गौरिफन्टा नाकाबाट प्रवेश गरेका १५ जनाको कोरोना रिपोर्ट नेगेटिभ

बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ३ खैरेनीस्थित आश्रय भवनको क्वारेन्टाइन एकसातामैं खाली गरिएको छ । गौरिफन्टा नाकाबाट प्रवेश गरेका १५ जनालाई राखिएको उक्त क्वारेन्टाइनमा बसेका सबैको कोरोना रिपोर्ट नेगेटिभ देखिएको पछि उनीहरुलाई एकसातामैं घर पठाइएको हो ।
उनीहरु नेपाल प्रवेश गरेको १९ दिन पुगिसकेको थियो, अब धेरै दिन किन राख्ने भनेर घर पठाइएको दावी गाउँपालिकाको छ ।
राप्तीसोनारी गाउँपालिका, स्वास्थ्य शाखाको समन्वयमा बैजापुर स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीले सोमबार र्यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) किटबाट त्यहाँ रहेका १५ जनाको जाँच गर्दा रिपोर्ट नेगेटिभ आएको बताइएको छ ।
सबैको रिपोर्ट नेगेटिभ आएपछि १५ जनालाई घरमा पठाइएको राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले जानकारी दिनुभयो । ‘क्वारेन्टाइनमा बसेका सबैको रिपोर्ट नेगेटिभ आयो, त्यसपछि प्रमुख जिल्ला अधिकारी ज्युसँग
सल्लाह गरेर उनीहरुलाई घर पठाइयो,’ उहाँले भन्नुभयो । गाउँपालिकाले क्वारेन्टाइन स्थापना गरी उनीहरुलाई करिव एक हप्ता जति राखेको थियो ।
राप्तीसोनारी गाउँपालिका वडा नम्बर ५ बिनौना, बाँके निवासी उनीहरु गत चैत ११ गते गौरिफन्टा नाकाबाट नेपाल प्रवेश गरी १२ गते घर पुगेका थिए । घरमा बसिरहेपनि उनीहरुको स्वास्थ्यमा कुनै लक्षण भने देखिएको थिएन । तरपनि भारतबाट फर्केका ब्यक्तिमा कोरोना भाइरसको संक्रमण हुन सक्ने आशंकामा गाउँपालिकाले क्वारेन्टाइनमा राखेको थियो । प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले रिपोर्ट नेगेटिभ आएपनि उनीहरुले एक हप्तासम्म घरमा सुरक्षा सर्तकता अपनाउनुपर्ने बताउनु भयो । ‘क्वारेन्टाइमा रिपोर्ट नेगेटिभ आएपनि नियम अनुसार एक हप्ताजति घरमा सुरक्षित भएर बस्नुपर्छ,’ बस्नेतले भन्नुभयो । राप्तीसोनारीभित्र रहेका सबै क्वारेन्टाइनमा क्रमिक रुपले आरडिटी किटबाट जाँच गरिने उहाँको भनाइ छ ।








