पोखरा महानगरपालिकाले यस वर्ष किसानलाई सात हजार ५०० किलोग्राम धानको बीउ वितरण गर्ने भएको छ।

किसानहरूबाट माग सङ्कलन गरेको महानगरपालिकाले ५० प्रतिशत अनुदानमा बीउ उपलब्ध गराउन लागेको कृषि विकास शाखाका प्रमुख मनहर कडरियाले जानकारी दिए। उनका अनुसार महानगरभित्रका एक हजारभन्दा बढी किसानहरूबाट २१ हजार किलोग्राम धानको बीउ माग गरिएको भए पनि सोहीअनुसार आपूर्ति गर्न भने सम्भव नभएको छ।
पोखरामा विशेषगरी ‘पोखरेली जेठो बुढो’ जातको धानको माग अत्यधिक रहेको उनले बताए। महानगरपालिकाले वितरण गर्न लागेको बीउमध्ये दुई हजार किलोग्राम राम धान रहेको छ भने बाँकी ‘पोखरेली जेठो बुढो’ जातको बीउ रहेको जानकारी दिइएको छ।
महानगरपालिकाले स्थानीय किसानबाट प्रतिकिलो दुई सय रुपैयाँमा धानको बीउ खरिद गरी ५० प्रतिशत अनुदानमा एक सय रुपैयाँमा किसानलाई उपलब्ध गराउँदै आएको छ। किसानलाई धानको बीउ उत्पादनमा प्रोत्साहन गर्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको कडरियाले बताए।
महानगरभित्र वडा नं. १३, २३, २६, २९ र ३० का किसानहरूले बीउ उत्पादन गरिरहेका छन्। साथै, स्थानीय ‘अनदी’ र ‘पहेँले’ जस्ता जातको संरक्षणका लागि जैविक स्रोत संरक्षण अभियानमार्फत उत्पादित बीउसमेत किसानलाई उपलब्ध गराइँदै आएको शाखाले जनाएको छ।











