कहिले खुल्छ बागेश्वरी ?

पश्चिम नेपालकै प्रसिद्ध शक्तिपीठ वागेश्वरी मन्दीर मुलुकभित्र मात्रै होइन, मुलुक बाहिरका भक्तजनका लागि पनि उत्तिकै महत्व र आस्थाको केन्द्र हो । जहाँ हरेक व्यक्तिले गरेको भाकल (मन्नत) पुरा हुने विश्वासमा वर्षेनी दशौं हजार भक्तजन शीर झुकाउन (माथा टेक्न) आउँछन् ।


विभिन्न चाडपर्वमात्रै होइन हरेक दिन, हिन्दु धर्मप्रति आस्था राख्नेहरुको भिडले बागेश्वरी प्रतिको आकर्षणलाई दर्शाउँछ । बडादशैं बागेश्वरीको मूल पर्वमध्ये पर्छ, जहाँ नेपालीमात्रै होइन, भारतका टाढा टाढाका भक्तजनपनि बागेश्वरी आइपुग्छन् ।
तर, कोरोना कहरसँगै गत चैत्र ११ गतेदेखि लाग गरिएको लकडाउनले यो आस्थाको केन्द्र सुनसान बनाएको छ । लकडाउन अन्त भएर जोखिमबीच जनजीवन चलायमान भइरहँदा पनि दुःख पीडा बिसाएर आत्मविश्वास आर्जन गर्ने यो पवित्र थलो चारैतिरबाट घेरिएको बन्धनभित्र पारिएको छ ।
लकडाउन अन्त्यसँगै अधिकांस क्षेत्र सञ्चालनमा आएपनि धार्मिक क्षेत्र भने सञ्चालनमा आउन सकेको छैन । सार्वजनिक सवारी साधन, हवाई यातायात सञ्चालनमा आइसकेकाले मन्दिरहरु पनि खोलिनु पर्ने माग गर्न थालिएपनि सरकारले यसबारे निर्णय लिएको छैन । वागेश्वरी गुठीका अध्यक्ष डा. धवल शम्शेर राणाले सरकारको निर्णय विना मन्दिर खाुल्न नसकिने बताए ।
नेपालगन्जको प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिर लकडाउनसँगै गेटमा ताल्चा लगाइएको छ । मन्दिर दर्शनका लागि पुग्नेहरु मन्दिरको मूलगेटबाटै दर्शन गरेर फर्किने गरेका छन् । मन्दिर व्यवस्थापन समितिले पुजा सामाग्री लिएर गेटबाटै पुजा गर्ने व्यवस्था मिलाएको छ । अहिलेपनि आस्था र विश्वासमा मन्दिर धाउनेहरुको कमि पटक्कै छैन, छ त केवल सास्तीमात्रै, अव्यवस्थाको सास्ती ।
‘सबै ठाउँ खुल्दा धार्मिक आस्थाको केन्द्रलाई बन्द गरिरहनु उचित होइन’, मन्दिर दर्शनका लागि पुगेका भक्तजनहरुको एउटै भनाइ छ ‘कोरोनाको जोखिम सबै क्षेत्रमा छ, अन्य क्षेत्र खुले पछि आस्थाको केन्द्र किन बन्द गरिरहनु उचित होइन ।’
मन्दिर पुग्ने दर्शनार्थीहरुले मन्दिर भित्र जान दिन अनुरोध गरेपनि गेटमै रोकिने गरेका छन् । ‘मन्दिर खुल्दै भीडभाड हुन्छ नै भन्ने होइन’, भक्तजनहरु भन्छन्, ‘शारीरिक दुरी कायम गरेपनि पुजाआजाको व्यवस्था गर्न सकिन्छ ।’
लकडाउनका बेला पर्व पर्दा धेरैले मन्दिर दर्शन गर्न पाएनन् । अब हिन्दुहरुको सबैभन्दा ठूलो पर्व विजयादशमी नजिकिंदैछ । नवदुर्गाका बेला मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ । ‘त्यसैले अहिलेदेखि नै नियम बनाएर शारीरिक दुरी कायम गरी दर्शन गर्ने व्यवस्था मिलाइनु पर्ने माग भक्तजनहरुको छ ।
होटल, व्यवसाय समेत सञ्चालनमा आउँदा मन्दिर नखोलेर आस्थाको अवहेलना गरिएको भन्दै आलोचना गर्ने गरिएको छ । सरकारले नै निर्णय नगर्दासम्म स्थानीय स्तरबाट धार्मिक स्थल खुल्ने सम्भावना नरहेको प्रशासनका अधिकारीहरु बताउँछन् ।
बागेश्वरी गुठीका अध्यक्ष समेत रहेका नेपालगन्ज उपमहानरपालिकाका प्रमुख डा. धवल शम्शेर राणा…
मन्दिर खोल्न माग गर्दै कसौंधन वैश्य समाजले औपचारिक मागनै गरेको समाजका अध्यक्ष नन्दलाल वैश्यले बताएका छन् । ‘अब मठ, मन्दिर दर्शनका लागि रोकिनु हुँदैन, बरु शारीरिक दुरी कायम गर्ने गरी दर्शन गर्ने व्यवस्थापन गरिनुपर्छ’, वागेश्वरी मन्दीर व्यवस्थापन गुठीका सदस्य समेत रहेका बैश्यको भनाइ छ ।
मन्दिर व्यवस्थापन गुठीले सबैतिर खुलिसकेकाले सतर्कतासाथ बागेश्वरी खुला गर्न माग गरेको छ । समितका उपाध्यक्ष विजय कुमार गुप्ताले मन्दिर खोल्न ढिला गर्न नहुने बताए ।
लकडाउनबीच मन्दिर परिसरको विकास र विस्तारमा काम गरिरहेको वडाध्यक्ष सुनिलसिंह हमालले बताएका छन् । उनको भनाइ पनि अब मन्दिर खोल्न ढिलाइ गर्न नहुनेमा जोड छ । हमालले मन्दिर खोल्न जनदबाब आइरहेको बताए ।
बजारको कोलाहल र भट्टीको भिडले संक्रमण विस्तार भइरहँदा संकटका बेला दुख विसाएर आफ्नो मन बुझाउने र आफ्नो विश्वासको धरोहरमा शीर झुकाउने मन बुझाउने यो आस्थाको केन्द्रलाई व्यवस्थित र अनुशासित मापदण्ड बनाएर खोल्नेतर्फ ध्यान पुयाउने कि ? हेर्नुस्, भिडियो रिपोर्ट

प्रतिक्रिया

प्रतिक्रिया