‘घरभित्रै बसेर सरकारी तलब खान पल्किएकाहरुमात्रै यो निषेधाज्ञाबाट सकारात्मक प्रभाव देखिरहेका छन्’
स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाका कारण बाँकेका सहरी क्षेत्र शुक्रवार र शनिवार सुनसान रहे । कोरोना भाइरसको संक्रमण विस्तार नियन्त्रणका लागि भन्दै जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरको सिफारिसमा जिल्ला प्रशासन कार्यालय बाँकेल सातामा दुई दिन अत्यावश्यक बाहेक पैदल समेत हिड्न निरुत्साहित गर्दै निषेधाज्ञा जारी गर्दै आएको छ ।
साप्ताहिक निषेधाज्ञाको दोस्रो सातासम्म आइपुग्दा स्वास्थ्य क्षेत्रले यसको आलोचना गरेको छ । ‘यसरी निषेधाज्ञा जारी गरेर कुनैपनि मानेमा राम्रो हुँदैन,’ बाँकेको सबै संक्रमण अवस्था विश्लेषण गरेर हामी स्वास्थ्य संस्था सुदृढिकरण र पूर्वाधारमा लाग्नुपर्छ,’ नेपालगन्ज मेडिकल कलेजका प्रवन्ध निर्देशक डा. सुरेश कुमार कनोडियाले दैनिक नेपालगन्जसम्ग भने । डा. कनोडियाले कोरोना भाइरससँगको लडाईमा निषेधाज्ञालाई आपतकालिन अस्त्रका रुपमा प्रयोग गर्नुपर्नेमा ‘नियमित हतियार’ बनाइएको भन्दै चिन्ता गरे ।
‘सरकारले अब विकल्पमा सोच्नैपर्छ, लकडाउन नियन्त्रणको समाधान होइन,’ बजारलाई ब्यबस्थित र सुचारु गर्न सुझाव दिंदै अधिकारकर्मी भोला महतले भने, उच्च सतर्कता र सुरक्षाका अन्य बिकल्पहरू अपनाउनु पर्छ ।’ अर्थतन्त्र बर्बादभै सकेको भन्दै चिन्ता गरेका अधिकारकर्मी महतले लकडाउनका करण दैनिक मजदुरी गरी खानेहरू, ब्यबसाय चलाउनेहरुको अवस्था दयनीय बन्दै गएको बताए ।
बाँकेमा कोरोना भाइरस संक्रमण जितेर घर फर्किनेहरुको संख्या एक हजार नजिक पुगेको छ । ‘तर, भोकमरीको प्रभाव कसैले बुझेको छ ?,’ अधिकारकर्मी महतले मजदूर तथा किसानको अवस्था निकै चिन्ताजनक भइरहेको भन्दै गलत तथ्य तथ्यांक होइन, अब वास्तविक प्रभावमा आधारित भएर स्थानीय तहका सरकार लाग्न सुझाव पनि दिए ।
बाँकेको विभिन्न आइसोलेशन सेन्टरमा ४ सय १५ जना संक्रमित उपचाररत छन् । हालसम्म १ हजार ४ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको बाँकेमा ८ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणको जोखिम उच्च रहेको भन्दै स्थानीय प्रशासनले सातामा दुई दिन जारी गर्दै आएको निषेधाज्ञा चिकित्सा तथा अधिकारकर्मीलेमात्रै होयन निजी क्षेत्रलेनै विरोध गर्दै आएको छ । निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था, नेपालगन्ज उद्योग वाणिज्य संघले औपचारिक रुपमै आगामी सातादेखि निषेधाज्ञा हटाउन माग गरिसकेको छ । ‘घरभित्रै बसेर सरकारी तलब खान पल्किएकाहरुमात्रै यो निषेधाज्ञाबाट सकारात्मक प्रभाव देखिरहेका छन्,’ सामाजिक सञ्जालमा विभिन्न व्यक्तिहरुले टिप्पणी गरिरहेका छन् ।