
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशनको काम अन्तिम चरणमा पु¥याएको छ । बोर्डका अनुसार अहिले विभिन्न जिल्लाबाट प्राप्त प्राप्ताङ्क रुजु गरेर कम्प्युटरमा प्रविष्ट गर्ने काम सकिएको छ । कुनै जटिल प्राविधिक समस्या आएन भने ढिलोमा मङ्गलबारसम्ममा नतिजा प्रकाशन गरिने बोर्डले जनाएको छ । विगतमा परीक्षा सकिएको तीन महिनाभित्र नतिजा प्रकाशन गर्ने गरेको बोर्डले यस पटक भने एक महिनाभित्रै नतिजा सार्वजनिक गर्न लागेको हो । एसइई गत चैत २९ गते सकिएको थियो ।
बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) टुकराज अधिकारीले भन्नुभयो, “परीक्षा सकिएको मितिले एक महिनाभित्र नतिजा प्रकाशन गर्ने हाम्रो लक्ष्य हो । त्यस हिसाबले भन्ने हो भने वैशाख २९ भित्र नतिजा सार्वजनिक गर्ने गरी काम गरिरहेका छौँ ।” अहिलेसम्मको कार्यप्रगति हेर्दा लक्ष्य अनुसार नै काम हुने अधिकारीले बताउनुभयो । नयाँ सरकार गठनपछि सुरु भएको एसइईको नतिजा सुरुमा १५ दिनभित्रै सार्वजनिक गर्ने विषयमा पनि छलफल भएको थियो । निकै हतार गर्दा समस्या आउन सक्ने देखिएकाले बढीमा एक महिनाभित्र सार्वजनिक गर्ने विषयमा मन्त्रालय र बोर्डका अधिकारीबिच छलफल भएको थियो ।
नतिजा प्रकाशनलाई छरितो बनाउन यस पटक एसइईको उत्तरपुस्तिका परीक्षा केन्द्रमै परीक्षण गरिएको थियो भने उत्तरपुस्तिका परीक्षण गर्न जनशक्ति पनि धेरै खटाइएको थियो । एसइई चैत १८ देखि २९ गतेसम्म सञ्चालन भएको थियो । परीक्षामा सहभागी हुन मुलुकभरबाट पाँच लाख १२ हजार ४२१ जनाले फाराम भरेका थिए । तीमध्ये कति जना परीक्षामा सहभागी भए भन्ने यकिन तथ्याङ्क नतिजा सार्वजनिक भएको दिन मात्रै थाहा हुने छ । फाराम भरेकामध्ये दुई लाख ५७ हजार ६१३ जना छात्रा र दुई लाख ५४ हजार ८०१ जना छात्र छन् ।











