काठमाडौं, ४ पुस । नेकपा एमालेका युवा नेता महेश बस्नेतले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा माघ ७ गतेभित्रै नयाँ सरकार बन्ने स्पष्ट पारेका छन् ।
मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता बस्नेतले अब पनि प्रधानमन्त्री को बन्छ भनेर बहस गर्नु भनेको गलत हुने भन्दै स्वभाविक रुपमा जनमत एमाले–माओवादी केन्द्रको वाम गठबन्धनको पक्षमा आएकोले एमाले अध्यक्ष ओली नै प्रधानमन्त्री बन्ने दाबी गरे । उनले भने,‘वाम गठबन्धनबाट प्रधानमन्त्री को बन्छ ? भनेर प्रश्न गर्नु नै उचित छैन, ओली नै प्रधानमन्त्री हो, जनमतले त्यही भन्छ, उहाँको नेतृत्वमा माघ ७ गतेभित्रै नयाँ सरकार बन्छ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा उनले पार्टी एमाले–माओवादी केन्द्रवीचको एकताको विषयमा अहिले ठोस रुपमा छलफल नभएकोले सैद्धान्तिक रुपमा अध्यक्ष को भनेर अहिले नै भन्न नसिकने स्पष्ट पारे । बस्नेतले भने,‘अहिले एकताबारे सैद्धान्तिक रुपमा छलफल भएको छैन्, यस्तो अवस्थामा नेतृत्व कसले गर्ने भन्नेबारे बोल्नु सान्दर्भिक हुँदैन।’
उनले नेपाली कांग्रेसले नयाँ जनमतलाई सम्मान गर्नुपर्ने बताउँदै भने,‘निर्वाचन सम्पन्न भएको छ, मुलुकले नयाँ जनादेश प्राप्त गरेको छ, अहिले सरकारको नेतृत्व गरेको कांग्रेसले विभिन्न बहानामा जनमत स्विकार गर्न नचाहेको हो कि भन्ने देखिँदैछ, राष्ट्रिय सभाको निर्वाचनसम्बन्धीको अध्यादेशको विवाद र प्रदेश केन्द्र तोक्ने निर्णय भनेको नै जनमतप्रतिको बेवास्ता हो।’
उनले प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल राजिनामा दिनुपर्ने समेत माँग गरे । उनले भने,‘अब पनि उहाँ सरकारमा बसिरहने होईन, तत्काल राजिनामा दिनुपर्छ, जे निर्णय गर्ने हो ताजा मत प्राप्त गरेकाहरुले गर्ने हो, जनताको चाहना भनेको राजनीतिक स्थिरता र विकास हो, अहिले त्यो दिशातर्फ उन्मुख रहेको बाम गठबन्धनलाई कसरी चलखेल गर्न सकिन्छ भनेर खेल खेल्न खोजेको आभाष भैरहेको छ, राजनीतिक तोडमोडको खेल खेल्नुहुँदैन।’
उनले कांग्रेसलाई अरुको घरमा खेल्नुभन्दा पनि आफ्नो कमजोरकिो बारेमा छलफल गर्न सुझाव दिए । उनले थपे,‘बरु कांग्रेसले सशक्त र सिर्जनशील प्रतिपक्षमा बस्नको लागि आफूलाई तयार गरे राम्रो हुन्छ।’
त्यस्तै उनले सरकारले राष्ट्रपतिसमक्ष पेश गरेको राष्ट्रिय सभासम्बन्धीको अध्यादेश जनमतको विपरित भएकोले अहिले अध्यादेश पेश गर्ने दलसँग बहुमत नभएको जिकिर गरे । उनले भने,‘एकल वा बहुमतीय के भन्नेबारे विवाद छ, हुन त मुलक यतिवेला विधिलेभन्दा पनि समझदारीले चल्दै आएको छ, यसमा कांग्रेसले धेरै बखेडा नगर्दा नै राम्रो हुन्छ।’
नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नेकपा एमालेलाई चर्का कुरा गर्दा विपीको १८ महिने कार्यकाल सम्झिन आग्रह गरेका छन् ।
नेता भण्डारीले नेपालमा चर्का कुरा गरेर केही पनि नहुने भन्दै एमालेलाई चर्का कुरा गर्नुपुर्व विपी कोइरालाको १८ महिने कार्यकाललाई सम्झिन आग्रह गरेका हुन् । उनले भने,‘विपीले दुई तिहाई ल्याएको बेला सम्झिनको लागि म अहिले बहुमत ल्याएका दलका नेताहरुलाई आग्रह गर्न चाहन्छु।’
भण्डारीले राष्ट्रपति विद्या देवी भण्डारीले सरकारले प्रस्तुत गरेको राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेश तत्काल स्विकृत गर्नुपर्ने समेत बताए । उनले थपे,‘राष्ट्रपतिले उक्त अध्यादेश होल्ड गर्न मिल्दैन, प्रधानमन्त्रीले गरेको काममा राष्ट्रपतिले कुनै अमुक पार्टीको नेताले भन्दैमा रोक्न मिल्दैन।’ संविधान जारी गर्दा नै राष्ट्रिय सभाको निर्वाचनसम्बन्धी दलहरुवीच एकल संक्रमणीय व्यवस्थामा सहमति भएको उनले जिकिर गरे । यद्धपी त्यतिवेला एमाले अध्यक्ष केपी शर्मा ओलीले विरोध जनाएको उनको स्विकारोक्ति थियो ।
उनले आफूहरु सरकार छोड्न आँतुर रहेको समेत स्पष्ट पारे । भण्डारीले थपे,‘हामी सरकार छोड्न आँतुर छौं, वाम गठबन्धनबाट ओली र प्रचण्ड जो प्रधानमन्त्री बनेपनि फुलमालाले स्वागत गर्न हामी आँतुर छौं।’ उनले चुनाव जितेको मान्छेले दम्भ गर्न नहुनेतर्फ सचेत गराउँदै भने,‘सम्भ भएर बोल्नुपर्छ, बोलीमा लगाम लगाउनुपर्छ, यसो भयो भनेमात्रै मुलुक र जनताको भलो हुन्छ।’
उनले सबै दल मिलेर जारी गरिएको संविधान कार्यान्वयनको चरणमा रहेकोले सबै दल मिलेर जानुको विकल्प नभएको समेत स्पष्ट पारे । उनले भने,‘संविधान कार्यान्वयन गर्नपनि फुट्नुभन्दापनि जुट्नुपर्छ।’
फरक प्रसँगमा उनले वाम गठबन्धनको घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ५ वर्ष सरकार चलाउनेगरि प्रधानमन्त्रीको अफर कांग्रेसले गरेको भन्ने कुरा मिडियामा आफूले सुनेको उल्लेख गर्दै भने,‘मुलुकलाई अब न्याचुरल कोर्समा जान दिनुपर्छ, त्यस बाट गलत गरियो भने बद्मासी हुनसक्छ, नेपाल अड्किएको छ भन्ने कुरा हेरेरमात्रै अघि बढ्नुपर्छ।’
नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले राष्ट्रिय सभासम्बन्धीको अध्यादेश एकल वा बहुमतीय संक्रमणीय व्यवस्था भन्दापनि बीचको बाटोबाट अघि बढाउनुपर्ने सुझाव दिएका छन् । उनले भने,‘एकल वा बहमुतीय भन्दापनि अब समझदारीबाट यसलाई टुँगो लगाउनुपर्छ।’
नेता रायमाझीले एमाले–माओवादी केन्द्रको बाम गठबन्धनले करिब दुई तिहाई मत प्राप्त गरेकोले सरकारले नयाँ जनमतको सम्मान गर्दै नैतिकताको आधारमा पनि राजिनामा दिनुपर्ने बताए । उनले अबको उद्देश्य भनेको आर्थिक समृद्धि भएकोले सबै दलहरुवीच सहकार्य, एकता र समझदारी कायम गर्नुपर्ने धारणा राखे ।
उनले अबको प्रधानमन्त्री एमाले अध्यक्ष केपी शर्मा ओली बन्ने भन्दै आफूहरुलाई त्यसमा कुनै आपत्ति नहुने स्पष्ट पारे । उनले थपे,‘वाम गठबन्धनको चुनावी तालमेल मात्रै होईन, पार्टी एकताको लक्ष्य छ, त्यसैले ओलीजी प्रधानमन्त्री बन्दा हामीलाई कुनै आपत्ति छैन।’ यद्धपी उनले सरकार गठन र पार्टी एकतावीच दुवै पार्टीका शीर्ष नेताहरुवीच छलफल जारी रहेकोले यो विषय सहमतिमै टुँग्गिने विश्वास दिलाए ।











