बाँकेको राजनीतिक वृत्तमा परिचित नाम हो तुफान । राजनीतिक उतारचढावलाई जीवनको छोटो अवधिमा देखे/भोगेका उनको राजनीतिमा तुफानी दौड कस्तो रहेछ ? यहि प्रश्नलाई उधिन्ने प्रयत्न गरिएको छ यो आलेखमा ।
आखिर के ले आकर्षण गर्यो राजनीतिमा उनलाई ? जातीय विभेद र जाली तमसुकले ।
सल्यानको विकट कोटवाडामा जन्मी हुर्किएका डम्बर विक तुफानलाई छोइछिटो गर्ने चलन मन पर्दैनथ्यो । साहुहरुले गरिबीलाई अवसर ठानेर चर्को व्याज लिने गरि तमसुक बनाउँथे । फटाहा, जाली व्यक्तिहरुको पक्षमा फैसला सुनाउने अन्यायपुर्ण ‘पंचायत’ बस्थ्यो गाउँमा । विभेद र अन्यायको विरुद्धमा गाउँमा कहिले काहि सांस्कृतिक कार्यक्रम हुन्थ्यो । सांस्कृतिक कार्यक्रममा सहभागी हुदै स्कुले जीवनमा अखिल (क्रान्तिकारी) मा संगठित भए उनी ।
राजनीतिक जीवनका अनेकौं घुम्तीहरुलाई पार गर्दै अगाढि बढेका तुफानसंग हामीले सोध्यौं, तुफान टेकनाम चाहि कस्तो लाग्छ आफुलाई ?
खै कस्तो भनुँ, ‘युज्ड टु’ भइयो अहिले । तुफान नामाकरण पछाडि एउटा घटना रहेछ । माओवादि शसस्त्र द्धन्द्धको समयमा सबै कार्यकर्ताको टेक नाम हुने गथ्र्यो । “मेरो टेक नाम भुवन थियो । बैजापुरको कुम्मरबाट पर्खाल बम (पर्खाल उडाउने बम) राख्न र पार्टिको झण्डा फहराउन बघौडा जानुपर्यो । चुरेको पहाड उक्लिदै गएको थिए । बाँकेको पहिलो एक्सन थियो मेरोलागि । पैदलै जंगल नै जंगल भएर गएको थिए । बघौडामा सेल्टर थिएन । पानी र भुटेको चना बोकेर राती १० बजे गएको आफ्नो जिम्मेवारी पुरा गरेर फर्किदा रातीको ३ वजेको थियो । हाम्रो काम देखेर पार्टिका कमरेडहरुले तुफानी दौड भयो भन्नु भयो । र मेरो नाम तुफान राखिदिनु भयो ।” उनी भन्छन् ।
थप्छन्, भूमिगत कालमा तीव्रता थियो । तुफान ठिकै थियो । अब चाहि राजनीतिक ग्राउन्ड अलि सुस्त छ । खुल्ला परिवेशमा तुफानको अगाढि डम्वर जोड्दा ठिक हुन्छ होला ।
राजनीति मलजल गर्ने कर्मथलो बाँके+बर्दिया हो डम्वर विक तुफानको । ०५४ मा सल्यानबाट फर्किदै गर्दा अगैयामा प्रहरी कब्जामा परेर ३ महिना हिरासतमा परेपछि अझ वढि खारिए राजनीतिमा । ‘मलाई क्रान्तिमा होमिन दृढ बनायो हिरासत बसाइले’, उनी भन्छन् ।
माओवादि शसस्त्र युद्धमा पुर्णकालिन भएर होमिदा भर्खर १६ वर्षका कलिला र शारिरीक रुपमा पातला थिए । माओवादीको बाँके र बदिंयामा त्यो बेला संयुक्त कमिटि थियो । उनको पहिलो जिम्मेवारी सुर्यपटुवा क्षेत्र (भुरिगाउ, ढोढरी ठाकुरद्धारा) थियो । रुदै लागेका थिए जिम्मेवारी पुरा गर्न थारु बहुल क्षेत्रमा थारु भाषा नबुझने उनी ।
०५६/०५७ तिर बाँके बर्दियाका धेरै माओवादि नेताहरुको हत्या भयो । नेतृत्व संकटको त्यहि प्रतिकुलतामा उनले बाँके बर्दिया सेक्रेटरीको भूमिका निर्वाह गरे ।
जिवन त नाफाको बाँचेको हो । मृत्युको नजिक पुगेका धेरै घटना छन् उनीसंग ।
६०/ ६१ सालको माघिको दिन । बर्दियाको महम्मदपुरमा उनी आफ्ना सहयोगीसंग खाना खाने तयारीमा थिए स्थानीय एक जनाको घरमा । घरलाइ १०, १२ वटा मोटरसाइकलमा आएका सादा पोसाकका सेनाले घेरा हाले । छक्याउन, कपास विकास समितिको कर्मचारी हौं भने उनीहरुले । तर, सेनाले घेरा कस्दै लग्यो ।
भाग्नु बाहेकको अर्को विकल्प थिएन । भागे । अगाढि सेना र सशस्त्र प्रहरी ट्यांक सहित रहेछन् । उनी खेतैखेत भादा नदी तिर लागे । भोको पेट भादा पार गर्न सक्दिन जस्तो लाग्यो उनलाई । तर उनको सहयोगीको करबलले भादामा हाम्फाले ।
भादा तिर जाँदा सेना, प्रहरीले फायर खोलीसकेको थियो । मुस्किलले ५० देखि १०० फिटको फरकमा सडक माथिबाट सेना, शसस्त्रले गोली प्रहार गरे । उनलाई मृत्यु नजिक आएको जस्तो लाग्यो ।
भादा पार गरे । माथी आकाशमा हेलिकप्टर घुमिरहेको थियो । बालुवामा छेकिएर भुइमा सुतेर हातले शरिर छामे । र हातलाइ हेरे । हातमा रातो लागेको थिएन । अर्थात गोली नलागेको कन्फर्म भो ।
हत्तपत्त ज्यानको कपडा निकालेर बनयान र हाफपैन्टमा नजिकैको तोरीबारी भित्र पसे । त्यहि तोरीबारीमा काम गरिरहेका जिविसका कर्मचारीको सहयोगमा कर्मचारीको घर गए । र सुरक्षित भए । उनी भन्छन, बेलुका रेडियोले समाचार भन्दैथ्यो, आतंककारी समुहका बाँके बर्दिया कमान्डरको सुरक्षा कारवाहिमा मृत्यु । आफ्नै मृत्युको समाचार आफैंले सुने ।
राझा चौकमा माओवादिले आक्रमण गरेपछि तुफानले राझा पृतनाका तत्कालिन पृतनापति रुक्मांगद कटवाललाई फोन गरे । हामीले तिम्रो नाकै मुनि आक्रमण गरेका छौं । होस गर्नु अब तिम्रो पालो । फोनमा तँ तँ म म बाहेक उनको युद्धमा रुक्मांगदसंग जम्काभेट भएन । उनी सम्झन्छन्, “रुक्मांगद राझामा बसेर हाम्रा विरुद्ध योजना बनाउदै गर्दा हामी बाँके र बर्दियाका गाउँहरुमा बसेर काउन्टर स्ट्राटेजी बनाईरहेका हुन्थ्यौं ।”
युद्धकै दौरान तुफानलाई भेट्न सिडिओ आउँथे । प्रहरीका उच्च अधिकृतहरु धाउथे । सरकारी कार्यालयका कर्मचारीहरु सूचना दिन्थे । अन्य पार्टिका नेता कार्यकर्ताहरुले सहयोग गर्थे । राजनीतिक दलहरुसंग पनि मित्रवत सम्वन्ध राख्ने प्रयत्न गरे उनले । पत्रकार तथा मानव अधिकारकर्मीहरुसंगको सम्वन्धलाई निकट बनाए । जनतासंग भिज्ने काम गरे । यि कार्यहरुले कार्यकर्ताहरु सुरक्षित हुन सहयोग पुग्यो । ‘एक रात पनि भूमिगत जीवनमा भारतमा सेल्टर लिइन ।’ उनी दावा गर्छन्, बाँके र बर्दियालाई नै कर्मथलो बनाए र यहि बसे ।
बाँके रणनीतिक ठाँउ थियो । नेत्र विक्रम चन्द विप्लव, सुरेस सिंह, पोष्ट बहादुर बोगटि दिवाकर लगायतका नेतृत्वसंग नियमित बसउठ हुन्थ्यो । पार्टिको एउटा नियमित कार्यक्रमको सिलसिलामा माओवादि सुप्रिमो प्रचन्डसग पहिलो भेट चितवनको चेपाग बस्तीमा भएको थियो उनको ।
भुमिगत हुन सिकायो सुर्यपटुवाले । र खजुराले नेतृत्व स्थापित हुन । डम्बर विक तुफान भन्छन्, यि दुई ठाउँ मैले भुल्दै नभुल्ने क्षेत्र रहे । खजुरा क्षेत्रको राजनीतिक सचेतना सम्भवत धेरै कम ठाउँहरुमा पाईन्छ ।
उनी एउटा घटना सम्झन्छन् । “बाँके एमालेका पुराना नेता नन्दलाल रोकायले माओवादि विरुद्ध सुराकि गर्दै छन् भन्ने सूचना आयो उनीसंग । नन्दलालसंग छलफल गर्न उनको घर जाँदा नन्दलालले उनलाई भनेछन्, डम्बर जि सेना बनाउन ३ महिना वा त्यो भन्दा कम समय नि लाग्ला तर कम्युनिष्ट बनाउन २० औं वर्ष लाग्छ । त्यसपछि मैले कुरा बुझें र फर्के । यो स्तरको सचेतना खजुरा भेगमा छ जो हरकहि पाउन सकिदैन ।”
उनले खजुराबाट कमान्ड गरे ०६२/०६३ को जनआन्दोलनलाई बाँकेमा । जनआन्दोलनको केन्द्र नेपालगञ्ज थियो र जनपरिचालनको विडो खजुराले थामेको थियो । जनपरिचालनका लागि माओवादीले गाँउ–गाँउमा उर्दि जारी गरेको थियो । हरेक साँझ खजुरा आसपासको क्षेत्रमा जनआन्दोलन परिचालन समितिको बैठक वस्थ्यो र समिक्षा गर्थ्यो । त्यसको नेतृत्व तुफान आफैं गर्ने गर्दथे । र भोलीको आन्दोलनको योजना त्यहि बन्थ्यो ।
राजनीतिमा उनको प्रवेशारम्भ उनकै शब्दमा आवेग र भावनात्मक दवाव थियो अन्यायपुर्ण शक्तिसम्वन्धका विरुद्धमा । र त्यसैको निरन्तरता हो अहिले सम्म । राजनीतिक रुपमा कुनै अवसर प्राप्तीका लागि न प्रयत्न गरे उनले न मौका मिल्यो । निरन्तर लागे मात्र । उनलाई आफुले स्विकारी आएको माओवादी दृष्टिकोण अहिले सम्म ठिक लागिरहेको छ ।
उनी स्पष्ट छन्, आफ्नो राजनीतिक भूमिकालाई सुनिश्चित र स्थापित गर्ने बाँकेमा नै हो । यसका लागि सामाजिक परिवर्तन र विकास, प्रतिस्पर्धी दलहरुसंग राजनीतिक सहकार्य र मैत्रीपुर्ण सामाजिक सद्भावका पक्षमा निरन्तर क्रियाशिल भईरहने उनको रणनीतिक उद्देश्यहरु हुन् ।
उनी थप्छन्, भौगोलिक रुपमा सुगम हुदाहुदै अपेक्षित विकास भएको छैन बाँकेको । विभेद, अन्याय र कुरीतिपुर्ण सामाजिक व्यवहारहरु अझै निमिट्यान्न हुन सकिरहेको छैन । सामाजिक सद्भावको खाँचो छ ।
राजनीतिको शुरुवाती दौडमा बाटो, स्कुल बनाउन श्रमदान गर्दै हिड्ने गरेको अनुभवका आधारमा उनी भन्छन, विकास प्रक्रियामा जनताको प्रत्यक्ष सहभागिता जरुरी छ । स्थानिय तहको निर्वाचनले यसमा सकारात्मक योगदान पुरयाउदछ । ‘रुपान्तरणको अजेन्डालाई’ लिएर राजनीतिक गतिविधि गरिरहदा जनताले यसपाली स्थानीय तह निर्वाचनमा उठ्ने होला नि भनेर सोधिरहेका छन् । अन्तिम निर्णय गरिसकेको चाहि छैन । संगठनभन्दा बाहिर जाने कुरा रहेन, उनी भन्छन् ।
(प्रस्तुतीः किरण ढकाल)