ओपिडी सेवा बिदामा सञ्चालन गर्ने निर्णयविरुद्ध चिकित्सक संघ, तत्काल फिर्ता लिन दबाब

नेपाल चिकित्सक संघ ले सार्वजनिक बिदाका दिन पनि सरकारी अस्पतालहरूमा बहिरंग विभाग (ओपिडी) सेवा सञ्चालन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय ले गरेको अनुरोधप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संघले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा उक्त निर्णयलाई अव्यवहारिक र अवैज्ञानिक भन्दै तत्काल फिर्ता लिन माग गरेको छ।

मन्त्रालयले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) र बुद्ध जयन्तीका अवसरमा देशभरका सरकारी अस्पतालहरूमा ओपिडी सेवा सञ्चालन गर्न आग्रह गरेको थियो। सोही निर्णयप्रति आपत्ति जनाउँदै संघले चिकित्सक तथा स्वास्थ्यकर्मीहरू पनि अहोरात्र सेवामा खटिने श्रमिक भएकाले श्रमिक दिवसको बिदामा समेत अतिरिक्त सेवा सञ्चालन गरिनु अन्यायपूर्ण हुने उल्लेख गरेको छ।

संघका अनुसार, अस्पतालमा आपतकालीन तथा अत्यावश्यक सेवाहरू बिदाका दिनमा समेत नियमित रूपमा सञ्चालन हुँदै आएका छन्। तर, ओपिडी सेवा अत्यावश्यक सेवा अन्तर्गत नपर्ने भएकाले १–२ दिन बन्द रहँदा स्वास्थ्य सेवामा उल्लेखनीय असर नपर्ने धारणा व्यक्त गरिएको छ।

संघका महासचिव डा. सञ्जिब तिवारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दिवसहरूमा अन्य पेशाकर्मीसरह चिकित्सक तथा स्वास्थ्यकर्मीलाई पनि बिदा दिने प्रचलन रहेको उल्लेख गर्दै अन्य चाडपर्वहरूमा समेत लामो बिदा पर्ने अवस्थालाई ध्यानमा राख्दा मन्त्रालयको निर्णय व्यवहारिक र वैज्ञानिक दृष्टिकोणबाट उपयुक्त नभएको जनाइएको छ।

संघले मन्त्रालयलाई उक्त निर्णय अविलम्ब फिर्ता लिन तथा वैशाख १८ गते (मे १) का दिन ओपिडी सेवा बन्द राखी चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको बिदा सुनिश्चित गर्न आग्रह गरेको छ।

प्रतिक्रिया

प्रतिक्रिया