प्रजिअ भन्छन्, ‘जोखिम बढ्यो,’ व्यवसायी भन्छन्, ‘अब कडा मापदण्ड बनाऔं, निषेधाज्ञा हटाऔं ’
दिनहँु संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरले बाँकेमा साताको दुई दिन जारी हुँदै आएको निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको छ ।
विहीवार प्रदेश सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालसमेतको सहभागितामा बसेको विशेष बैठकले निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको हो । ‘जोखिम बढ्दै गएकाले निषेधाज्ञालाई निरन्तरता दिनुनै उचित लाग्यो,’ सेन्टरका संयोजक समेत रहेका बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले दैनिक नेपालगन्जसम्ग भने, अघिल्लो साता जस्तै पैदलसमेत हिढ्न निरुत्साहित गरिएको छ ।’ यसले संक्रमण विस्तारलाई धेरै हदसम्म नियन्त्रण गर्न सक्ने विश्वास राखिएको उनको भनाइ छ ।
उद्योगी व्यवसायीहरुले भने यो व्यवस्था फिर्ता लिन माग गरेका छन् । ‘हामीले जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरकै बैठकमा अब निषेधाज्ञा हटाएर स्वास्थ्य सतर्कतासहितको मापदण्डमा बजार खोलौं भनेका छौं,’ नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरन्जीवी ओलीले दैनिक नेपालगन्जसम्ग भने, ‘हाम्रो कुराहरुमा मन्त्रीज्यू पनि सहमत हुनुहुन्छ ।’
विहीवारनै बसेको नेपालगन्ज उद्योग वाणिज्य संघको बैठकले असोज १ गतेदेखि आन्तरिक लकडाउन र निषेधाज्ञालाई पूर्णरुपमा हटाउन माग गरेको छ । उपभोग्य एवं अत्यावश्यक सामान उत्पादन तथा विक्री वितरण गर्ने कार्य प्रभावित भएको भन्दै संघले लकडाउन र निषेधाज्ञा हटाउन जिल्ला प्रशासन कार्यालय बाँकेसंँग माग गरेको हो ।
बिहिवार संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीको अध्यक्षतामा बसेको कार्यसमिति बैठकबाट कोरोना भाइरस नियन्त्रण गर्न लागू गरिएको लकडाउन तथा निषेधाज्ञा असोज १ बाट हटाउन माग गरेको महासचिव ओलीले जानकारी दिए । ‘साढे पाँच महिना झेल्नसम्म झेलियो । अब झेल्नै नसकिने अवस्था आयो ।’ संघका अध्यक्ष मन्सुरीले भने,–‘त्यसकारण अब असोज १ गतेबाट पूर्णरुपमा लकडाउन खोल्ने र निषेधाज्ञा हटाउनुपर्छ भन्ने जोडदार माग राख्छौ ।’
बजारमा अटेरी उस्तै छ, अनि यो अवस्थामा किन यस्तो माग आयो ? दैनिक नेपालगन्जको प्रश्नमा महासचिव ओलीले भने, ‘मापदण्ड नअपनाउनेलाई कारबाही गरेर, उच्च स्वास्थ्य सतर्कतासहित बजार खोलौं भन्ने जोड हो ।’ मापदण्ड पालनामा संघको भूमिका खोइ ? ‘समस्या छ, तर हामी माइकिङदेखि मोनिटरिङसम्म गरिरहेका छौं,’ ओलीले भने, ‘केही अटेरी र अराजक व्यक्तिका कारण सबै गरिखाने वर्गलाई भोकमरिमा धकेल्न हुँदैन ।’