नेपालगन्ज उपमहानगरपालिका भित्र रहेका जग्गाहरुको वर्गीकरण गरिने भएको छ । नेपालगन्ज उपमहानगरपालिकाले जग्गाहरुको वर्गीकरणको थालनी गर्ने भएको हो । उपमहानगरपालिकाको राजश्व परामर्श शाखाले बोर्ड बैठकमा जग्गा वर्गीकरणको लागि गरेको प्रस्तावमा बोर्डले राजश्व परामर्श समितिलाई उक्त जिम्मेवारी दिएको हो ।
उपमहानगरपालिकाको राजश्व परामर्श समितिले नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्र रहेका जग्गाहरुको औद्योगिक, व्यापारिक, कृषियोग्य, आवासीय लगायतका क्षेत्रहरुमा वर्गीकरण गर्न बोर्डमा प्रस्ताव गरेको थियो ।
नेपालगन्ज उपमहानगरपालिकाले फिल्ड र नापी नक्सामा सडक क्षेत्रफल फरक पर्न गएकोमा फिल्डलाई आधार मान्ने निर्णय गरेको छ । उपमहानगरपालिकाको बोर्ड बैठकले नेपालगन्ज उपमहानगरपालिका क्षेत्र भित्र पर्ने सुर्खेतरोड (रत्न राजमार्ग) र हुलाकी राजमार्गको एलिजमेन्ट केही स्थानमा फिल्ड र नापी नक्सामा फरक पर्न गएको हुँदा फिल्डलाई नै आधार मान्ने निर्णय गरेको हो । उपमहानगरपालिकाको बोर्ड बैठकले फिल्डलाई आधारमानी सडकको बीच भागदेखि सुर्खेतरोडको हकमा ३१ मिटर र हुलाकी राजमार्गको हकमा २१ मिटरमा निर्माण इजाजत प्राप्त गर्ने निर्णय गरेको हो ।
यसैबीच, नेपालगन्ज उपमहागरपालिकाले क्रिकेट मैदानका लागि डिपिआर तयार गर्नका लागि पहल थाल्ने भएको छ । उपमहानगरपालिकाको बोर्ड बैठकले क्रिकेट मैदान निर्माणका लागि आवश्यक डिपिआर तयार गर्ने निर्णय गरेको हो । उपमहानगरपालिकाले नेपालगन्जद–६ मा निर्माण गरिने भनिएको क्रिकेट मैदानमा रहेको विवाद अन्त्य भएकाले सो निर्णय सम्बन्धित निकाय पठाउने निर्णय पनि गरेको छ । क्रिकेट रंगशाला निर्माणलाई नेपालगन्जले गौरवको आयोजनाको रुपमा लिइएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाले सुरुआतमा पर्खालको जग र माटो पटानलाई प्राथमिकतामा राखेर बजेट बिनियोजन गरेको छ । सुरुआती चरणमा क्रिकेट मैदान निर्माणका लागि २ करोड ५० लाख रकम खर्च गरिनेछ । प्रदेश सरकारको सहयोगमा १ करोड रुपैयाँमा माटो पटान र उपमहानगरपालिकाले पर्खाल निर्माणका लागि १ करोड ५० लाख रुपैयाँ बजेट बिनियोजन गरेको हो ।
नेपालगन्जमा प्रतियोगिता गर्ने मैदान नहुँदा रंगशाला नजिकै रहेको मंगलप्रसाद उच्च माविको मैदानमा क्रिकेट खेल्ने गरिन्छ । जहाँ विद्यालय सञ्चालन हुँदा अभ्यास तथा प्रतियोगिता गर्न सहज हुने गरेको छैन ।
नेपालगन्ज उपमहानगरपालिले वडा नम्बर–६ मा रहेको करिब १२ विगाहा जमिन मध्ये पाँच विगाहा जमिनमा रंगशाला निर्माण गर्ने योजना रहेको छ । नेपालगन्जको फुल्टेक्रास्थित करिब १२ विगाहा जमिन मुस्लिम समुदायको लागि कर्वला, केहि जमिन हिन्दु धर्मावलम्वीहरुले प्रयोग गर्दै आएका थिए । रंगशाला निर्माणका लागि पटक–पटक प्रयास गरिएपनि स्थानीय बासिन्दाबिच सहमति नहुँदा रंगशाला निर्माण गर्ने कार्य सुरु हुन सकेको थिएन ।
जग्गा सम्बन्धी विवाद मिलाउन नेपालगन्ज उपमहानगरपालिकाले वडा नम्बर २ अध्यक्ष एवं जग्गा छनोट समिति संयोजक सुनिल सिह हमालको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेको थियो । जसले रंगशाला निर्माणमा सहमति जुटाउने काम गरेको थियो ।











