सुर्खेततिर स्थानान्तरण होला त प्रहरी तालिम केन्द्र ?

प्रदेशका प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक (डिआइजी) भीमप्रसाद ढकालले नेपाल प्रहरीको नेपालगन्जस्थित कर्णाली प्रदेश तालिम केन्द्र सार्न लागिएको बताएका छन् ।


आइतवार नेपालगन्जमा आयोजित दीक्षान्त समारोहमा प्रदेश प्रहरी प्रमुख, डिआइजी ढकालले नेपालगन्जमा रहेका प्रहरी तालिम केन्द्र लगायतका कर्णाली प्रदेशका संरचना स्थानान्तरण भइरहेको बताए । त्यसका लागि कर्णालीमा आवश्यक पूर्वाधार तयार गरिसकिएको आशय डिआइजी ढकालको थियो । यद्धपि, तालिम केन्द्र कहाँ र कहिलेसम्म सारिने भन्ने स्पष्ट अभिव्यक्ति ढकालको थिएन ।


पछिल्लो ५ वर्षदेखि नेपालगन्जस्थित तालिम केन्द्र सुर्खेत सारिने चर्चा, घोषणा र बहस चल्दै आएको हो । यसअघि तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले चौरजहारीमा तालिम केन्द्र स्थापना गर्ने घोषणासहित वजेटसमेतको सुनिश्चितता गरेपनि अपायक पर्ने भन्दै जनस्तरमै विरोध र विवाद उत्पन्न भएदेखिनै यो विषय अन्योलमा छ ।


‘यति ठुलो संरचना पनि सुर्खेत सरेपछि नेपालगन्जको बजारलाई थप धक्का लाग्ने निश्चित छ,’ समारोहमा डिआइजीको घोषणा सुनिरहेका नेपालगन्ज–१८का वडाध्यक्ष दीपककुमार बर्माले दैनिक नेपालगन्जसँग भने, ‘कारकादों सुनसान हुने भयो ।’
कारकादोका स्थानीय वडाध्यक्ष बर्माले नेपाल टेलिकमको क्षेत्रीय कार्यालय सारिंदा टेलिकमको आकर्षक भवनसहितका पूर्वाधार त्यत्तिकै खाली, उपयोगहीन राखिंदा राज्यको स्रोतसाधनको नोक्सानी भइरहेको बताए ।


‘अब यो तालिम केन्द्रपनि सारिंदा यत्तिको संरचनाको भरपूर उपयोगको वैकल्पिक योजना आवश्यक छ,’ नेकपा एमालेका जिल्ला उप–सचिवसमेत रहेका वडाध्यक्ष बर्माले तालिममा सहभागी प्रशिक्षार्थीका आफन्तहरु दैनिक सयौंको संख्यामा नेपालगन्ज आउँदा हुने कारोबार र बजारको चलायमान अवस्थामा गिरावट आउने आशंका गर्दै भने, ‘नेपालगन्जलाई पुरानै अवस्थामा चलायमान बनाउने गरि योजना ल्याउन ढिला गरिनु हुँदैन ।


२०२३ सालमा स्थानपना भएको तत्कालिन सुदूरपश्चिम क्षेत्रीय तालिम केन्द्र, २०३८ सालको प्रशासनिक क्षेत्रीय पुनःसंरचनापछि मध्यपश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्रका रुपमा कार्यसम्पादन गरिरहेको थियो । संघीय संरचनामा मुलुक गएपछि २०७५ चैत्र १५ गतेको निर्णयबाट कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत, हाल नेपालगन्ज नामाकरण गरेर प्रशिक्षण सञ्चालन गरिंदै आएको हो ।


नेपालगन्ज–१८ कारकादो चोक नजिक सुर्खेतरोडमा १५ विगाहबढी क्षेत्रफलमा अवस्थित तालिम केन्द्रले स्थापनादेखि हालसम्म ६० हजार ४ सय ५३ जना प्रहरी अधिकृत तथा जवानलाई आधारभूत, उन्नत तथा अनुशिक्षण तालिम प्रदान गरिसकेको जनाएको छ ।


‘यसबारे हामीलाई औपचारिक कुनै दिइएको जानकारी छैन,’ बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले दैनिक नेपालगन्जसँग भने, ‘सरिहाल्यो भने के गर्ने भन्ने आवश्यक निर्णय लिन सकिन्छ ।’

प्रतिक्रिया

प्रतिक्रिया