विपत् व्यवस्थापनसम्बन्धी गतिविधिको समीक्षा, प्रतिकार्य क्षमता अभिवृद्धि तथा सरोकारवाला निकायबीच समन्वय र सहकार्यलाई प्रभावकारी बनाउने उद्देश्यले नेपाली सेनाले सञ्चालन गर्दै आएको ‘अभ्यास हातेमालो’ को आठौँ संस्करण सुरु भएको छ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार जङ्गी अड्डामा आयोजित कार्यक्रममा युद्धकार्य महानिर्देशक उपरथी अनुपजङ्ग थापाले अभ्यासको औपचारिक शुभारम्भ गर्नुभएको हो। कार्यक्रममा विपत् व्यवस्थापनसँग सम्बन्धित विभिन्न मन्त्रालय, सरकारी निकाय, राष्ट्रिय तथा नेपालस्थित अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
नेपाली सेना र गृह मन्त्रालयको समन्वयमा सञ्चालन हुँदै आएको उक्त अभ्यास आर्थिक वर्ष २०७५/७६ मा प्रदेश तहमा पहिलोपटक सञ्चालन गरिएको थियो। त्यसयता जङ्गी अड्डामा हरेक वर्ष नियमित रूपमा अभ्यास हुँदै आएको सेनाले जनाएको छ।
यस वर्षको अभ्यास मनसुनजन्य विपत्मा केन्द्रित रहेको छ। विशेषगरी बाढी, पहिरो तथा अन्य प्राकृतिक विपत्का सम्भावित घटनामा उद्धार, राहत, समन्वय र प्रतिकार्यलाई थप प्रभावकारी बनाउने लक्ष्यसहित अभ्यास सञ्चालन गरिएको हो।
तीन दिनसम्म सञ्चालन हुने यस अभ्यासलाई आगामी दिनमा क्रमिक रूपमा प्रदेश तथा जिल्ला तहसम्म विस्तार गर्ने योजना रहेको जनाइएको छ। नेपालमा हरेक वर्ष मनसुनका समयमा बाढी, डुबान र पहिरोका कारण ठूलो जनधनको क्षति हुने भएकाले यस्तो अभ्यासको महत्त्व अझ बढ्दै गएको छ।











