राजश्व अनुसन्धान कार्यालय कोहलपुरका कर्मचारीमाथि दुव्र्यवहार गरेको आरोपमा प्रहरी नियन्त्रणमा रहेका नेपालगन्ज उद्योग वाणिज्य संघका प्रवक्ता टंक धामीको अनुसन्धान प्रक्रियालाई प्रहरीले अगाडि बढाएको छ ।
प्रहरी नियन्त्रणमा रहेदेखि स्वास्थ्य समस्या देखाउँदै उपचारार्थ अस्पतालमा भर्ना भएका प्रवक्ता धामी आइतबार प्रहरी कार्यालय पुगेपछि अनुसन्धान प्रक्रिया अगाडि बढेको हो । ‘उहाँको स्वास्थ्य अवस्था राम्रो भएपछि बयानका लागि जिल्ला प्रहरी कार्यालय ल्याएका छौं’, बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले दैनिक नेपालगन्जसँग भने, ‘आइतबारदेखि नै बयान सुरु भएकाले दुई÷तीन दिनमा प्रक्रिया पूरा गरेर जिल्ला प्रशासन कार्यालयमा पठाइनेछ ।’
घटनालाई लिएर राजश्व अनुसन्धान कर्मचारीमाथि कुनै किसिमको कारवाही नगरी व्यापारीहरुमाथि मात्रै ज्यादती बढाइएको भन्दै आक्रोशित व्यवसायीहरुले नेपालगन्ज उद्योग वाणिज्य संघको प्रभावकारी भूमिका खोजेका छन् । ‘धामीलाई प्रहरी नियन्त्रणमा राखेर राजश्वले धमाधम छापा मार्नुले उद्योगी, व्यवसायीहरुको मनोबल गिराउने काम भैरहेको छ’, व्यवसायीहरुको भनाइ थियो, ‘त्यस विरुद्ध संघले ठोस नीति अख्तियार गर्न आवश्यक छ ।’
व्यवसायीहरुले घटनाको स्वतन्त्र छानबिन गरी राजश्व अनुसन्धान कर्मचारीले गरेको अनुचित असुली विरुद्ध कानुनी कारवाहीको माग गरिरहेका छन् । संघका महासचिव चिरञ्जीवि ओलीले मुठभेड निम्त्याएर भन्दा समन्वायत्मक भूमिकाबाट विद्यमान समस्याको समाधान खोज्ने प्रयास भैरहेको बताए । ‘हामीहरुकै पहल र प्रयासमा राजश्व विभागको केन्द्रीय टोलीलाई फिर्ता पठाइएको छ’, ओलीले दैनिक नेपालगन्जसँग भने, ‘हाम्रो सम्बन्ध एक, अर्काको पुरक भएकाले राज्यको विधि भित्र रहेर समस्या समाधान गर्ने तिर केन्द्रित छौं ।’