गाउँमा खुल्दै कागज उद्योग, स्थानीयसँग अन्तर्क्रिया

‘कम भन्दा कम प्रदुषण हुनेगरी उद्योग सञ्चालन गर्नुहोला’, स्थानीयबासीहरुको एउटै स्वर थियो, ‘बढी भन्दा बढी स्थानीयलाई रोजगारी दिनुहोला ।’

बाँकेको राप्तीसोनारी–२ महेन्द्रपुरमा कागज कारखाना स्थापनाको पहल सुरु गरेको एक्सीलेन्ट पेपर रिसाइकल कन्सर्न प्रा. लि. (प्रस्तावितः एक्सीलेण्ट पेपर मिल कम्पनी लि.) ले स्थानीय माझ पहिलो पटक अन्तक्र्रियात्मक छलफल आयोजना गरेको छ । मंगलबार महेन्द्रपुरका बासिन्दा, गाउँपालिका प्रमुख, वडाध्यक्ष, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सञ्चारकर्मीहरु बीच उद्योग सञ्चालक कम्पनीले अन्तक्र्रियात्मक छलफल आयोजना गरेको हो ।


छलफलमा सहभागी स्थानीयले ठूलो लगानीको उद्योग आफ्नो गाउँमा आउन लागेकोमा खुशी व्यक्त गरे । उनीहरुले रोजगारीसँगै स्थानीय उत्पादनको बजारभाउ र आर्थिक स्तरोन्नतीको अपेक्षा गरे । सँगै उनीहरुले उद्योग आउँदा प्रदुषणको सम्भावनाबारे चिन्ता व्यक्त गर्दै सञ्चालकहरुसँग त्यसको स्पष्ट मापदण्ड जान्न चाहे । ‘कम भन्दा कम प्रदुषण हुनेगरी उद्योग सञ्चालन गर्नुहोला’, स्थानीयबासीहरुको एउटै स्वर थियो, ‘बढी भन्दा बढी स्थानीयलाई रोजगारी दिनुहोला ।’


कार्यक्रमको अध्यक्षता गरिरहेका कम्पनीका संस्थापक अध्यक्ष ज्योतिलाल भण्डारीले स्थानीयहरुलाई रोजगारी मात्रै नभई ‘आफै श्रमिक, आफै मालिक’ को अवधारणा सुनाए । स्थानीयलाई रोजगारी मात्रै नभई कम्पनीमा शेयर हिस्सेदारीका लागि आवश्यक नीतिगत व्यवस्था सुनिश्चित गरेको जानकारी दिंदै भण्डारीले प्रत्येक श्रमिकलाई न्यूनतम शेयर हिस्सा दिने व्यवस्था कम्पनीले गरिरहेको बताए । ‘आफै श्रमिक–आफै मालिक, उत्पादन हाम्रै नेपालको’ हाम्रो मूल नारा हो,’ श्रमिकलाई पनि सेयरमा जोड्दै लैजाने कम्पनीको अवधारणा सुनाउँदै अध्यक्ष भण्डारीले भने ।


‘प्रदुषण मुक्त उद्योग सञ्चालनका लागि यथासम्भव प्रविधिको प्रयोग गर्न खोजिएको छ’, स्थानीयहरुको चिन्तामा व्यक्त जिज्ञासा शान्त पार्दै अध्यक्ष भण्डारीले भने, ‘प्रदुषण होइन, उद्योगबाट निस्कने फोहोरबाट समेत मोहर कमाउन विद्युत प्लान्ट जडान गर्दैछौं ।’ उद्योगबाट निस्कने फोहोर पानी सोझै राप्तीमा जान नदिन ‘वाटर ट्रिटमेन्ट प्लान्ट’ जडान गरी पानी पुनः प्रयोगको वैज्ञानिक प्रविधि कागज उद्योगमा जडान हुने अध्यक्ष भण्डारीको दाबी थियो ।


कर्यक्रमका प्रमुख अतिथि, गाउँपालिका प्रमुख लाहुराम थारुले उद्योग र स्थानीयबासी बीच नङ, मासुको सम्बन्ध स्थापित हुनुपर्ने बताए । ‘राप्तीसोनारीमा यति ठूलो लगानीमा उद्योग स्थापना स्थानीय सरकारका लागि गौरवको कुरा हो’, गाउँपालिका प्रमुख थारुले अन्तक्र्रियात्मक कार्यक्रममा भने, ‘जुन प्रविधि र प्रयोजनका लागि उद्योग खुल्दैछ त्यसले राप्तीसोनारीको पहिचान स्थापित गर्ने र स्थानीयको आर्थिक स्तरोन्नतीमा ठूलो भूमिका खेल्ने आशा जगाएको छ ।’


गाउँपालिका प्रमुख थारुले त्यसका लागि पालिकाले आवश्यक नीतिगत सहकार्य गर्न तयार रहेको बताए । ‘तर जे भनेर आज उद्योग स्थापना गर्दै हुनुहुन्छ ती कुराहरुलाई अक्षरस पालना गर्दै उद्योग सञ्चालनमा अगाडि बढ्नुहोला,’ प्रमुख थारुले प्रष्टसँग भने, ‘हात्तीको जस्तो देखाउने दाँत र चपाउने दाँतले उद्योग चलाउने होइन ।’


वडाध्यक्ष मदन कुमार वलीले पेपर मिलले आफ्नो वडाको पहिचान बनाउने आशा गरे । प्रदुषणको चिन्तालाई उद्योगले सम्बोधन गर्दै जानु पर्ने कुराको ध्यानाकर्षण गराउँदै भने, ‘प्रदुषणको गुनासो धेरै रहेन भने बाँकी पार्ने उद्योगको प्रभाव हाम्रा लागि निकै सकारात्मक हुनेछ ।’
कार्यक्रममा राप्तीसोनारीका स्थानीयबासिन्दा समेत रहेका पूर्व मन्त्री प्रेम बहादुर भण्डारीले घरदैलोमै रोजगारी सिर्जना गर्नेगरी निकै ठूलो उद्योग आउनु महेन्द्रपुर तथा राप्तीसोनारीका लागि मात्रै नभई जिल्लाकै लागि गौरवको कुरा भएको बताए । पूर्व मन्त्री भण्डारीले राज्यले नीतिगत सहजीकरण र स्थानीयले अपनत्व लिएर उद्योग सञ्चालनमा ल्याउन सके त्यसको प्रतिफल उद्योग सञ्चालकदेखि राज्य र स्थानीयसम्म पुग्ने विश्वास व्यक्त गरे ।


कार्यक्रममा स्थानीय सामुदायिक वन लालिगुराँश सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मेघराज उपाध्याय, हरियाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष हरिभक्त पौडेल, आधारभूत विद्यालयका प्राचार्य टोप बहादुर सुनार, नेकपा एकीकृत माओवादी केन्द्रका प्रदेश सदस्य अमर बहादुर खड्का लगायतले वैदेशिक रोजगारीमा जाने बाध्यतामा रहेका धेरै युवाहरुलाई गाउँमै उद्योग खुल्दा निकै खुशीको सञ्चार गरेको बताए ।


स्थानीय प्रहरी अधिकारी मुकुन्द सिग्देलले उद्योग स्थापना आर्थिक समृद्धिको आधार बन्न सक्ने बताए । ‘सडक बन्दा धुलो उड्ने र दुर्घटनाका सम्भावना रहन्छ’, कार्यक्रमको सहजीकरण गरेका स्थानीय युवा होम अधिकारीले स्थानीयबासीले प्रदुषणलाई लिएर गरेको चिन्ता प्रति टिप्पणी गर्दै भने, ‘तर, दुर्घटना न्यूनीकरणका लागि सचेतना सँगै धुलो कम गर्दै सडकको उपयोगितालाई सबैका हितका लागि गरिनुपर्छ ।’ स्थानीय युवादेखि जेष्ठ नागरिकसम्महरुले सहभागिता जनाएको अन्तक्र्रियामा उद्योगबारे विभिन्न जिज्ञासा राखेका थिए, जसको प्रतिउत्तर कम्पनीका अध्यक्ष भण्डारी दिएका थिए ।


कार्यक्रममा उद्योग सञ्चालक सदस्य पवित्रा सुब्बा श्रेष्ठले कागज उद्योगले स्थानीयहरुलाई रोजगारीका लागि सम्भावनाको ढोका खोल्ने निश्चित रहेको बताइन् । ‘ढुक्क हुनुस् स्थानीयका लागि यो ठूलो अवसरको सम्भावना हो’, सञ्चालक सदस्य सुब्बाले भनिन् ।
एक्सीलेन्टले पहिलो चरणमा रिसाइकल प्लान्ट लगाउने भएको छ । ‘५२ करोड प्रारम्भिक लगानीका लागि पहिलो पटकको शेयर निस्कासन भइसकेको छ,’ अध्यक्ष भण्डारीले दैनिक ५० टनको कटन मिक्स वेष्ट पेपरबाट रिसाइकल प्लान्ट स्थापना गरिने जानकारी दिंदै ११ जना संस्थापकबाट आवश्यक लगानी संकलन गरि काम अगाडी बढेको बताए ।


जग्गा खरिद सकिएपछि मेसिनरीमा काम अगाडी बढिरहँदा उद्योगबारे जानकारी दिन स्थानीयवासी माँझ सरोकारवालाहरु सहित कम्पनीले मंगलवार अन्तक्र्रियात्मक छलफल गरेको उद्योग सञ्चालक राजेन्द्र चौधरीले बताए । रिसाइकल प्लान्टले स्याक पेपर बनाउने र सो पेपरबाट सिमेन्ट प्याकिङ् गर्ने बोरा, क्यारिङ् झोला, लगायत कार्टुन बक्स बनाउने क्राफ्ट पेपर, डुप्लेक्स पेपर तयार गरिने जानकारी अध्यक्ष भण्डारीले दिए । ‘त्यसबाट निस्केको (फालिएको) फोहरबाट फालिएको प्लाष्टिक मिसाई अण्डाको क्रेट बनाउने लक्ष्य पनि राखिएको छ,’ फालिएको पेपर र प्लाष्टिक पुनःप्रयोगबाट बनाउने सामानले प्रदुषण कम गराउने विश्वास उनको थियो ।

उद्योगले दोस्रो चरणमा पेपर मिलका लागि आवश्यक कच्चा पदार्थ (पल्प) निर्माण गर्ने योजना बनाएको छ । ‘पल्प आयात गरी पेपर बनाउँदा क्वालिटी दिन नसक्ने र आयात पेपरको क्वालिटीमा प्रतिष्पर्धा गर्न नसक्दा उद्योगहरु रुग्ण हुँदै जाने अवस्थामा देखिएका छन्,’ अध्यक्ष भण्डारीको भनाइ छ । पल्प तथा पेपर दैनिक ३०० मे.टन उत्पादन लक्ष्यका साथ अगाडी बढेको कम्पनीले जनाएको छ ।
उद्योग सञ्चालक चौधरीका अनुसार, कम्पनीलाई बजार व्यवस्थापनमा समस्या छैन । ‘कच्चा पदार्थ नेपालमै प्रशस्त पाइने हुँदा यो उद्योगको स्थापना गर्न लागिएको हो,’ सञ्चालक चौधरीले दैनिक नेपालगन्जसँग भने, ‘हाम्रै वरिपरि पाइने बाबियो, काँस, अम्रिसो, पराल, गहुँको नल, ऊँखुको छोक्राको उपयोग गरिने हँुदा स्थानीयलाई निकै फाइदा पुग्छ ।’


फाइवरयुक्त घाँसबाट फाइवर प्लान्ट स्थापना गरि डाइजेष्टर मेसिनबाट ब्ल्याक लिक्क्वायर/ब्ल्याक लिङ्नेम निकाली पल्प बनाउने योजना सुनाउँदै अध्यक्ष भण्डारीले सोही पल्पलाई व्लीचिङ् सफाई नगरी क्राफ्ट पेपर, सिङ्गल व्लीचिङ् सफाईबाट न्यूजप्रिन्ट पेपर तथा दोस्रो/तेस्रो/चौथो ब्लीचिङ्बाट सफाई गरी केमिकल गमिङ् मिसाई ७० बाट ९० प्लस ब्राइटनेसको फाइवरयुक्त ३६ जीएसएम देखि ४०० जीएसएमसम्मका कागज बनाउने गरी प्लान्ट स्थापना गर्न लागिएको बताए ।

बाँकेमा खुल्दै तीनसय ५० करोडको लगानीमा एक्सिलेन्ट पल्प तथा पेपर मिल

प्रतिक्रिया

प्रतिक्रिया