
मदिरा सेवन गरेर सवारी साधन चलाउँदै हो भने होस् गर्नुस्, तपाईंको तस्वीर कैद हुनसक्छ, त्यो पनि मापसे चालकका रुपमा । बाँके प्रहरीले मदिरा सेवन गरि सवारी साधन चलाउने व्यक्तिको तस्वीर लिने भएको हो ।
त्यसका लागि मंगलवार बाँके प्रहरीलाई प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले आवश्यक उपकरण प्रदान गरेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका लागी प्रहरी उपरीक्षक ओम बहादुर राना तीन थान आधुनिक ब्रेथ लाइजर मेसिन हस्तान्तरण गरिएको हो ।
बाँके प्रहरीले दिएको जानकारी अनुसार, ब्रेथ लाइजरबाट मा.प.से. गरी सवारी साधन चलाउने ब्यक्तिको फोटो, सम्बन्धित ब्यक्तिले सेवन गरेको रक्सीको मात्रा लगायत अन्य बिवरण समेत रेकर्ड रहनेछ । ‘उक्त रेकर्डबाट पटके कारवाहीको लागी समेत मद्दत पुग्नेछ,’ बाँके प्रहरीले मादक पदार्थ सेवनको कारण हुने सवारी दुर्घटनालाई न्यूनिकरण गर्ने उद्देश्यले उक्त उपकरण उपयोगी हुने विश्वास गर्दै भनेको छ । ‘ निकट भविष्यमा तिव्र गतिमा सवारी साधन चलाई हुने सवारी दुर्घटनालाई न्यूनिकरण गर्न ‘स्पीड राडार गन’को समेत प्रयोगमा ल्याइने बाँके प्रहरीले जनाएको छ ।








