बढ्दै सक्रिय संक्रमित: फेरि होला लकडाउन ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गरेको छ । देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४१४ छ ।

बाँकेमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बुधवार एक हजार ७०२ पुगेको छ । बुधबार २८ जना कोरोना संक्रमित थपिंदा एक हजार ७०२ पुगेको हो । जिल्ला कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार, तीन छुट्टाछुट्टै ल्याब परिक्षणमा १३ जना महिला र १५ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, बाँके जिल्लामा बुधबार एकैदिन ७३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । बाँकेका कोरोना फोकल पर्सन श्रेष्ठका अनुसार, ५४ पुरुष र १९ महिला डिस्चार्ज भएका हुन् । बुधवार डिस्चार्ज हुनेमा उच्च अदालत नेपालगन्जका कर्मचारी, नेपाली सेनालगायतका रहेका छन् । योसँगै बाँके जिल्लामा आइसोलेसनबाट डिस्चार्ज हुनेको संख्या एक हजार तीन सय ३७ पुगेको छ ।
अब जिल्लामा कोरोना संक्रमितको संख्या भने एक हजार ७ सय ७ र आइसोलेसनमा तीन सय ५४ जना सक्रिय संक्रमित छन् भने कोरोनाबाट ११ जनाको ज्यान गइसकेको छ ।
मुलुकभर पछिल्लो २४ घण्टामा १ हजार १७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरको प्रयोगशालामा ९४५९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । १ हजार ८९३ जना संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमणमुक्त हुनेको संख्या ४९ हजार ९५४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार बुधबार देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४१४ छ ।
यसैबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गरेको छ । मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५ हजार बढी भए सक्रिय संक्रमित भए बन्दाबन्दी गर्नुपर्ने निष्कर्ष निकालेको हो । २५ हजार बढी संक्रमित भए अस्पतालको पूर्वाधारमा व्यवस्थापन गर्न गाह्रो छ’ मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले भने । मन्त्रालयले जनस्वाथ्य मापदण्ड पालना हुन नसक्ने व्यवसाय एक महिना बन्द गर्न पनि सिफारिस गरेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया