प्याजको मुल्यमा ह्वात्तै वृद्धि, बढी मुनाफा लिएको भेटिए कारवाही गर्ने अनुगमन टोलीको चेतावनी
बजारमा आलु र प्याज लगायत तरकारीको मुल्यमा अप्रत्यासित वृद्धि भएको छ । भारतबाट प्याज आउन बन्द भएको बहानामा अनाधिकृत फाइदा उठाउँदै तरकारीमा अप्रत्यासित मुल्य वृद्धि गरिएको हो ।
नेपालगन्जका तरकारी पसलवालाले प्याज हुँदाहँुदै पनि बिक्री भइसक्यो, अर्डर आएको छ, भन्दै महंगो भाउ गराउनका लागि लुकाएर राखेकाले त्यस्ता उपभोक्ता ठगी गर्नेहरु उपर कारवाही हुनु पर्ने उपभोक्ताले बताएका छन् ।
अत्यधिक मुल्यवृद्धिको गुनासोसंगै संयुक्त बजार अनुगमन टोलीले त्यसको अनुगमन थालेको जनाएको छ । अनुगमन टोलीले रानी तलाउ स्थित सब्जीमण्डीको अनुगमनको क्रममा कानूनले निर्धारण गरेको मुल्य भन्दा बढी मुनाफा लिई बिक्री नगर्न ब्यापारीलाई चेतावनी दिदै कालो बजारी गरेको पाइए कडाकारवाही गरिने जनाएको छ ।
प्याज आउन रोकिएको अवस्थामा स्टक रहेको प्याजलाई बढी मुल्य लिएर बेच्न उपभोक्ता ठगी गर्ने कार्य भएको उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य अधिवक्ता वसन्त गौतम बताए । ‘केहि ब्यापारीले आफुसंग भएको प्याजलाई लुकाएर र केहिले आयात रोकिएको निहूमा आफु खुसी प्याजको मुल्य बढाएको पाइएको छ,’ अनुगमनपछि गौतमले दैनिक नेपालगन्जसँग भने, ‘त्यस्ता ब्यापारीलाई कडा कारवाही गर्नुपर्छ ।’
बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जका प्रमुख कृष्ण प्रसाद पौड्यालले प्याज आलुमा अत्याधिक मुल्य बृद्धि भएको गुनासो आए संगै रानी तलाउस्थित तरकारी मण्डीमा अनुगमन गरिएको बताए । ‘प्याजको खुद्रा मुल्य प्रति किलो ७०–देखि ८० सम्म रहेको पाइएको पौड्यालले बताए । लुकाईछिपाई बिक्रि नगरि राखेको हुनसक्ने सम्भावित स्थान पहिचान गरि अनुगमन कार्य जारि राखिएको अनुगमन टोलीले जनाएको छ ।
९ वटा पसल र मण्डीको अनुगमन गरिएको ति पसलेलाई प्याजमा बढी मुल्य लिएर आलु र प्याज नबेच्न, मुल्य सुचि राख्न, खरिद मुल्यमा न्यूनतम मुनाफा लिन, २० प्रतिशत भन्दा बढी मुनाफा राखेर नबेच्न आदेश दिइएको पौड्यालले प्रष्ट पारे । ‘कानूनले २० प्रतिशत भन्दा बढी मुनाफा राखेर बिक्रि वितरण गर्न नपाइने भएता पनि ब्यापारीले स्टकमा भएका प्याजलाई अत्याधिक मुल्य बढाएर उपभोक्ता ठगि गरेको गुनासो आएको छ,’ अनुगमनको कार्यलाई निरन्तरता दिइएको जानकारी दिंदै पौड्यालले दैनिक नेपालगन्जसँग भने ।