पालिका नेतृत्व छान्दै एमाले

बाँकेमा आठ हजार एमाले संगठित कार्यकर्ता सक्रिय

एमालेको बाँकेमा सबैभन्दा बढी बैजनाथमा १ हजार २ सय र सबैभन्दा कम नरैनापुरमा ३ सय संगठित कार्यकर्ता
छन् ।


नेकपा (एमाले) ले आज मङ्गलबार देशभरका स्थानीय पालिका स्तरका कमिटीको अधिवेशन गराउँदैछ । सो पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा ७५३ पालिकास्तरमा आज अधिवेशन हुन लागेको हो ।


गत शनिबार वडा अधिवेशन सकेको एमालेले आज पालिकास्तरिय अधिवेशन गर्न लागेको हो । एमालेका अनुसार, विशेष क्षेत्रअन्तर्गतका इलाकाको पनि एकैसाथ अधिवेशन हुनेछ ।

एमाले बाँकेका अध्यक्ष निरक गुरुङ्गले दिएको जानकारी अनुसार, देशभरका पालिकामा एकसाथ हुने अधिवेशनको पार्टी केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल उद्घाटन गर्दैछन् । बाँकेका आठ वटै पालिकामा अधिवेशन तयारी सकिएको जानकारी दिंदै अध्यक्ष गुरुङले दैनिक नेपालगन्जसँग भने, ‘जिल्लाका आठ हजार संगठित सदस्य विभिन्न पालिकामा अधिवेशन प्रक्रियामा सहभागी हुनेछन् ।’ एमालेको बाँकेमा सबैभन्दा बढी बैजनाथमा १ हजार २ सय र सबैभन्दा कम नरैनापुरमा ३ सय संगठित कार्यकर्ता छन् ।


अध्यक्ष गुरुङले वडा अधिवेशनले जसरी देशभर सर्वसम्मत नेतृत्व चयन गर्यो त्यसरीनै बाँकेका सबै तहमा पालिका नेतृत्व चयन हुने विश्वास व्यक्त गरे । ‘त्यसका लागि जिल्ला तथा प्रदेश तहका नेताहरुको कार्यदलले काम गरिरहेकोछ,’ अध्यक्ष गुरुङले भने, ‘कहिंकतै सर्वसम्मतको वातावरण हुन नसके एमाले लोकतान्त्रिक पार्टी भएकाले मतदानको विधिबाट नेतृत्व चयन हुने गरि सबै तयराी भइसकेको छ ।’


पार्टी सम्बद्ध स्रोतका अनुसार, सबैजसो पालिकामा एकभन्दा बढी नेतृत्वका दाबेदार भएपनि पार्टी नेतृत्वले सर्वसम्मत विधिलाई प्राथमिकतामा राखेको छ । सबैभन्दा बढी दावेदार नेपालगन्ज उपमहानगर र कोहलपुर नगरपालिकामा छन् । नेपालगन्जमा आधा दर्जन आकांक्षी छन् । तर, २०६९ देखि नगर नेतृत्व गरिरहेका दत्त प्रसाद आचार्यलेनै कमाण्ड सम्हाल्ने वातावरण बनाउन पार्टी नेतृत्वले आवश्यक कसरत गरिरहेको छ ।

‘उपमहानगरपालिकाको बैधानिक नेतृत्व चाहिं पहिलो पटक लिन खोज्दै हो,’ आचार्यले दैनिक नेपालगन्जसँग भने, ‘स्थानीय निर्वाचनको मुखमा नयां व्यक्ति नेतृत्वमा आउँदा परिपक्वता अभाव हुने भएकाले पार्टीले मलाईनै यो पटक अघि सार्ने वातावरण बनेको हो ।’ पहिले नेपालगन्ज नगरको नेतृत्व लिएका आचार्य उपमहानगरपालिका बनेपछि सचिव र पार्टी एकता भइ नेकपा बनेपछि पुनः सचिवका रुपमा काम गर्नु परेको बताउँछन् ।

प्रतिक्रिया

प्रतिक्रिया