कोहलपुरमा ‘जनतासँग मेयर’

कोहलपुर नगरपालिकाले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटेर जनताका समस्या, गुनासा र सुझाव सुन्न ‘जनतासँग मेयर’ कार्यक्रम सञ्चालन गरेको छ ।


कोहलपुर नगरपालिकाको जनता र जनप्रतिनिधिलाई जोड्ने कार्यक्रम ‘जनतासँग मेयर’को नगरपालिकाका पन्ध्र वटै वडामा चल्ने नगरपालिकाले जनाएको छ ।

त्यसक्रममा शनिवार वडा नम्बर १५ मा पुगेका नगर प्रमुख पूर्ण आचार्यले स्थानीयबासीको उठाएका समस्याप्रति नगरपालिका गम्भीर रहेको बताए । उनले कोहलपुर नगरपालिकालाई समृद्ध बनाउने गरी आफूहरु लागि परेको स्पष्ट पारे ।


कोहलपुर नगरमा सन्तुलित विकास गर्ने आफ्नो योजना भएकाले वडा नम्बर १५ लाई पनि समृद्ध बनाउनतर्फ आफू लागेको धारणा राख्दै नगर प्रमुख आचार्यले विकासमा पछि पारिएको वडा आफ्नो प्राथमिकतामा रहने बताए । ‘वडा कार्यालयदेखि नगरपालिकासम्म पुग्ने बाटो कालोपत्रे हुनैपर्छ, अन्य बाटोहरुको पनि स्तर बृद्धि हुन्छ । कुनै वडा समृद्ध हुँदा कुनै वडामा समस्या नै समस्या भन्ने हुँदैन । सबै वडाको सन्तुलित विकास हुन्छ ।’


नगरप्रमुख आचार्यले ठेक्का लिएर समयमा निर्माणको काम पूरा नगर्ने ठेकेदारमाथि कारवाही हुने समेत चेतावनी दिंदैे अबको पाँच वर्षभित्र कोहलपुर नगरपालिकाभित्रका सामुदायिक विद्यालय छानामुक्त बनाउने नगरपालिकाको योजना रहेको बताए ।


वडा अध्यक्ष दिपेन्द्र चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्देश्यबारे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले प्रकाश पारेका थिए । कार्यक्रममा नगरपालिकाका आर्थिक विकास समिति संयोजक अनिता बुढा, नेपाल राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वनाथ थारु लगायतले आ–आफ्नो धारणा राखेका थिए ।


स्थानीय राजनीतिक दल, समाजसेवी, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि, नागरिक समाज, बुद्धिजिवी, टोल विकास संस्था, शिक्षक लगायतको उपस्थितिमा कार्यक्रम गरिएको कोहलपुर नगरपालिकाका प्रवक्ता नम बहादुर आलेले जानकारी दिए । त्यसक्रममा स्थानीयबासीहरुले विकास निर्माणका सवालमा स्थानीय सरकारले गरिरहेका कामहरुको बारेमा चासो राखेका थिए । उनीहरुले आफ्नो वडामा सडक निर्माण, गुणस्तरीय शिक्षा र स्वास्थ्यमा सुधार ल्याउने गरी कार्यक्रम गर्न नगरपालिकालाई सुझाएका थिए ।


कार्यक्रममा सहभागीहरुले आफ्नो वडाका अधिकांश मानिसहरु कृषि कर्ममा रहेकाले उनीहरुलाई समेट्ने गरी नीतिगत व्यवस्था गर्न उनीहरुले माग गरेका थिए ।


स्थानीय दयाराम विकले कृषिमा अनुदान पहुँचवालाहरुले मात्रै पाउने भएकाले त्यसतर्फ ध्यान दिन सुझाव दिए । उनले बास्तविक किसानहरुलाई सहयोग पुग्ने खालका कार्यक्रम गर्न आग्रह गरे । यस्तै अर्का स्थानीय धर्मबहादुर बुढा क्षेत्रीले किसानले समयमै सहज मल तथा विउविजन पाउने व्यवस्था मिलाउन आग्रह गरे । उनले वडाबाटै मल तथा विउविजन वितरणको व्यवस्था मिलाएर किसानलाई सहज बनाउन आग्रह गरे ।

त्यस्तै अन्य स्थानीयबासीहरुले चौधरिया चोकदेखि ताराको घरसम्म जाने बाटो अलपत्र पारिएको विषयमा नगर प्रमुख आचार्यको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया

प्रतिक्रिया