धानखोला–लमही सडक स्तरोन्नति आजदेखि सुरु, एमसीसी परियोजनाअन्तर्गत ४० किमी सडक आधुनिक प्रविधिबाट सुधार हुने

पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङको धानखोला–लमही सडकखण्डको स्तरोन्नति कार्य आज (बुधबार)देखि औपचारिक रूपमा सुरु हुने भएको छ। मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को लगानीमा सञ्चालन हुने यस परियोजना एमसीसी नेपाल कम्प्याक्टअन्तर्गतको सडक मर्मत कार्यक्रमको एक महत्वपूर्ण अंश हो।

मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल)ले अनुगमन गर्ने उक्त परियोजनाअन्तर्गत धानखोलादेखि लमहीसम्मको ४० किलोमिटर सडकखण्ड स्तरोन्नति गरिनेछ। यसका लागि एमसीए–नेपालले २०८२ पुस ७ गते शर्मा–कुमार जेभी (शर्मा कन्स्ट्रक्सन/कुमार निर्माण सेवा प्रालि)सँग भ्याटबाहेक करिब २८ करोड अमेरिकी डलर बराबरको ठेक्का सम्झौता गरेको छ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङ र कपिलवस्तु जिल्लाको सीमास्थित धानखोलादेखि लमही नगरपालिका–५, रातोडाडासम्मको सडक स्तरोन्नति कार्य २४ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर बिष्टका अनुसार संस्थाले विद्युत् प्रसारण र सडक मर्मत आयोजनालाई प्राथमिकताका साथ अघि बढाइरहेको छ। सम्झौताअनुसार स्तरोन्नति कार्यका क्रममा फूल डेप्थ रिक्लेमेसन (FDR) र सुपरपेभ (Superpave) जस्ता आधुनिक प्रविधिको प्रयोग गरिनेछ। यसअन्तर्गत सात मिटर चौडाइको क्यारिजवे र २.५ मिटरको शोल्डरसहित सडकलाई करिब १२ मिटर चौडा बनाइने योजना रहेको छ।

एमसीए–नेपालका अनुसार परियोजनाको विस्तृत सर्वेक्षण कार्य सम्पन्न भइसकेको छ भने निर्माण कम्पनीलाई कार्यस्थलमा परिचालन गरिसकिएको छ। धानखोला–लमही सडक स्तरोन्नति आयोजनाको औपचारिक शुभारम्भ आज लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गर्ने कार्यक्रम तय गरिएको छ।

प्रतिक्रिया

प्रतिक्रिया