भरिंदै भेरी कोरोना अस्पताल, मालपोत बन्द

सञ्चालनको साता नपुग्दै नेपालगन्जको भेरी कोरोना विशेष अस्पताल भरिभराउ भएको छ । भेरी अस्पतालभित्र विहीवारबाट सञ्चालनमा ल्याइएको कोरोना विशेष अस्पताल आइतवारनै भरिभराउ भएको हो ।

‘भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजमा रहेको कोरोना बेड लगभग भरिन लाग्यो,’ जिल्ला कोभिड म्यानेजमेन्ट सेन्टरका संयोजक समेत रहेका बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले आइतवार आफ्नो फेसबुक पेजमा पोष्ट गर्दै भने, ‘अब कम्तिमा २५० बेडको कोरोना अस्पताल निर्माणको लागि सहकार्य गरौं ।’

विहीवारदेखि सञ्चालनमा ल्याइएको भेरी कोरोना विशेष अस्पतालका लागि महत्वपूर्ण पहलकदमी लिएका प्रजिअ कुरुम्वाङको भनाइले ध्यानाकर्षण भएपछि दैनिक नेपालगन्जले बुझ्दै जाँदा पछिल्लो तीन दिनमा झण्डै ५० जना विरामी भेरी अस्पतालमा भर्ना भएको पाइयो । लक्षण भएका संक्रमितमात्र राख्ने भनिएको भेरीमा कसरी भरिए त यत्तिका बिरामी ? ‘सबेलाई भेरी चाहिएको छ,’ एक जना चिकित्सक भन्छन्, ‘संक्रमित भएपछि पहिले खजुरा क्यान्सर अस्पतालल स्थित आइसोलेसन रोज्ने गरेकोमा अहिले भेरी आकर्षण बनेको छ ।’

८ आइसियु सहत ७२ शैयाको भेरी आइसोलेसनमा ५२ जना विरामी भर्ना भइसकेका छन् । ‘केही बेड आपतकालीन अवस्थाका लागि चाहिन्छ,’ कोरोना विशेषका संयोजक डा. श्यामसुन्दर यादवले दैनिक नेपालगन्जसँग भने, ‘सय बेड तुरुन्तै चाहिन्छ भनेरै लागिएको हो, अब २÷३ सय बेडका लागि सरकारले छिट्टै सोचिहाल्नुपर्छ ।’

यसअघिनै भेरी अस्पताल प्रमुख डा. प्रकाश थापाले ५ सय बेडको आइसोलेसनका लागि ध्यानाकर्षण गराएका थिए । ‘भेरीका लागि सरकारले अब गम्भीर हुनैपर्छ,’ चिकित्सकहरु भन्छन्, ‘सबै राजनीतिक दलदेखि नागरिक समाज एक भएर सरकारलाई दबाब दिनुपर्छ ।’

थपिए २१, मालपोत बन्द

खजुरा गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपति सहित बाँकेमा आइतवार २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ‘केही दिनदेखि ज्वरो, खोकी जस्ता लक्षण नरोकिएपछि परिक्षण गराएको थिएँ, पोजेटिभ नतीजा आयो,’ एक सातादेखि घरमैं बसेकाले घर बाहेक अरु कसैतिर संक्रमण नभएको जानकारी दिंदै कक्षपतिले भने, ‘मेरो कन्ट्याकमा सायदै कसैलाई जोखिम छैन ।’

आइतवारनै नतीजा आउनासाथ अस्पताल पुगेका कक्षपतिले भेरीस्थित आइसोलेसनमा उपचार गराइरहेको बताए । संक्रमण पुष्टि भएसगै कक्षपतिले जनताको सेवा गर्दा गर्दै संक्रमित हुन पुगेपनि उच्च मनोबलका साथ कोरोना मुक्त भएर पुनः जनताको सेवामा आउने प्रतिबद्धता ब्यक्त गरेका छन् । ‘कसरी संक्रमण भयो यसै भन्न सकिन्न,’ उनले भने । बाँकेमा २१ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् । स्वास्थ्य कार्यालय बाँकेले दिएका जानकारी अनुसार, जिल्लामा १० महिला र ११ पुरुषमा संक्रमण पुष्टि भएको छ । कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार, थपिएका संक्रमितहरुमा बैजनाथ गाँउपालिकाका ८ जना, नेपालगन्ज उपमहानगरका बिभिन्न वार्डका ६ जना, खजुरा गांउपालिकाका ४ जना र कोहलपुर नगरपालिकाका ३ जना छन् । यसँगै बाँकेमा कुल संक्रमितको संख्या १४४० पुगेको छ । जसमा ९९७ जना कोरोना मुक्त भएर घर फर्केका छन् भने जिल्लामा ८ जनाको मृत्यु भएको छ ।

फोकल पर्सन श्रेष्ठका अनुसार, आज सोमवार ४० जना कोरोना जितेर घर फर्किंदैछन् । यससँगै बाँकेमा १ हजार ३६ जना निको भएका छन् । ३९६ सक्रिय संक्रमित रहेको बाँकेमा अन्य जिल्लाका पनि ६ जना उपचारार्थ आइसोलेसनमा छन् । प्लाज्मा थेरापीबाट उपचार गरिएका सल्यानका युवा निको भएर आइतवार फर्किएको पनि भेरी अस्पतालले जनाएको छ ।

यसैबीच, बाँकेको भूमिसुधार तथा मालपोत कार्यालयका १४ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि आइतबारदेखि ३१ भदौसम्म कार्यालय बन्द गरिएको छ ।

प्रमुख मालपोत अधिकृत प्रेमबहादुर दौल्यालले आइतबार बिहान एक सूचना प्रकाशित गरी कोरोनाको जोखिम नियन्त्रण गर्न कार्यालयको सेवा बन्द गरिएको बताएका हुन् । शनिबार भूमिसुधार तथा मालपोत कार्यालयका १४ जना कर्मचारीसहित ४० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना फोकल पर्सन श्रेष्ठले दिएको जानकारी अनुसार, जिल्लामा सबैभन्दा बढि नेपालगन्जमा कोरोना संक्रमण देखिएको छ । आठ स्थानीय तहमध्ये जिल्लाको आधा संख्याका कोरोना संक्रमितहरु नेपालगन्ज उपमहानगरपालिका भित्र भेटिएका हुन् ।

श्रेष्ठले दिएको तथ्यांकका अनुसार, नेपालगन्जमा हालसम्म ६६७ जना कोरोना संक्रमित भेटिएका छन् । जबकी जिल्ला भरि नै १ हजार ४ सय १९ जनामा संक्रमण भेटिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया