आज बिहिबार घोषणाको तयारी
समाचारदाता
दैनिक नेपालगन्ज
सम्भवत आज नेकपा एमाले र माओवादी केन्द्रले पार्टी एकताको घोषणा गर्ने भएका छन् । मदन स्मृति दिवसको अवसर पारेर आज साँझ पार्टी एकताको घोषणा गर्ने तयारी गरिएको हो । त्यसका लागि नेकपा एमाले केन्द्रीय कमिटिको बैठक बोलाइएको छ । एमाले र नेकपा माओवादी केन्द्र बीचको पार्टी एकताको विषयलाई लिएर आकस्मिक रूपमा बिहीबार बिहान ११ बजे केन्द्रीय कमिटीको बैठक बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्ने तय भएको पार्टी कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले विज्ञप्ति जारी गरी जानकारी दिएका छन् ।
त्यस्तै, माओवादी केन्द्रले एमालेसँग पार्टी एकता गर्ने निर्णय गरेको छ । बुधबार माओवादी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा खुमलटारमा बसेको केन्द्रीय कार्याल्यको बिस्तारित बैठकले पार्टी एकताको निर्णय गरेको हो ।
बैठकमा पार्टी अध्यक्ष प्रचण्डले पार्टी एकताबारे रिपोटिङ गरेका थिए । बैठकबारे जानकारी दिँदै प्रवक्ता पम्फा भुसालले “पार्टी एकता संयोजन समितिको बैठक बसेर बिहीबार पार्टी एकता गर्ने निर्णय भएको बताइन् । पार्टी एकता गर्ने विषयमा अध्यक्षले राखेको प्रस्तावलाई बैठकले पारित गरेको उनले बताइन् ।
एमाले स्थायी समितिको बुधबार राति भएको बैठकले दुई पार्टीका अध्यक्षबीच भएको सहमतिको खाकालाई अनुमोदन गर्दै पार्टी एकताका लागि अनुमति दिएपछि आज केन्द्रीय समितिको बैठक बस्न लागेको हो ।
लामो रस्साकस्सीपछि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच बुधबार ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटी बनाउने सहमति भएको स्रोतले बताएको छ । जसअनुसार, एमालेबाट २ सय ४१ जना र माओवादीबाट २ सय जना केन्द्रीय सदस्य बन्ने भएका छन् । स्थायी कमिटी ४३ सदस्यीय बन्ने भएको छ । जसमा एमालेबाट २५ र माओवादीबाट १८ जना सदस्य रहने भएका छन् । यसैगरी, चुनाव चिन्ह एमालेले प्रयोग गर्दै आएको सूर्य नै हुने भएको छ भने पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राखिने भएको छ ।