२ हजार ४ सय ११ जना प्रहरी जवान दीक्षित

विभिन्न प्रदेश प्रहरी तालिम केन्द्र तथा गणहरूमा २०७९ कात्तिक २० गतेदेखि सञ्चालित प्रहरी जवान आधारभूत तालिममा सहभागी २ हजार ४ सय ११ जना प्रहरी जवानहरू आइतबार दीक्षित भएका छन् । ती मध्ये ४ सय ६७ जना महिला र १ हजार ९ सय ४४ जना पुरूष रहेका छन् ।


लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलको दीक्षान्त समारोहमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक उमेश राज जोशीले प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । उक्त तालिम केन्द्रबाट २ सय ८७ जना प्रशिक्षार्थीहरू दीक्षित भएका छन् ।


त्यसबीच, नेपालगन्जस्थित कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेतद्वारा सञ्चालन गरिएको १३९ औं समूहको प्रहरी जवानको आधारभूत तालिम आइतबार सकिएको छ । कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेतले नेपालगन्जमा दीक्षान्त समारोहको आयोजना गरेर आधारभूत तालिम प्राप्त गरेका तीन सय जना जवानलाई दीक्षित गरेर कार्यक्षेत्रमा पठाएको हो ।


कर्णाली प्रदेशका प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक (डिआइजी) भीमप्रसाद ढकालले आधारभूत तालिम प्राप्त गरेका जवानहरुलाई दज्र्यानी चिन्ह प्रदान गरेर कार्यक्षेत्रमा प्रवेश गराए । डिआइजी ढकालले सोही अवसरमा तालिममा उत्कृष्ट स्थान प्राप्त गर्ने प्रशिक्षार्थी र राम्रो तालिम दिने प्रशिक्षकलाई प्रमाणपत्र र पुरस्कार वितरण गरे ।


कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत हाल नेपालगन्जका समादेशक वरिष्ठ प्रहरी उपरिक्षक सुशीलसिंह राठौरले २०७९ कात्तिक २० गतेबाट सुरु भई दुई सय ३४ दिनसम्म सञ्चालन गरिएको प्रहरी जवानको सो आधारभूत तालिममा १ सय ७८ पुरुष र १ सय २२ महिला गरेर ३ सयजना प्रशिक्षार्थीले तालिम पूरा गरेको बताए ।


समारोहमा कर्णाली प्रदेशका प्रहरी प्रमुख, डिआइजी ढकालले समयको परिवर्तनसँगै नयाँ प्रकृतिका आपराधिक क्रियाक्लाप बढ्दै गएकोले प्रहरीलाई चुनौती बढेको जनाउँदै प्रहरीले पनि नयाँ तरिकाले अनुसन्धान र नियन्त्रण कार्य गर्नुपर्ने बताए । डिआइजी ढकालले प्रहरीलाई आम नागरिकको सेवालाई मुख्य केन्द्र बनाएर काम गर्न निर्देशन दिए ।


डिआइजी ढकालले देशको अति दुर्गमदेखि अति सुगम सबै स्थानमा राज्यको उपस्थिति देखाउने माध्यम प्रहरी मात्रै भएको जनाउँदै प्रहरीले सरकारको प्रतिनिधि भएर काम गर्नुपर्ने बताए । कर्णाली प्रदेशको सुरक्षालाई चुस्त दुरुस्त बनाउन सुरक्षित कर्णाली भन्ने अभियान सञ्चालन गरिएको जनाउँदै डिआइजी ढकालले अभियानको सफलताका लागि काम गर्न प्रदेशका सबैसँग आग्रह गरे ।


तालिम संयोजक डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले तालिम प्रतिवेदन प्रस्तुत गरेको सो कार्यक्रममा नेपाली सेनाका महासेनानी मनोज थापा, सशस्त्र प्रहरी नम्बर ५ विन्दवासिनी वाहिनी मुख्यालयका प्रमुख डिआइजी अभि खत्री, बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्य, सुर्खेतका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटा लगायत बाँके, बर्दिया र सुर्खेतका प्रहरी प्रमुखहरुको उपस्थितिमा समारोह आयोजना गरिएको थियो । समारोहमा दीक्षित भएका जवानका परिवारले उत्साहपूर्वक शुभकामना आदानप्रदानसँगै हर्षाेल्लास साटासाट गरेका थिए ।


त्यस्तै, नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ नक्सालको दीक्षान्त समारोहमा प्रहरी नायव महानिरीक्षक बिष्णु कुमार केसीले प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । उक्त गणबाट १ सय १ जना प्रशिक्षार्थीहरु दीक्षित भएका छन् ।
काठमाडौं उपत्यका प्रहरी शिक्षालय महाराजगंजको दीक्षान्त समारोहमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रहरी नायव महानिरीक्षक रबिन्द्र केसीले प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । उक्त शिक्षालयबाट १ सय ३ जना प्रशिक्षार्थीहरु दीक्षित भएका छन् ।


नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपरासीको दीक्षान्त समारोहमा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । उक्त महाविद्यालयबाट १ सय ८९ जना प्रशिक्षार्थीहरु दीक्षित भए ।


त्यस्तै, कोशी प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरको दीक्षान्त समारोहमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए । उक्त तालिम केन्द्रबाट २ सय ९५ जना प्रशिक्षार्थीहरु दीक्षित भएका छन् ।

मधेश प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर राजविराजको दीक्षान्त समारोहमा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायव महानिरीक्षक जनक भट्टराईले प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । उक्त तालिम केन्द्रबाट २ सय ८३ जना प्रशिक्षार्थीहरू दीक्षित भएका छन् ।


साथै, बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली सिन्धुलीको दीक्षान्त समारोहमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाले प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । उक्त तालिम केन्द्रबाट २ सय ८० जना प्रशिक्षार्थीहरु दीक्षित भएका छन् ।


गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखराको दीक्षान्त समारोहमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक बुद्धिराज गुरूङले प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए । उक्त तालिम केन्द्रबाट २ सय ७७ जना प्रशिक्षार्थीहरू दीक्षित भएका छन् ।


त्यसैक्रममा, सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलको दीक्षान्त समारोहमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी नायव महानिरीक्षक भरत बहादुर बोहराले प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका छन् । उक्त तालिम केन्द्रबाट १ सय ९६ जना प्रशिक्षार्थीहरू दीक्षित भए । साथै सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र
(प्रहरी प्रशिक्षण स्थल बुडर, डोटी) बाट १ सय जना प्रशिक्षार्थीहरू दीक्षित भएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया