
नेपालमा सधैंभरि एउटा गलत भाष्य तयार गरिएको छ कि ‘नेपाल कमजोर छ , नेपाली जाति अनपढ गवार छ । नेपाली असभ्य छ । नेपालीले केहि जानेको छैन । नेपाल भन्ने देश संसारमा कहिँ कतै गन्तीमा पर्दैन । नेपालमा केहि उत्पादन हुँदैन । नेपालको कुनै महत्व छैन । नेपाल गरीब भिखमाग्ने देश हो ।’ आदी इत्यादी । यो भाष्य नेपाल र नेपालीसँग कहिँ कतै मेल खाँदैन । नेपाल र नेपालीको स्वाभिमानमा आघात पुर्याउनकै लागि र नेपालको साँस्कृतिक, भौगोलिक, बौद्धिक, पुरातात्विक , प्राकृतिक सम्पन्नतामा प्रवेश गर्ने माध्यमको रुपमा यस्तो गलत भाष्य निर्माण गरिएको हो भन्ने अनेकौं आधारहरु रहेका छन् ।
हामी नेपाली विश्वका कुनैपनि देश भन्दा उच्च, सुसभ्य, सुसंस्कृत, विविधताले भरिपूर्ण, आफ्नै इतिहास आफ्नै मौलिकता भएका र सम्पन्न छौं । सयौं कुराहरु छन नेपाल र नेपालीसङ्ग जो कुनैपनि अरु देशसङ्ग छैनन् र हुनै सक्दैनन । यहि हाम्रा मौलिकता माथी विभिन्न तत्व (यूरो इण्डियन अमेरिकन)हरुबाट प्रत्यक्ष वा यहाँ एजेन्ट राखेर प्यादा खडा गरेर आतंक सृजना गरेर गराएर आक्रमण गर्ने गरिएको छ । अनि त्यसैलाई विकास, क्रान्ती, अग्रगमन, समृद्धि, अधिकार, लोकतन्त्र, गणतन्त्र, सभ्यता आदि इत्यादि भनेर भ्रम छरिएको छ । त्यही भ्रमका पछाडि युवा र शिक्षित भनिने वर्ग बेसर्म भएर कुदिरहेका छन् । यी सबै कर्मका परिणामहरु आज संसद, सरकार, समाज र संस्थाहरुमा आउँदा पनि आँखा चिम्लेर स्वीकार गरिरहेका छन् ।
निर्लजताको पराकाष्ठा त यतिसम्म छ कि आफ्नो मौलिकता आफ्नो संस्कृति आफ्नो भाषा र सभ्यतालाई गाली गर्नेहरु सभ्य र शिक्षित समाजका प्रयाय बनाइएको छ । इण्डियन, पश्चिमा आइएनजिओले भनिदिएको र तयार गरिदिएको भाष्यमा विश्वास गर्दै उनीहरुका कुरामा टपक्क विश्वास गर्ने गरिएको छ ।
आफ्नो बिषयमा आफ्नो बिरासतमा कुनै गहकिलो न अनुसन्धान गर्छ न विश्वास गर्छ । कहिँ कसैले गरिहालेको छ भनेपनि उसलाई पुरातनबादी, पछिफर्केको, अग्रगमनविरोधी जस्ता अनेकउपमा दिएर उसको तेजोबध गर्ने, उसको वैयक्तिक अधिकार र क्षमतामा समेत प्रश्न उठाइन्छ । ती अनुसन्धानका कुराहरु न यहाँ स्वीकर गरिन्छ न शिक्षालयमा पढाउने काम गरिन्छ । नेपाली भाषामा नेपालीले सगर्वका साथ भनेका कुराहरुलाई उल्लिबिल्ली गर्नेहरुलाई यहाँ निकै ठूलो प्राज्ञिक व्यक्ति भनिन्छ । नेपाली बाहेक अन्यवा अँग्रेजी भाषामा कसैले भन्यो लेख्यो, उतैको कुनै रेफ्रेन्स दियो भने उ भन्दा गतिलो जानिफकार, अनुसन्धानकर्ता, विज्ञ अर्को छैन भन्दै गर्वगर्नु यहाँका राजनीतिककर्मी देखि शिक्षाकर्मीहरु तगायतआमजनमानससम्मको मानसिकता नै बनिसकेको छ । यो भन्दा पराधीन मानसिकताको उदाहरण संसारमा कहिँकतै छैन । यस्तो पराधीन मानसिकताको उपजले नेपाल र नेपालीको अस्मिता माथि कसरी गर्व गर्नसक्छ ? घरमा आगो लगाएर खरानीको ब्यापार गर्नेहरुको यहाँ कुनै कमी छैन ।
वैदिक सनातनको मूलभूमि,मानव सभ्यताको उद्गमस्थल गण्डकप्रसवक्षेत्र यहिँ छ । वेदको निर्माणस्थल यहिँ छ । तपोभूमि यहिँ छ । संसारको सबैभन्दा गहिरो गल्छी भएको र एकमात्र शालिकग्राम पाउने नदी कालीगण्डकी यहिँ छ । दश सर्वोच्व शिखरमध्ये आठवटा यहिँ छन् । संसारको शिखर सगरमाथा यहिँ छ । बौद्धदर्शन बौद्धमार्गीहरुको तीर्थस्थल भगवान बुद्धको जन्मस्थल लुम्बिनी यहिँ छ । संसारको सबैभन्दा पुराना देशहरु मध्ये कहिल्यै पराधीन नभएको देश यहि हो । संसारको पानीको मुख्यश्रोत मानिने हिमालय श्रंखलाको ठूलो हिस्सा यहिँ छ । एउटै शहरमा धेरै विश्वसम्पदा सूचीमा परेका ठाउँहरु कठमाण्डौंमा रहेका छन् । अझ धेरै कुराहरु नेपालका विश्व सम्पदा सूचीमा मात्रै होइन विश्व साँस्कृतिक सम्पदामा दर्ता गरिएका छैनन् ।
१२९ वटा भाषाभाषीहरु र १२५ बढि जातजातिहरु रहेको देश यहि हो । यस्तो विविधता संसारको कुनैपनि मुलुकमा रहेको छैन । यहाँको सँस्कृति, परम्परा, मौलिकताको तुलना संसारको कुनैपनि मुलुकसँग गर्न मिल्दैन । यहाँ यति धेरै भौगोलिक, साँस्कृतिक, भाषिक, धार्मिक विविधता हुँदाहुँदै पनि (हाम्रो विविधतामा एकता देखेर औडाह भएका पश्चिमाहरु र तीनका नेपाली प्यादाहरुले गराएका केहि छिटपुट घटनाहरु बाहेक) कहिल्यै भौगोलिक, भाषिक, साँस्कृतिक र धार्मिक द्धन्द भएका छैनन् । विविधतामा मितेरी साइनो लगाइने प्रचलन पनि यहिँ मात्रै छ ।
नेपाल त मठमन्दिर, गुम्बा, थान, कोट, भञ्ज्याङ्ग, चौतारी भएको र यी ठाउँहरुमा पूजागरिने एकमात्र मुलुक हो । यो तन्त्र र मन्त्र शक्तिबाट बनेको र चलेको देश हो । जसको तुलना संसारमा कहिँ कुनै देशसँग गर्नै सकिँदैन । यहाँ खोलानाला, पहाडपत्थर, पशु, वनस्पिति, कूल र मूल, मातापिता, सबै पुजिन्छन् जो संसारमा कहिँ पूजिदैनन् ।
नेपाल प्राकृतिक सौन्दर्यताको अनुपम देश हो । यहाँ समथर मैदानदेखि पहाड र हिमश्रंखला छन् । मैदानी ताल देखि संसारकै उच्च भूभागमा रहेको गोसाइँकुण्ड ताल यहिँ छ । अगलो ठाउँमा सबैभन्दा धैरै पानी सञ्चय भएको ताल रारा यहिँ छ । सयौं तालतलैयाहरु यहिँ छन् । औसतन हरेक पाँच किलोमीटरको दूरीमा खोलानाला र नदीहरु रहेका छन् । सनातनीहरुका आरध्य देव महादेवको पवित्रस्थल (धाम) पशुपतिनाथ र हजारौं शक्तिपीठहरु यहि देशमा रहेका छन् ।
संसारका चलनहरु भन्दा पृथक चलन हामीकहाँ नै रहेको छ । नेपालको आफ्नै मौलिक प्रचलन छ । कसैको अंग नछोइकन दूरी बनाएरै नमस्कार भनेर एकैपटकमा हजारौंलाई अभिवादन गर्ने चलन नेपालमा छ । यसलाई बिभिन्न रोगब्याधिका बेला संसारले अपनाएको छ प्रशंसा पनि गरेको छ । यो हाम्रो आफ्नै मौलिकता हो । नेपालको झण्डा संसारको कुनैपनि देशको झण्डाभन्दा पृथक र मौलिक छ । साप्ताहिक बिदा शनिवार मनाउने देखि आफ्नै पात्रो (बिक्रमसंवत) का कुरा संसारको कहिँ पनि छैन । अतिथिलाई सत्कार गर्ने चलन पनि यहिँको अतिथि देवो भवः बाट भएको हो । हामीकहाँ बसुधैव कुटुम्बकम् को आर्दश छ । परोपकारको आर्दश यहिँको हो । आजपनि गाउँमा खानबस्न होटल चाहिँदैन । हिजो यो चलन देशैभरि थियो तर आज पूँजीबाद र अति उपभोक्तबादले मानवीयता भन्दा पैसालाई महत्व दियो ।
अक्सिजनका खानी मानिने तुलसी, वरपीपलको जगेर्ना गर्ने र यसलाई भगवानको रुप मानेर संरक्षण गर्दै आजको पुस्तासम्म ल्याइपुर्याउने पनि नेपाली सँस्कृति नै हो । घरलाई स्वर्ग र परिवारलाई सम्पत्ति मानेर यसको स्याहर संरक्षण गर्ने देश पनि यहि हो । हामीकहाँ त व्यक्ति होइन परिवार, परिवार भन्दा समाज सर्वोपरी हुने पद्धति छ जो अन्य कुनै पश्चिमा मुलुकमा छैन ।
जिउँदो देवीको रुपमा कुमारीको पूजा हुने देश नेपाल मात्रै हो । मातापितालाई देखिने देवता (इश्वर) को रुपमा सम्मान गरिने देश पनि नेपाल नै हो ।
हजारौं यस्ता कुराहरु छन् नेपालमा जो आफैमा मौलिक त छन् नै संसारलाई सिकाउने पढाउने र मानवलाई मानव बनाउने यो संसारलाई सुन्दर शान्त सहृदयताको आँगन बनाउने कुराहरुको खानी छ । ज्ञानी, खानी, पानी र जवानीले पूर्ण भएको देश हो यो । वीरहरुको अमरगाथा भएको देश हो यो । गुरुशिष्य परम्परा र आचार्य पद्धति पनि यही देशका मौलिक पद्धति हुन । म यहाँ भौतिक रुपमा रहेका धातुजन्य खानी आदीका बारेमा कुरा गर्दैन यसको बारेमा त अझै के कति छ भन्ने कुरा वर्तमानमा पश्चिमाहरुले हाम्रा पहाड र हिमालमा अड्डा जमाउन खोजेका उदाहरणबाट प्रष्टै भैरहेको छ । हामीसँग त्यस्ता खानीको कुनै कमि छैन ।
अनगन्ती आफ्ना मौलिकताहरु, आफ्नो सम्पत्ति हुँदाहुँदै पनि नेपाललाई ‘कमजोर छ यहाँ केहि छैन’भनेर नेपाल र नेपालीत्वको अस्मितामाथि प्रश्न गर्नेहरुलाई म प्रश्न गर्न चाहन्छु कि अरु देशमा हामीकहाँ भन्दा बढि के देख्यौ ? नेपाल बराबर अरु कुनै देश छ र ?शहरहरु बनाएर, रुमाले (साँझ बिहान काम गर्ने र बर्गर बीयरमा जीन्दगी काट्ने) जिन्दगी, परिवार प्रतिको वेवास्ता, मातापिता प्रतिको उदासीनता, मानमर्यादा आस्था माथिको घात, अधिकारका नाममा आफ्नो मात्रै अधिकार, महिला अधिकारका नाममा गर्भ बिक्री गर्ने,बार डिस्को समुन्द्रका छेउ र सडकमा लठ्ठिनेर नाङ्गिने छूट, घर मासेर डेराको जिन्दगी नै सम्पन्नता हो त ? यदि यहि हो समृद्धि र सम्पन्नता भने भो नेपालको लागि त्यस्तो समृद्धि र सम्पन्ता चाहिँदैन । हामी त पृथक हौं । सुशासित हौं । अनुसाशित हौं । हाम्रो सभ्यताले त्यो छाडापन र रुमाले प्रवृतिलाई छूट दिन सक्दैन ।
हामीसँग के छैन ? कसरी कहाँ कमजोर छौं ? खोजौं । अनुसन्धान गरौं । आफुलाई आफ्नो देशलाई गाली गरेर गतिलो बन्ने गलत सँस्कारको अन्त्य गरौं । आफ्नोपन, आफ्नो भाषासँस्कृति, मौलिकता र अस्मितामा गर्व गर्नसक्ने पुस्ता तयार गरौं । नेपाली पहिचान बीना कुनै विकास र समृद्धि वाहियात नै हुन । सँस्कृतिक पहिचान, अनुशासन, नैतिकता नैसबैभन्दा ठूलो विकास हो । अस्तित्व र अस्मिता नभए विकास भन्ने भ्रमजालले देश रहनेवाला छैन । अरुले बनाइदिएको भाष्यमा सुगारटाइ होइन आफ्नो वास्तविकता पहिचान गरौं । हामी कहिँ कतै कमजोर छैनौं । बेलैमा सबैको सद्बुद्धी आओस् । सबैको समय र जीवन सुखमय होस् ।