वडाबाट ६ प्रतिशतमात्रै बजेटमा कसरी हुन्छ गुणस्तरिय शिक्षा ? बजेटको अधिकांश हिस्सा बैठक तथा तालिमका लागि छुट्याइएको छ ।
बीरेन्द्र जैसी
नगरमा सरकारी बजेटको प्राथमिकता के हुनुपर्छ ? शिक्षा, स्वास्थ्य कि सडक नाली ! कि, मन्दिर मस्जीद धर्मशाला ? तपाईका पनि आ–आफ्ना प्राथमिकता अनुसारका जवाफ होलान्, तर नेपालगन्ज उपमहानगरपालिकाले शिक्षाको बजेट कटौती गर्दै गएको छ । सम्बद्ध शाखाले तीन करोड बजेट माग गरेकोमा ३३ लाखमात्र छुट्याइएको हो ।
नेपालगन्ज भित्रका सामुदायिक प्राथमिक विद्यालयको भौतिक पुर्वाधार र शैक्षिक गुणस्तर दयनीय अवस्थामा रहँदापनि स्थानीय सरकारले त्यसका लागि बजेट दिनेबारे योजना बनाउने भन्दा भएकै बजेटपनि कटौती गर्दै गएको हो । प्रायः विपन्न अभिभावकका बालबालिका अध्ययन गर्ने सामुदायिक विद्यालयमा विद्यार्थीहरुको संख्या न्यून छ, भएकै विद्यार्थीहरु पनि नियमित विद्यालय आउँदैनन । तर, त्यसको सुधारमा सरकारी योजना खासै प्रभावकारी देखिएको छैन ।
१६ वटा प्राथमिक विद्यालय रहेको उपमहानगरका प्राय सबै विद्यालयमा भौतिक पूर्वाधार पनि पर्याप्त छैनन् । शैक्षिक स्तर सुधार्न शिक्षामा लगानी बढाउनुपर्ने माग उठिरहेको छ ।
समुदायको बेवास्ताका कारण सामुदायिक विद्यालयहरुको शैक्षिक स्तर झन ओरालो लाग्दै गएको शिक्षा सम्बद्धहरु बताउँछन् । यस्तोमा स्थानीय सरकार पनि शिक्षामा गम्भीर नरहेको तथ्यले देखाएको हो ।
नेपालगन्ज उपमहानगरपालिकाले गत आर्थिक वर्ष २०७५÷७६ को तुलनामा चालु आर्थिक वर्ष २०७६÷७७ मा शिक्षा क्षेत्रको बजेटमा करिब २५ प्रतिशत कटौति गरेको छ । गत आर्थिक वर्षमा ४० लाख बजेट छुट्याएको उपमहानगरपालिकाले यस आर्थिक वर्षमा ३३ लाख मात्रै बजेट छुट्याएको नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको तथ्यांकले देखाएको छ । जुन कुल बजेटको ०.१४४ प्रतिशत मात्रै हो । त्यसैमाथि यसवर्ष शिक्षाको बजेटको आधा हिस्सा अर्थात १५ लाख रुपैयाँ साक्षरता अभियानका लागि मात्रै छुट्याइएको छ । नगर शिक्षा शाखाका अनुसार, नगरलाई साक्षर घोषणा गर्ने लक्ष्यका साथ सो बजेट छुट्याइएको हो ।
१५ लाख रुपैयाँँबाट प्रौढ कक्षा र सारक्षताका कार्यक्रमहरु सन्चालन गरिने नगरको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख गोर्खबहादुर थापाले जानकारी दिए । शिक्षा शाखाले नगर कार्यपालिकालाई ३ करोड बजेट शिक्षामा छुट्याउन सुझाव दिएको थापाको भनाइ छ । तर, नगरसभाबाट पास भई आउँदा मागको ११ प्रतिशत मात्रै आएको छ ।
यसवर्ष सामुदायिक विद्यालयको शैक्षिक स्तर सुधारतिर लक्षित नगरको बजेटमा विद्यालय मर्मत सुधारका लागि २ लाख र उत्कृष्ठ शिक्षक र विद्यार्थीलाई पुरस्कारका लागि १ लाख मात्रै छ । अन्य शिर्षकमा विद्यालय खानेपानी तथा सरसफाईका लागि ५० हजार, नगर शिक्षा योजना निर्माणका लागि १ लाख रुपैयाँँ छुट्याइएको छ । बजेटको अधिकांश हिस्सा बैठक तथा तालिमका लागि छुट्याइएको छ । लेखा तालिमका लागि १ लाख, कक्षा ८ को परीक्षा व्यवस्थापन खर्च १ लाख, प्रधानाध्यापक बैठक खर्च ५० हजार र अनुगमन खर्चका लागि १ लाख छुट्याइएको छ । यसैगरि, शैक्षिक सुचना प्रणाली व्यवस्थापनका लागि ३ लाख, नतिजा विश्लेषणका लागि १ लाख, अतिरिक्त क्रियाकलापका लागि २ लाख, मेयर कप प्रतियोगिताका लागि ३ लाख रुपैयाँ छुट्याइएको तथ्यांकले देखाउँछ ।
गतवर्ष पनि प्रधानाध्यापक बैठकमा १ लाख, कार्यक्रम सन्चालन र व्यवस्थापनमा १ लाख, जिल्ला स्तरिय परीक्षा व्यवस्थापनमा १ लाख, कार्यालय सन्चालनमा १ लाख, सुचना प्रविधि जडानमा ३ लाख, व्यवस्थापन समिति अध्यक्षको तालिममा १ लाख, लेखा व्यवस्थापन तालिममा १ लाख ५० हजार खर्च भएको थियो ।
विद्यालयको शैक्षिक स्तर सुधारमा नगरपालिकाबाट यसवर्षभन्दा गतवर्ष बढि रकम छुट्याइएको थियो । गतवर्ष कक्षा कोठा मर्मत सम्भारमा ९ लाख, सेनेटरी प्याड वितरणमा १ लाख, कक्षा कोठा व्यवस्थापनमा ५ लाख, खेल्दै सिक्दै केन्द्रमा २ लाख, लोपोन्मुख तथा पछाडि परेका समुदायको लागि शैक्षिक कार्यक्रममा १ लाख, प्रारम्भिक बालविकास केन्द्रलाई व्यवस्थापनमा ५० हजार र अतिरिक्त कृयाकलापमा २ लाख १० हजार खर्च भएको तथ्यांक छ ।
यसैगरि, हाजिरिजवाफ प्रतियोगितामा २ लाख, सुचना र सन्चारमा ३ लाख ५० हजार, वार्षिक क्यालेन्डर निर्माणमा ५० हजार, अनुगमनमा ३ लाख खर्च भएको थियो भने गतवर्ष स्थानीय भाषामा पाठ्यक्रम बनाउनका लागि छुट्याइएको ९० हजार रुपैयाँ भने खर्च हुन सकेन । पाठ्यकक्रम निर्माण गर्ने योजना बजेट नपुगेपछि पुरा नभएको शिक्षा शाखा प्रमुख थापाले बताए ।
नगर शिक्षा समितिका संयोजक समेत रहेका नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवलसमशेर राणा विद्यालयका लागि ठुलो बजेट माथिल्ला सरकारहरुबाट पनि आउने भएकोले उपमहानगरपालिकाले कम छुट्याएको तर्क गर्छन ।
‘शिक्षामा हामीले मात्रै नभई माथिल्ला सरकारहरुले पनि बजेट छुट्याउँछन, विशेषगरि ठुला योजनामा माथिबाटै बजेट आउने हुँदा हामीले सकेको बजेट छुट्याएका हौ’, डा. राणाले दैनिक नेपालगन्जसँग भने । स्थानीय स्तरबाट आएका मागहरु मध्ये नगरसभाले नै छानेका योजनाहरु बजेटमा आएको उनको भनाइ छ । उनले थप बजेट वडास्तरबाट पनि परिचालन भइरहेकाले समग्रमा ठुलो बजेट विनियोजन भएको बताए ।
वडा तहबाट ६ प्रतिशत बजेट शिक्षा क्षेत्रमा
वडा तहबाट भने १ करोड ८१ लाख ८३ हजार रुपैयाँ शिक्षा क्षेत्रमा छुट्याइएको उपमहानगर विकास योजना किताबको विवरणले देखाउँछ । यो रकम वडामार्फत छुट्याइएको २९ करोड २२ लाख २७ हजार बजेटसँग तुलना गर्दा कुल बजेटको ६ दशमलव २२ प्रतिशत हुन आउँछ । वडा तहका धेरैजसो शिक्षा केन्द्रित बजेट पनि शैक्षिक सामग्री वितरण केन्द्रित छन भने कतिपय वडाले राम्रै बजेट सामुदायिक विद्यालयका लागि छुट्याएका छन् ।
वडा नं. १२ मा सबैभन्दा बढि बजेट
नेपालगन्ज उपमहानगरपालिका वडा नं. १२ ले यस आर्थिक वर्षमा २९ लाख ९८ हजार रुपैयाँ बजेट शिक्षाका शिर्षकमा छुट्याएको छ । यसवर्ष वडालाई कुल बजेट १ करोड ३६ लाख २६ हजार रुपैयाँ प्राप्त भएको थियो । तुलनात्मक रुपले हेर्दा शिक्षा तर्फको बजेट वडाको कुल बजेटको २२ प्रतिशत हो ।
वडा नं. १२ ले शिक्षा क्षेत्रलाई नै लक्षित गरेका शिर्षकहरुमा बागेश्वरी आधारभुत विद्यालय निर्माणमा २५ लाख ३३ हजार, वागेश्वरी आधारभुत विद्यालय शिक्षक पारिश्रमिकका लागि १ लाख ८० हजार, बागेश्वरी आधारभुत विद्यालय कार्यालय सहयोगीलाई पारिश्रमिक २४ हजार, बालविकास केन्द्र सहजकर्ता थप पारिश्रमिकमा १ लाख ८ सय रहेका छन् । यसैगरि वडाले बालविकास केन्द्र शैक्षिक सामग्री वितरणमा ७५ हजार, बाल्मिकी आधारभुत विद्यालयमा शैक्षिक क्रियाकलापका लागि ५० हजार, बाल्मिकी आधारभुत विद्यालय थप पारिश्रमिकका लागि ३६ हजार छुट्याईएको छ ।
वडाध्यक्ष बुद्धिसागर सुवेदीले वडामा रहेका दुईवटा विद्यालयलाई गाभ्ने उदद्ेश्यले ठुलो बजेट छुट्याइएको जानकारी दिए । बागेश्वरी र वाल्मिकी आधारभुत विद्यालयलाई गाभ्ने तयारी भइरहेको उनले बताए । ‘वाल्मिकीमा विद्यार्थी पनि कम र ठाउँ पनि साँघुरो भएकोले त्यो योजना ल्याइएको हो’ वडाध्यक्ष सुवेदीले दैनिक नेपालगन्जसँग भने । बागेश्वरी आधारभुत विद्यालय निर्माणमा छुट्याइएको २५ लाख ३३ हजार रकम त्यसकै लागि भएको सुवेदीको भनाइ छ ।
बागेश्वरी आधारभुत विद्यालयमा अल्पसंख्यक चिडिमार समुदायका बालबालिका अध्ययन गर्छन् ।
वडा नंं. १२ पछि बढि शिक्षामा बजेट छुट्याउने वडा नं. २० छ । वडा नं. २० ले कृषि प्राविधिक शिक्षाका लागि १५ लाख, विद्यालय स्तरिय खेलकुदका लागि ५ लाख, आदर्श माविको वाल निर्माण र माटो पटानका लागि ५ लाख र वालविकास केन्द्रको भवन मर्मत गर्न ८७ हजार छुट्याएको छ । यसपछि वडा नं. १६ ले जयसपुर आधारभु्त विद्यालयलाई भवन निर्माण र जग्गा खरिदका लागि १६ लाख एवं स्टेशनरी र व्यागका लागि १ लाख ७५ हजार गरि १७ लाख बजेट छुट्याएको छ ।
वडा नं. १९ ले बालविकास केन्द्र निर्माण र मर्मतका लागि ९ लाख, कन्ठिपुर स्कुलको पंखा खरिद र बाउन्ड्री निर्माणका लागि २ लाख ५० हजार र फुटाहा स्कुलको भवन निर्माणका लागि २ लाख गरि जम्मा १३ लाख रुपैयाँ बजेट शिक्षा क्षेत्रमा छुट्याएको छ ।
यसैगरि, वडा नं. २ ले सामुदायिक विद्यालय पुर्वाधार कार्यक्रम ८ लाख, बालबालिका सहयोग कार्यक्रमका लागि १ लाख र अंग्रेजी भाषा सिकाई र कम्प्युटर तालिमका लागि १ लाख रुपैयाँ छुट्याएको छ भने वडा नं. ३ ले मस्जिद र स्कुलको लागि जेनेटर खरिद गर्न ७ लाख एवं गरिब बालबालिकालाई कम्प्यु्टर तालिम दिन १ लाख ५८ हजार ५ सय ३८ रुपैयाँ छुट्याएको छ ।
वडा नं. १८ ले मावि लग्दहवाको सटर निर्माणका लागि ८ लाख रुपैया बजेट छुट्याएको छ । ‘हामी आउनु अघिको तुलनामा बजेट बढाउँदै गएका छौं,’ वडाध्यक्ष दीपक बर्माले सिमित बजेटमा वडाका आवश्यकता सम्बोधन चुनौतीपूर्ण रहेको जनाउ दिंदै भने, ‘माग र आवश्यकताका आधारमा बजेटको व्यवस्थापन गरिरहेका छौं ।’ वडा नं. १३ ले अरुण आधारभुत विद्यालय बाउन्ड्री निर्माणका लागि ६ लाख र बालविकास केन्द्र मर्मत एवं पुस्तक सामग्री वितरणका लागि १ लाख ७५ हजार बजेट छुट्याएको छ ।
वडा नं. ७, ९ र १० मा सबैभन्दा कम बजेट
वडा नं. ७ ले मुस्लिम र वादी बालबालिकाको छात्रवृत्तिका लागि ५० हजार र शैक्षिक सामग्री वितरण १ लाख बजेट मात्रै छुट्याएको छ । यस्तै, वडा नं. ९ ले पुस्तक तथा सामग्री वितरणका लागि १ लाख ५० हजार बजेट पाएको छ भने वडा नं. १० ले कम्प्युटर तालिमका लागि १ लाख र सामुदायिक विद्यालयका विद्यार्थीलाई झोला तथा स्टेशनरी वितरण ५० हजार छुट्याएको छ ।
यी तिनै वटा वडाको शिक्षा तर्फको बजेट डेढ–डेढ लाख मात्रै छुट्याएका छन् । जुन अन्य वडाको तुलनामा सबैभन्दा कम हो । यसपछि कम बजेट छुट्याउनेमा वडा नंं.३ छ । उक्त वडाले गरिब र विपन्न बालबालिकालाई कम्प्युटर तालिमका लागि १ लाख ५८ हजार ५ सय ३८ रुपैया छुट्याएको छ । यसैगरि वडा नंं. २३ ले बालबालिकालाई ड्रेस स्टेशनरी सामग्री वितरणका लागि भन्दै २ लाख मात्रै छुट्याएको छ । वडा नंं. ४ ले छात्र छात्रालाई सामग्री र उत्कृष्ठ विद्यार्थी खेलाडीलाई सम्मान गर्न १ लाख र सल्यानीबागको आधारभुत विद्यालयलाई १ लाख १५ हजार ६ सय रुपैयाँ छुट्याएको छ ।
यता, वडा नं. १७ ले साक्षरता गाउँटोल कक्षा सन्चालन गर्न २ लाख र बालविकास केन्द्रलाई कुर्सी र शैक्षिक सामग्री, कार्पेट प्रदान गर्न ५० हजार बजेट छुट्याएको उपमहानगरपालिकाको योजना किताबले देखाउँछ । वडा नं. ५ ले विभिन्न शिर्षमा गरि शिक्षाकै लागि साढे ६ लाख, वडा नंं. ६ ले ३ लाख, वडा नं. ८ ले ४ लाख ६५ हजार, वडा नं. ११ र १४ ले ३ लाख, वडा नंं. १५ ले ४ लाख छुट्याएका छन् । यसैगरि, वडा नं. २१ ले ४ लाख २० हजार, वडा नंं २२ ले ४ लाख २५ हजार बजेट छुट्याएका छन् ।
उपमहानगरपालिकाकाले शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्ने माग शिक्षा सम्बद्धहरुको छ । वडा नं. २ स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयकी प्रधानाध्यापक नीरा श्रेष्ठ भन्छिन्, ‘अहिलेको बजेटले सामुदायिक विद्यालयको खास समस्यालाई सम्बोधन गर्न सकेको छैन ।’
हुनपनि सामुदायिक विद्यालयमा आउने जति सबै बालबालिका अरु विद्यालयमा पढाउन नसक्ने विपन्न अभिभावकका छोराछोरी छन् । उनीहरुलाई स्कुलमा नियमित गराउनु र माथिल्लो कक्षासम्म टिकाईराख्नु चुनौति छ भने विद्यालयको भौतिक पुर्वाधार पनि स्तरोन्नती गर्नु आवश्यक छ । ‘त्यसका लागि ठुलो बजेट शिक्षा क्षेत्रका लागि छुट्टिनुपर्छ,’ नीरा भन्छिन्, ‘सामुदायिक विद्यालयमा समुदायको चासो बढाउन पनि शिक्षा तर्फको लगानी बढाउनुपर्छ ।’ तर, वडा नं. २ का अध्यक्ष सुनिल सिंह हमाल कम विद्यार्थी भएका विद्यालयहरुलाई गाभेर एकमुष्ट लगानी गरि शैक्षिक स्तर सुधार्ने वडाको प्रयासमा समुदायको साथ नपाइएको गुनासो गर्छन् ।
‘हामीले वडाका दुईवटा सामुदायिक विद्यालयलाई गाभेर नमुना विद्यालय बनाउने प्रयास गरेका हौँ, त्यसमा समुदायकै साथ पाइएन,’ आफुले प्रयास जारी राखेको जानकारी दिंदै वडाध्यक्ष हमालले दैनिक नेपालगन्जसँग भने, ‘अहिलेलाई आवश्यक भएका विद्यालयमा भौीतक सुधारका लागि भ्याएको बजेट छुट्याइएको छ ।’
नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. राणा शिक्षा समितिले सामुदायिक विद्यालयको वास्तविक समस्या र तिनको समाधानका उपायहरु केलाइरहेको बताउँछन् । यसवर्ष नगर शिक्षा योजना निर्माणका लागि १ लाख रुपैयाँँ छुट्याइएको छ । योजना निर्माणपछि सामुदायिक विद्यालयको सुधारका दिर्घकालिन कार्यक्रमहरु सन्चालन गरिने उनको भनाइ छ ।








