नेपालगन्जका चर्चित र सफल कानून व्यवसायी लोकबहादुर शाहको जीवन संघर्षको कथा बाहिर आउने भएको छ । दैनिक नेपालगन्ज पत्रिकामा झण्डै एक दशकदेखि नियमित स्तम्भ लेखन गर्दै आएका सफल युवा कानून व्यवसायीको शाहले आफ्नै विगतमाथि लेखेको पुस्तक ‘चौकीदारदेखि वकिलसम्म’ मार्फत उनको जीवन संघर्ष बाहिर आउन लागेको हो ।
दुःखको चौघेरा पन्छाएर सफलताको सिढी चढ्न खोज्ने युवा पुस्ताका लागि पुस्तक प्रेरणादायी हुने भन्दै प्रकाशक क्रियटिभ बुक्सका अध्यक्ष टिएस ठकुरीले पुस्तक असोज महिनाको अन्तिममा बजारमा पठाउने तयारी भइरहेको जानकारी दिए ।
छाउपडी प्रथा, हटारु जीवनशैली र भारतको चौकीदारीको आफ्नै अनुभूति मात्र होइन, उहाँले व्यवसायिक संघर्षका उतारचढावका संस्मरणहरु पनि समेट्नु भएको छ, ठकुरीले प्रेस नोटमा भनेका छन्, अछामको तत्कालिन शान्तडा–३, सारागाउँमा जन्मिनु भएका अधिवक्ता शाहले मेलारुखको नेराप्राविबाट अध्ययन शुरु गर्नुभयो । २०४६ सालमा एसएलसी पास गरेपछि सुर्खेतमा आइएल पढ्नु भएका शाहले त्यसपछिको पढाई नेपालगन्जबाट गर्नुभयो । २०५१ सालमा नेपालगञ्ज पढ्न आउनु भएका शाह यहीको स्थायी बासिन्दा हुनुभयो ।
एसएलसी पास भएपछि भारतको बम्बईमा दाजुहरुसँग चौकीदार गर्न गएको, नेपालगन्जमा १८ वर्षको डेराको यात्रा, पहिलो बहस गर्दाको अवस्था, परिपक्व वकिल देखिन कालो कोट र जुँगा पालेका सम्झनाहरु कितावमा पढ्न पाइन्छन् । बराबरी मत आएपछि गोलाप्रथाबाट बारको अध्यक्ष हुनु भएका शाह गणित विषय छल्न कानुन बिषय पढ्नु भएको थियो । गणित पढ्न नपरोस् भनेर कानुन पढेका शाह कालान्तरमा नेपालगन्जको मात्रै नभएर देशकै चर्चित कानूनी व्यवसायी बन्न सफल हुनु भएको छ । पुस्तकमा उहाँका दुःख र संघर्षहरु उतारिएको छ । पत्रकार जनक नेपाल र कुमार श्रेष्ठले पुस्तकको सम्पादन गरेका हुन् ।
क्रियटिभ बुक्सको यो छैठौ पुस्तक प्रकाशन हो ।