसको अवसरमा कांग्रेस बाँकेले सोमबारनै बिहान विपी चोक र पार्टी कार्यालय स्थित शालिकमा माल्यार्पण गरिएको विपी प्रतिष्ठानका अध्यक्ष समेत रहेका काँग्रेस युवा नेता सुधांशु कोइरालाले जानकारी दिए ।