सीमामा १०० रुपैयाँभन्दा माथिका सामानमा भन्सार लगाउने निर्णय फिर्ता लिन गगनकुमार थापा को माग

नेपाली कांग्रेसका सभापति गगनकुमार थापा ले भारतबाट १०० रुपैयाँभन्दा बढीका सामान ल्याउँदा भन्सार तिर्नुपर्ने सरकारी निर्णय तत्काल फिर्ता लिन माग गर्नुभएको छ ।

सर्लाही–४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएपछि पहिलोपटक सो क्षेत्रको भ्रमणमा पुग्नुभएका थापाले बुधबार सीमावर्ती क्षेत्र गोडैता नगरपालिका–१२ स्थित मधुवनी नाकाको निरीक्षण गर्नुभएको थियो । काठमाडौँ फर्किएपछि उहाँले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त नाकाको तस्बिर सार्वजनिक गर्दै निर्णय अव्यवहारिक रहेको उल्लेख गर्दै पुनर्विचार गर्न सरकारसँग आग्रह गर्नुभएको हो ।

सभापति थापाले सीमा क्षेत्रमा विगतमा रहेको सहज आवागमन र व्यापारिक गतिविधिको वातावरण पुनः सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले लेख्नुभएको छ, “सीमा क्षेत्रहरू राष्ट्रका किनारा मात्र होइनन्, ती अर्थतन्त्र, संस्कृति र विश्वासका जीवित संगम हुन् । नीतिले यस्तो संवेदनशीलतालाई बेवास्ता गर्दा सीमामा बसोबास गर्ने नागरिकहरू प्रत्यक्ष रूपमा प्रभावित हुन्छन् ।”

उहाँले १०० रुपैयाँभन्दा बढीका सामानमा भन्सार लगाउने व्यवस्था व्यवहारिक नभएको उल्लेख गर्दै यस्तो नीति सीमावर्ती नागरिकप्रति अन्यायपूर्ण र दुःखदायी भएको टिप्पणी गर्नुभयो । साथै, यस निर्णयले मधेशका सीमा क्षेत्रका नागरिकको दैनिकीमा प्रत्यक्ष असर पारेको र विशेषगरी महिला, विद्यार्थी, किसान तथा श्रमिक वर्ग बढी प्रभावित भएको बताउँदै तत्काल सच्याउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

मधुवनी नाकामा स्थानीय महिला तथा मजदुरहरूसँगको प्रत्यक्ष संवादबाट उनीहरूले भोगिरहेको कठिनाइबारे आफू गम्भीर रूपमा प्रभावित भएको उल्लेख गर्दै सभापति थापाले सीमासम्बन्धी नीतिमा व्यावहारिक सुधार गर्न सरकारसँग पुनः आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया