‘मानसिक रोग नियमितको उपचार पछि निको हुन्छ’ – विज्ञ

नियमितको औषधी उपचार र मनोपरामर्शले कडा भन्दा कडा खालको मानसिक रोग समेत निको हुने सो सम्बन्धी विज्ञहरुले बताएका छन् ।
मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र–नेपाल (सी.एम.सी–नेपाल) ले सुदुरपश्चिम प्रदेशको राजधानीमा कार्यरत संचारकर्मीहरुलाई मानसिक स्वास्थ्यको क्षेत्रमा रिर्पोटिङ गर्नका लागि आवश्यक आधारभुत जानकारी सहित राखिएको अन्र्र्तक्रियात्मक छलफल कार्यक्रममा विज्ञहरुले सो कुरा बताएका हुन् ।
मानसिक स्वास्थ्य समस्या अहिले नेपालको निम्ती समेत विकराल रुप लिदैं गर्दा जनतालाई यसको भ्रम निवारण गर्दै मानसिक समस्या मनोचिकित्सक वा तालिम प्राप्त स्वास्थकर्मी कहाँ जाँच गराई नियमित औषधी सेवन गरी मनोपरामर्श सेवा लिएमा निको हुन्छ भन्ने जनचेतना जगाउने अभिप्रायले कार्यक्रमको आयोजना गरीएको संस्थाले जनाएको छ ।
सी.एम.सी नेपालका कार्यक्रम अधिकृत एंव मिडिया फोकल पर्सन हिमाल गैरेका अनुसार मानसिक स्वास्थ्य उपचारका बारेमा धेरै जनताले आवश्यक जानकारीको अभाव हुँदा निकै कष्ठकर दैनिकी जीउनुका साथै ‘बदनामी’ को डरले अझै खुल्न सकेका छैनन् । ‘सामाजिक रुपमा अपहेलित हुने डरले उपचारको बहानामा भारत जाने चलन अझै छ र फलस्वरुप लाखौं पैसा उता बाहिरीनु दुःखद पक्ष हो । अहिले नेपालमा पनि मानसिक स्वास्थ्य सेवाको उपचार निकै कम खर्चमा हुन्छ ।’ उनले दैनिक नेपालगन्जलाई बताए ।
मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिलाई समाजले नराम्रो नजरले हेर्दा पनि उपचार गर्न खुल्न नसकेको सी.एम.सी नेपालका मानसिक स्वास्थ्य संयोजक विष्णु प्रजापतिको भनाई छ । ‘पुर्वजन्मको पाप, यो रोग निको हुँदैन, मानसिक रोग सरुवा रोग हो’ लगायतका भ्रम समाजमा अझै व्याप्त रहेका कारण पनि यो झन् विकराल बन्दै गएको प्रजापतिले जिकिर गरे ।
“हामीसंग धेरै मान्छेहरुले मानसिक रोगको उपचार पश्चात ठिक भएका उदाहरणहरु छन् । तर उपचार नियमित र मनोपरामर्श आवश्यक पर्दछ” कार्यक्रममा बोल्दै उनले भने । “तर यस कार्यमा परिवार र समुदायको सकरात्मक भुमिका महत्वपुर्ण हुन्छ ।”
सी.एम.सी नेपालमा कार्यरत मनोविद् मधुविलास खनालले पनि सुखि नेपाली संमृद्ध नेपालको महाअभियान सार्थक बनाउन मानसिक स्वास्थ्यको क्षेत्रमा राज्यकोे लगानी वृद्धि गर्नुपर्नेमा जोड दिए ।


“आजका बालबालिका भोलिका कर्णधार हुन, विद्यालय मानसिक स्वास्थ्यमा गरिने अधिकतम लगानीले मात्रै बालबालिकामा सकरात्मक सोंचको विकास भई राज्यको भविष्य उज्वल हुनसक्छ” मनोविद् खनालको तर्क छ । भौतिक संरचनागत विकासमा लागि परेको अहिलेको विकास मानसिक सुस्वास्थ्य बिना संभव नहुने उनले बताए ।
“यो भ्रम निवारण गरी मानसिक स्वास्थ्यको उपचारमा मानसिक रोगीहरुलाई सेवा विस्तार गर्नका लागि पनि संचारकर्मीको उल्लेख्य भुमिका हुन्छ” गैरेले बताए ।

प्रतिक्रिया

प्रतिक्रिया