बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ७८ पुगेको छ । आज मंगलवारमात्रै ४२ जना निको भइ घर गएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । ‘म पुरै निको भएर आज घर फर्किंदैछु,’ लक्षणसहित संक्रमणमा परेका पत्रकार दामोदर भण्डारीले भने ।
बाँके जिल्लामा कोरोना संक्रमितको संख्या १ हजार चार सय ६९ पुगेको छ । कोरोनाबाट डिस्चार्ज हुने एक हजार ७८ र आइसोलेसनमा ३ सय ८३ रहेका छन् । जिल्लामा कोरोनाबाट अहिलेसम्म ८ जनाको ज्यान गएको छ ।
त्यसक्रममा कोरोना जाँच गर्ने ल्याब टेक्निसियननै संक्रमणमा परेका छन् । सम्बद्ध स्रोतका अनुसार, भेरी अस्पताल प्रयोगशालाका दुई जना ल्याब टेक्निसियननै संक्रमणमा परेका हुन् । उनीहरुसहित बाँकेमा सोमबार थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
फेरि घट्यो पीसीआर शुल्कः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको पिसिआर परीक्षणका लागि तोकेको अधिकतम शुल्क रु दुई हजार कार्यान्वयन गर्न निर्देशन दिएको छ । सोही निर्देशन अनुसार भेरी अस्पतालमा मुल्य घटाइएको अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले जनाएका छन् ।