नेपालगन्जमा नाथम कलेज पहलः सुरु हुनै नदिने चलखेल

नेपालगन्ज होटल तथा पर्यटन क्षेत्रमा हब बनिरहँदा योग्य जनशक्ति उत्पादनका लागि सञ्चालनमा आउन लागेको पर्यटन तथा होटल व्यवस्थापन अध्ययन प्रतिष्ठान नेपाल (नाथम) को स्थापना प्रभावकारी हुन नदिन चलखेल आशंका गरिएको छ ।

दुई बर्षदेखि कार्यालय सञ्चालनमा रहेको नाथमले पर्यटन तथा होटल व्यवस्थापनमा कक्षा सञ्चालन ढिलो गरिरहँदा चलखेलको आशंका गरिएको हो । ‘त्रिभुवन विश्वविद्यालयले सम्बन्धन नै नदिएर सुरुवाती चलखेललाई प्रश्रय दियो’, नेपालगन्जमा नाथम उपयुक्त हुने सुझाव कार्यदलका सदस्य नाट्टाका तत्कालीन अध्यक्ष अच्यूत गुरागाईले
दैनिक नेपालगन्जसँग भने, ‘अहिले आएर काठमाडौं युनिभर्सिटिसँग सम्बन्धन लिनु परेको छ ।’

पश्चिम नेपालमै नाथम कलेजका लागि नेपालगन्ज उपयुक्त हुने कार्यदलले सुझाव दिएपछि नाट्टा बाँके च्याप्टरले त्यसको अपनत्व लिंदै जग्गाका लागि स्थानीय सरकारसँग पहल लिएको थियो । ‘अन्य ठाउँमा मन्त्री, प्रधानमन्त्रीका जोरबलले कलेज स्थापना भए’, नेपाल सरकार, पर्यटन मन्त्रालयको नाथम अध्ययन कार्यदलका तत्कालीन सदस्य गुरागाईले भने, ‘तर, नेपालगन्जका लागि भने कसैको सोर्स, फोर्स भन्दा हरेक दृष्टिकोणले यो ठाउँ उपयुक्त भएको निष्कर्ष हाम्रो हो ।’ तर, निर्णय कार्यान्वयन प्रक्रियामा नेपालगन्जमा नाट्टा, हान लगायत पर्यटन सम्बद्ध क्षेत्र बाहेकले नाथमको महत्व नबुझेको उनको टिप्पणी थियो ।

‘नेपालगन्जमा नाथम स्थापना नहोस् भनेर चलखेल भैरहेको छ’, पहलकर्ता नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले ‘त्यसको प्रभावमा त्रिभुवन विश्वविद्यालयका जिम्मेवार पदाधिकारी समेत संलग्न रहेको’ आरोप लगाउँदै भने, ‘लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा रहेका उनीहरुको लगानीका निजी कलेजलाई नोक्सान हुने निष्कर्षमा शैक्षिक माफियाहरु चलखेल गरिरहेका छन् ।’

अध्यक्ष सिग्देलले नाथम कलेज नेपालगन्जमा सञ्चालन गरिंदा बार्षिक ६ सय ४० एकेडेमिक तर्फका विद्यार्थी र सयौं ननएकेडेमिक प्रशिक्षार्थीहरुले प्रत्यक्ष लाभ लिनसक्ने औंल्याउँदै दैनिक नेपालगन्जसँग भने, ‘यसबाट नेपालगन्जले मात्रै होइन तीन वटै प्रदेशले होटल तथा पर्यटनका क्षेत्रमा दक्ष जनशक्ति पाउँछन् ।’ उनको भनाइ छ, ‘सरकारी स्तरबाट पर्यटन तथा होटल म्यानेजमेन्टमा उच्च शिक्षा हासिल गर्दा विश्व श्रम बजारमा प्रत्यक्ष लाभ लिन सक्छन् ।’

नाट्टा निवर्तमान अध्यक्ष गुरागाईका अनुसार, नाथम कलेजबाट उच्च शिक्षा लिएका विद्यार्थीहरुलाई विश्वका स्तरीय पर्यटन तथा होटल प्रतिष्ठानले रोजगारीमा सहजै लिने गरेका छन् । ‘नेपालगन्जलाई पर्यटकीय हब मानिरहँदा यहाँका सानादेखि तारे होटलसम्मलाई दक्ष जनशक्ति पनि सहज उपलब्धता हुन्छ’, वरिष्ठ पर्यटन व्यवसायी गुरागाईले भने, ‘ननएकेडेमिक टे«निङ्ग समेत सञ्चालन हुने भएकाले स–साना हस्पिटालिटि सेन्टरले पनि लाभ लिन सक्छन् ।’

नाट्टा बाँके च्याप्टरका अध्यक्ष सिग्देलले सरकारको पूर्ण स्वामित्वको कलेज बाँकेमा स्थापना हुँदा एउटा जिल्ला मात्र नभई सिंगो पश्चिम क्षेत्रको पर्यटकीय विकासका लागि कोसेढुंगा साबित हुने तर्क गर्दछन् ।

‘यति महत्वपूर्ण संरचना नेपालगन्जमा बन्न लाग्दा यहाँका राजनीतिक दल, स्थानीय जनप्रतिनिधि र सरोकारवालाले पटक्कै चासो दिएनन्’, सिग्देलले निजी क्षेत्रबाट आफुहरु तात्तिएर मात्र नहुने गुनासो गर्दै भने, ‘मध्यपश्चिम विश्वविद्यालयका लागि टाउको फोड्न तयार भएका बाँकेबासी मुस्किलले यही आइसकेको नाथम कलेज अन्यत्र लैजान अनेक तिगडम हुँदा किन मौन ?’

पर्यटन मन्त्रालयले नाथम बोर्ड मार्फत राजधानी काठमाडौं बाहिर कलेज स्थापना गर्न सम्भाव्यता अध्ययन गरिएको थियो । त्यसक्रममा कार्यदलले नेपालगन्ज, बर्दिबास र बिर्तामोडमा कलेज स्थापना हुने उपयुक्त हुने सिफारिस गरेको थियो । ‘बर्दिबासमा यसैबर्षदेखि अध्ययन सुरु हुँदैछ’, कार्यदलका सदस्य गुरागाईले भने, ‘विडम्वना नेपालगन्जमा केही हुन सकेन ।’ नाट्टा अध्यक्ष सिग्देल भन्छन्, ‘यस्तै रह्यो भने नेपालगन्जमा कार्यालयमा खोलिसकेको नाथम नेताका पावरमा अन्यत्र सर्न सक्ने जोखिम देखिएको छ ।’

दुई बर्ष अघि नेपालगन्जमा नाथमले कार्यालय स्थापना गरेको थियो । नाथम नेपालगन्जका प्राचार्य विपिन नेपालका अनुसार, यो दुई बर्षमा जग्गा प्राप्ति नै उपलब्धी रह्यो । ‘जग्गा प्राप्तिको प्रक्रियाले समय लियो’, प्राचार्य नेपालले दैनिक नेपालगन्जसँग भने, ‘त्यसबाहेक बजेट कुर्ने र सम्बन्धन प्रक्रिया पहल लिने काम भयो ।’

नेपालगन्ज उपमहानगरपालिकाले नाथम कलेज सञ्चालनका लागि कार्यालय स्थापना गर्न अस्थायी रुपमा भवन उपलब्ध गराएको छ । ‘भवन अपर्याप्त भएकाले तालिम सञ्चालन गर्नपनि सकिएन’, नाथमका तत्कालीन बोर्ड सदस्य गुरागाईले भने, ‘न त पूर्वाधारका लागि स्थानीय सरकारबाट कुनै सहयोग हुनसक्यो ।’

नेपालगन्ज उपमहानगरपालिकाले नेपालगन्ज–१९ मा एक विगाह जग्गा उपलब्ध गराएको छ । ‘त्यही जग्गामा पनि विभिन्न धार्मिक समूहले दाबेदारी गरेकाले प्राप्ति प्रक्रिया लामो भयो’, नाट्टा बाँके च्याप्टर अध्यक्ष सिग्देल भन्छन्, ‘सबै धर्म, जात, वर्ग, सम्प्रदायका विद्यार्थीलाई उच्च शिक्षा उपलब्ध गराउने शैक्षिक संस्थाका लागि सबैको सहयोग आवश्यक छ ।’ उनले निश्चित धार्मिक समुदायले लिन खोजेको जग्गा नाथमलाई उपलब्ध गराउँदा सबैको भलो हुने तर्क गर्दै भन्छन्, ‘सबै सार्वजनिक जग्गा यसैगरी धार्मिक समूहहरुले चर्चिने हो भने नेपालगन्जमा विकासका पूर्वाधारहरु आउने सम्भावना रहँदैन ।’

विकासलाई धकेल्दै धार्मिक संस्था मात्रै खोल्दै जाने हो भने नेपालगन्जको भविष्य कहाँ जाला ? नाथमका लागि निरन्तर संघर्ष गरिरहेका पर्यटन व्यवसायीहरु भन्छन्, ‘विकास चाहने हो भने सार्वजनिक जग्गामा कब्जा मुक्त गरेर आवश्यक पूर्वाधारहरु आकर्षित गर्नुपर्छ ।’

नाथम नेपालगन्जका प्राचार्य विपिन नेपालले भदौ १ गते काठमाडौं विश्वविद्यालयबाट राजधानी बाहिरका तीन वटै कलेजलाई सम्बन्धन सम्झौता भएको जानकारी दिए । ‘बाँकेबासीको सकारात्मक सहयोग रह्यो भने छिट्टै नेपालगन्जमा पूर्वाधार निर्माण कार्य सुरु हुन्छ’, त्यसका लागि जग्गा प्राप्तिको कानुनी लडाई सकिएपछि सरकारले बजेट दिने विश्वास गर्दै प्राचार्य नेपालले भने, ‘सम्बन्धन प्रक्रिया पूरा भएकाले एकेडेमिक कक्षाको तयारी र नन एकेडेमिक कक्षा प्रारम्भ गर्न हाम्रो टिम लाग्छ ।’

बहस चलाउँदै नगरपालिका

नाथम कलेज सञ्चालनमा भएको ढिलाईलाई लिएर विभिन्न आशंका गरिरहँदा नेपालगन्ज उपमहानगरपालिकाले त्यसबारे बहस चलाउने भएको छ ।


नाट्टा बाँके च्याप्टरसँगको सहकार्यमा उपमहानगरपालिकाले शुक्रबार सरोकारवालाहरुसँग बहस सञ्चालन गर्न लागेको हो । ‘प्रतिष्ठान सञ्चालनका लागि भवन उपलब्ध गराइएको, भौतिक संरचनाका लागि जग्गा उपलब्ध गराइसकिएता पनि बजेट अभावका कारण भवन निर्माणको काम अगाडि बढ्न सकेको छैन ।’


नगर प्रमुख प्रशान्त विष्टले बहसमा सहभागिताका लागि सरोकारवालाहरुलाई पत्राचार गर्दै भनेका छन्, ‘सम्बन्धन प्राप्त गरिसकेपनि सम्बन्धित विषयमा अध्ययन, अध्यापनको कार्य प्रभावित भैरहेको सन्दर्भमा छलफल आयोजना गरिएको’ उल्लेख गरेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया