सरकारले आगामी बैशाख ३१ गते स्थानीय निर्वाचनको मिति घोषणा गरेको छ । निर्वाचनको मिति घोषणापछि जनताले निर्वाचन हुने नहुने ठुक्कता प्राप्त गर्न नसकिरहेको अवस्था एकतिर छ भने अर्को तिर केहि शिर्ष दलका नेता र कार्यकर्ताहरु चुनावी तयारीमा जुटेका छन् ।
यद्यपि देशमा स्थानीय निर्वाचनको विकल्प नरहेको चौतर्फी कुरो आइरहँदा बाँकेका केहि नेता र दलहरुको तयारी के कस्तो छ भन्ने विषयमा नेपालगन्जन्यूजले विभिन्न दलका नेता कार्यकर्तासंग छलफल चलाएको छ । नयाँशक्ति पार्टीका केन्द्रीय सदस्य वेद प्रसाद आचार्य भन्छन्, ‘संविधान संशोधन विना निर्वाचन हुने आशंका रहेपनि मिति घोषणा भएपछि दलहरुले तयारी गर्ने कुरा शंकाको विषय होइन ।’
‘अहिले बाँकेमा आन्तरिक रुपमा सबै पार्टीहरुले गाउँ टोलमा संगठन विस्तार, तयारी, कार्यकर्ता प्रशिक्षण जस्ता कार्यक्रमहरु अघि बढाएबाटै चुनाव होला जस्तो लाग्छ’, आचार्यले भने, २०५४ पछि देशमा स्थानीय निर्वाचन नहुँदा गाउँ प्रतिनिधीविहीन भएको छ । गाबिस सचिवको भरमा सरकारका केहि योजनाहरु संचालन त हुन्छन्, तर जनताले आफ्नोपन महसुस गर्न सक्दैन । संविधान संसोधन गरेर निर्वाचनलाई अघि बढाउनु पर्छ ।
‘निर्वाचनको तयारी तीब्र रुपमा अघि बढेको छ’, माओवादी केन्द्रका केन्द्रीय सदस्य महेश्वर गहतराजले भने, ‘आन्तरिक सुदृढिकरण, गाउँ नगर, वडा, लगायतमा कार्यकर्ता खटाउने र प्रचार प्रसारको तयारी अघि बढेको हो ।’
‘हामी बलियो रुपमा जनताको विच जाने तयारी गरिसकेका छौं’, गहतराजले भने, ‘निर्वाचन हुँदैन वा देशका सबै पार्टी सहमत भएपछि मात्रै निर्वाचन सम्भव छ भन्नेपनि होइन ।’ ‘संविधान सभा निर्वाचनमा वैद्य माओवादीले बहिस्कार गरेपनि निर्वाचन भएको हो’, उनले भने, ‘त्यसअघि पनि थुप्रै निर्वाचनमा कुनै नकुनै पार्टी निर्वाचन बहिस्कार गरेकै थियो रपनि निर्वाचन भयो ।’
तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रिय सदस्य तथा मधेशी मोर्चाका नेता पशुपति दयाल मिश्रले आफुहरु विरोध सरकारी निर्णय र निर्वाचन घोषणाको विरोधको तयारीमा रहेको बताएका छन् ।
‘परिमार्जन सहितको संशोधनलाई सरकारले मान्दैन भने निर्वाचनको हुनै सक्दैन’, नेता मिश्रले भने, ‘सरकारले जुनदिन निर्वाचनमा जाने वातावरण तयार गर्छ त्यसदिन हामी सहभागी हुन्छौं ।’ उनले थपे, ‘हामी निर्वाचन विरोधी होइनौं, मोर्चापनि निर्वाचनमा जान खोजेकै हो ।’
‘परिमार्जन सहितको संविधान संसोधन प्रस्ताव पास हुनु पर्यो, हामी निर्वाचनमा जान तयारनै छौं’, मिश्रले भने, ‘अहिलेको स्थितिमा कुनैपनि हालतमा निर्वाचन हुन सक्दैन ।’ ‘यो सरकारले जनतालाई झुक्याउने काम मात्रै गरेको छ’, उनले भने, ‘प्राविधिक स्तरबाट पनि सबै तयारी सरकारले पूरा नगरेको अवस्था छ ।’