आइसियु सहित ७२ शैया सुचारु, छिट्टै सय पु¥याइने, सरकारसँग भेन्टिलेटर माग
नागरिकसँगको सहकार्यमा थालिएको प्रयासबाट नेपालगन्जसिथत भेरी अस्पतालमा ८ आइसीयुसहित ७२ शैयाको ‘भेरी कोरोना विशेष अस्पताल’ सञ्चालनमा ल्याइएको छ । कोरोना कहरको ६ महिना धानेको खजुरास्थित क्यान्सर अस्पतालमा रहेको आइसोलेसन बन्द गर्दै भेरीमा कोरोना विशेष अस्पताल सञ्चालनमा ल्याइएको हो ।
सरकारी बजेटमा प्रक्रिया र समय दुवै झन्झटिलो हुने भन्दै जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर, भेरी अस्पताल विकास समिति, बाँके जिल्ला प्रशासनले भेरी कोरोना विशेष अस्पताल बनाउन निजी क्षेत्रसँग सहकार्य गरेका हुन् । नेपालगन्ज उद्योग वाणिज्य संघ, सांग्रीला विकास बैंक, नेपालगन्जमा स्वास्थ्य शिक्षा सञ्चालन गर्ने कलेज लगायतको सहयोगमा पूर्वाधार तयार भएको अस्पताललाई आवश्यक पर्ने जनशक्ति भने प्रदेश सरकारले व्यवस्था गर्ने गरि बजेट व्यवस्थापन गरिसकेको छ ।
खजुरामा ५० सँगै भेरी अस्पतालमा ८ वटा आइसोलेसन शैया सञ्चालनमा रहेकोमा प्रदेश ५ सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालले बिहीबार ‘भेरी कोरोना विशेष अस्पताल’ को उद्घाटन गरेका हुन् । ‘सरकारसँग भेन्टिलेटर माग गरेका छौं,’ भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाले भने, ‘आइपुगेसँगै ७२ बेडलाई सय पु¥याइनेछ ।’ भेरीले आवश्यक जनशक्तिको पहल थालिसकेको अस्पताल प्रमुख डा. थापाले जानकारी दिए ।
प्रदेश सरकारका मन्त्री बरालले भेरी अस्पताल संघीय सरकारको मातहतमा रहे प्रदेश सरकारबाट निरन्तर सहयोग रहिरहने बताए । हालैमात्र प्रदेश सरकारले भेरीका लागि जनशक्ति सहयोग गर्ने निर्णयसँगै बजेट निकासा गरेको छ ।
अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालको अध्यक्षतामा भएको अस्पताल उद्घाटनमा कार्यक्रममा प्रदेशसभा सदस्य आइपी खरेल, भेरी अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठ, भेरी कोरोना विशेष अस्पताल सञ्चालन उपसमितिका संयोजक डा.श्यामसुन्दर यादव, लायन्स लिडर मधुसुधन शर्मालगायतले भेरी अस्पतालको विकासका लागि संघीय र प्रदेश सरकारको ध्यानाकर्षण गराए ।
कोरोना संक्रमण भई स्वास्थ्यमा जटिल समस्या भएका विरामीको प्लाज्मा थेरापी विधिबाट उपचार गर्ने अनुमति पाएको भेरी अस्पतालमा कोरोना बिशेष अस्पतालका लागि प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले स्थानीय सरकारदेखि निजी क्षेत्रसँग प्रभावकारी समन्वय गरेका थिए भने संयोजक डा. श्यामसुन्दर यादवले अभियानको कमाण्ड गरेका थिए । अस्पतालका अध्यक्ष प्रमोद धितालले छिट्टै सय बेड पु¥याउन सरकारले आवश्यक सहयोग गर्नुपर्ने औल्याए ।
खजुरास्थित क्यान्सर अस्पतालको आइसोलेसन बन्द गरि क्यान्सर उपचार सेवालाई अगाडी बढाउने सरकारको योजना छ । अहिलेपनि खजुरास्थित कृषि तालिम केन्द्र, लायन्स डेन्टल अस्पताल नेपालगन्ज, कृृषि विकास बैंक तालिम केन्द्र पिपरी र मनिकापुरस्थित होटल ह्वाइट हाउसलाई सामुदायिक आइसोलेशन सेन्टर बनाइएको छ । भने, निजी क्षेत्रबाट होटल सिटी प्यालेस, न्यू इन्द्रेणी लगायतले ‘सेल्फ पेड आइसोलेसन’ सञ्चालन गरिरहेका छन् । त्यसबाहेक सरकारलेनै लेभल ३ को मान्यता दिएर नेपालगन्ज मेडिकल कलेज, शक्षिण अस्पताल कोहलपुरमा जटिल प्रकारका संक्रमितहरुको उपचार सेवा प्रदान गरिरहेको छ ।
‘लक्षण सहितका कोरोना संक्रमितका लागि मात्र भेरीमा व्यवस्था गरिनेछ,’ अस्पताल प्रमुख डा. प्रकाश थापाले दैनिक नेपालगन्जसँग भने, ‘त्यसका लागि आइसियु सहित प्रत्येक बेडमा अक्सिजन पाइपलाइन पु¥याएसकिएको छ ।’
यसैबीच, भेरी अस्पताल नेपालगन्जले कोभिड बिशेष अस्पतालका लागि बुधवार दरखास्त आह्वान गरेको छ । भेरीले दैनिक नेपालगन्जमा एकहप्ताको म्याद सहितको दरखास्त आह्वानका लागि सूचना प्रकाशित गरेको हो ।
‘कोरोना विशेष अस्पतालकै लागि जनशक्ति माग गरिएको हो,’ अस्पताल प्रमुख डा. थापाले भने । प्रदेश ५ सरकारले नेपालगन्जको भेरी अस्पताल सहित प्रदेशभित्रका चार वटा कोरोना विशेष अस्पतालमा ५ सय ८३ जना जनशक्ति र तीन करोड ९६ लाख ३२ हजार रुपैयाँ बजेट स्वीकृत गरेको छ । भेरी अस्पताललाई रु १ करोड ४० लाख स्वीकृत दिएको छ ।
कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि ३ महिनाकालागि स्वास्थ्यकर्मी करारमा भर्ना गर्ने र ती जनशक्तिलाई प्रदेश निजामती सेवाका कर्मचारी सरह सेवा सुविधा दिन बजेट स्वीकृत गरिएको हो । भेरीका लागि १ सय ५२ जना दरबन्दी राख्ने निर्णय भएको छ ।
सांग्रीलाले दियो तीन लाख
भेरी अस्पतालको कोरोना विशेषका लागि सांग्रीला डेभलपमेन्ट बैंकले तीन लाख रुपिया सहयोग गरेको छ । विहीवार अस्पताल उद्घाटनका बैंकको तर्फबाट सांग्रीला डेभलपमेन्ट बैंक नेपालगन्जका क्षेत्रीय प्रमुख जयन्द्र खड्काले चेक हस्तान्तरण गरेका हुन् ।
भेरी कोरोना विशेष अस्पतालका संयोजक डा. श्याम सुन्दर यादवलाई बैंकका तर्फबाट क्षेत्रीय प्रमुख खड्कासँगै संस्थापक मधुसुदन शर्मा, शेम शाक्यलगायतले हस्तान्तरण गरे ।