स्वास्थ्य विमा अविलम्व लागु हुनु पर्छ । यो सरकारको दायित्व हो यसबाट भाग्न मिल्दैन । नयाँ रोजगार निती ल्याएर विदेशिएकालाई स्वदेश मैं राख्न सक्नु पर्छ । उद्योगलाई बढावा दिने योजना ल्याउनु पर्ने हुन्छ । उद्योग–धन्दा बढे रोजगारीमा बृद्धि हुने हो ।
सामान्य भाषा मा भन्दा ‘सरकार’ भनेको देश र जनता को हित सर्वोपरी हुने गरी राज्य को दैनिक कार्य–सन्चालन गर्न जनता द्वारा चुनिएका प्रतिनिधिहरु रहने निकाय हो । यसको प्रमुख काम नै देश र जनताको हित मा केन्द्रित हुनु हो । त्यो भन्दा एक इन्च दाँया–बाँया गर्नु भनेको नैतीक रुपमा पतन हुनु हो, जनमतको अपमान गर्नु हो ।
राज्य संचालन का धेरै पाटा छन काम र जिम्मेवारी पनि धेरै छन यो सत्य हो । यसका बावजुद केही यस्ता काम र जिम्मेवारी छन जसले समग्र मा सरकार कहाँ छ ? र कति पानीमा छ ? प्रस्ट देखाइ दिन्छ । जसको चर्चा बँुंदागत रुपमा निम्नानुसार गर्ने प्रयत्न रहनेछ ।
क) राज्यको सार्वभौमिकता र भौगोलिक अखन्डता : सरकारको पहिलो प्राथमिकतामा पर्ने जिम्मेवारी हो राज्यको सार्वभौमिकता र भौगोलिक अखन्डताको रक्षा गर्नु । यसमा असफल रहे सरकार भए– नभएको अर्थ रहँदैन । यो सरकारको उपस्थिति जाँच्ने र उपलव्धी नाप्ने सर्वोत्तम कसी हो । देशको अस्मिताको रक्षा गर्न आवश्यक कदम उठाउने काम सरकारको हो ।
दुर्भाग्यवस ! आज मेरो देशको सीमा मिचिएको छ, सारा नेपालीलाई थाहा छ हामी थिचिएका छौं, हामी मिचिएका पनि छौं । सरकार हेरिरहेको छ, बरु जनता जाग्यो विरोधका स्वरहरु व्यापक हुँदै गए अन्ततः सरकारले नयाँ नक्शा जारी गरेर आफ्नो उपस्थिति देखाउँछ । के त्यही नै प्रभावकारी र निर्विकल्प कदम थियो ? यो कदमबाट हाम्रो भूमि फिर्ता हुन्छ ? यति मै सरकारको जिम्मेवारी सकिन्छ ? नेपाली भूमिमा रहेको विदेशीको सैन्य अखाडा हटाउनु पर्दैन ?
एक–एक इन्चको अतिक्रमण नेपाल आमाको अस्मिता लुटिनु हो ।
ख) आन्तरिक शान्ति–सुरक्षाः सरकारको अर्को महत्वपूर्ण र प्राथमिक काम भनेको देश भित्र शान्ति–सुरक्षा कायम राखेर जनता जनार्दनलाई सुरक्षित महशुस गराउन सक्नु हो । यसको अनुभूतिले तय गर्छ कि देशमा कुन स्तरको सरकार छ !
विडम्बना ! चेलीहरुको अस्मिता लुटिएकै छ, एसिड आक्रमण भएकै छ, अझ लाजमर्दो कुरा कैयौंले न्याय पाएका छैनन् । निर्मला त प्रतिनिधि पात्र हुन् । हत्या–हिंसाका खबर हरेक दिन सुन्न–हेर्न पाइन्छ, कतिपय घटनाहरु त कमजोर प्रशासन र व्यबस्थापनका कारण घटित भएका देखिन्छन् । यहाँ जनताको के कुरा ? जन प्रतिनिधि र सुरक्षाकर्मी त सुरक्षित छैनन् । सटिक शब्दमा भन्नु पर्दा यो देशमा अराजकता व्याप्त छ । यत्तिको सामान्य र प्राथमिक कुरा व्यबस्थित नहुनुमा कमजोर, अशक्त र ईच्छाशक्ति नभएको नेतृत्व दोषी छ । ईतिहास कै मजबूत सरकारको यो हविगत हुनुमा सकृय भूमिका खेल्ने र यस्तो हुन नदिन केही भूमिका निर्वाह नगर्नेलाई ईतिहासको जिम्मा लगाऊ ।
ग) गास, बास र कपासको प्रबन्धः सरकारको अर्को महत्वपूर्ण काम आफ्ना जनताहरु लाई खाने गास, बस्ने बास र लगाउने लुगाको न्यूनतम उपलव्धता सुनिश्चित गर्नु हो । यो हरेक नागरिकको अधिकार हो । यस्ता प्राथमिक कुरा पनि पुरा भएका छैनन् भने बुझ्नुस त्यहाँ सरकार छैन ।
अर्को विडम्बना !
हाम्रो देशमा आज पनि हजारौंको चुलो बल्दैन, मागेर वा अन्य निकृष्ट काम वापत छाक टार्ने गर्छन् । आफ्नो घर र सफा–राम्रो कपडा त दिवास्वप्न नै हुन् । दूरदर्शी सोंच र दिर्घकालीन योजनाले सहजै व्यबस्थित गर्न सकिने यस्ता काम किन सुरु हुँदैनन् ?
घ) शिक्षा–स्वास्थ्य–रोजगारः माथि उल्लेखित आधारभूत ३ काम पछि सरकारले आफ्ना नागरिकलाई देखिने र महशुश हुने गरी शिक्षा, स्वास्थ्य र रोजगार को प्रत्याभूति दिन सक्नु पर्छ ।
पढन पाउनु मानव जातीको नैसर्गिक अधिकार हो, सरकारले सबै तहको पठन–पाठन निःशुल्क गर्नु पर्छ । संसारका धेरै देशमा शिक्षा निःशुल्क छ । शिक्षाको गुणस्तर समय–सापेक्ष सुधार हुनुपर्छ । निजी र सरकारी दुबैको पाठ्यक्रम र शैक्षिक गुणस्तर एउटै हुनुपर्छ ।
शिक्षा जस्तै अर्को अपरिहार्य क्षेत्र स्वास्थ्य हो । कतिपय समृद्ध देशका नागरिक विश्व–स्तरिय स्वास्थ्य सेवा उपभोग गर्छन त्यो पनि निःशुल्क वा विमाको खर्चमा वा अति न्यून खर्चमा ! रोग का कारण अकाल मृत्युवरण गर्नु पर्दैन । हरेक नागरिकहरु स्वास्थ्य् विमाबाट सुरक्षित हुन्छन् । औषत आयू उच्च हुन्छ ।
तर ! हाम्रो देश मा माथि भने जस्तो केही पनि छैन । कति विरामीले अस्पताल को मुख देख्नै पाउदैनन । हरेक बर्ष कैयौं गर्भवति महिलाहरु उचित प्रसुति सेवा अभाव मा ज्यान गुमाउँछन् । जन्म पाउने भाग्यमानी मध्य हजारौं बालबालिकाले उचित स्याहार पाउँदैनन् र कुपोषित हुन्छन् । खोप त दान–दातव्य बाट दिइन्छ, म्याद गुज्रेका खोपले ज्यान सम्म लिने गरेको खबर सुन्ने बानी छ हामी लाई !
यस्तोमा हरेक नागरिकलाई स्वास्थ्य विमा त आकाशको फल त होला ?
सबै क्षेत्रको बदहाल छ, यस्तोमा रोजगारीको क्षेत्र कसरी अछुतो रहन्थ्यो ? म त भन्छु कुनै एउटा क्षेत्रमा ठुलो वेथिती छ– त्यो रोजगारी हो । सरकारसँग न निती छ न त कुनै प्रभावकारी योजना । भएका कैयौं उद्योग बन्द भए, कति बेचिए, कति बन्द गराइए । सरकारका कारण देश कतैबाट पनि उद्योगमैत्री देखिंदैन । यहाँ उद्योगीलाई कतै श्रमिकको शोषण गर्ने शोषकको रुपमा त कतै कर चोरी गर्ने चोरको रुपमा व्याख्या गरिन्छ । देश भित्र वातावरण नभएपछि आफ्ना न्युनतम आवश्यकता पुरा गर्न विदेशिनुको नेपाली युवासंग विकल्प पनि छैन ।
अनी लाखौं युवाहरु आफ्नै स्तरबाट विदेश भासिएका छन् गास–बास–कपासको जोहो गर्न, त्यस बाट आफ्नो र देश दुबैको उत्थान गरिरहेछन् ।
निर्लज्ज ! सरकारको लाज छोप्दै छन्, देश र दुनियाँका अगाडि इज्जत राखिदिएका छन् । रेमिटान्समा आउने रुपैयाले अर्थतन्त्र चलायमान छ र लाखौं परिवारमा खुशियाली छ। तिनै विदेशिएका जनशक्तिलाई देश भित्रै रोजगारी दिन सके मात्र पनि कति हुन्थ्यो ? स्वदेशी श्रमको सम्मानका साथै वैदेशिक रोजगारले निम्त्याएको केही विकृतिको पनि अन्त्य हुन्थ्यो । गर्व साथ देशमंै काम गर्थे, देश विकासमा योगदान दिन्थे ।
अफसोच ! यतिका खोज्ने–माग्ने जनता भएन, जनताले नखोजे–नमागेपनि दिनु पर्छ भन्ने सोंचको नेतृत्व भएन !
हाम्रो सरकारले के के गरेको छ ? कति गरेको छ ? जग–जाहेर छ । नाकाबन्दीको पृष्ठभूमिमा ऐतिहासिक संख्या बलको सरकार त बन्यो, तर दीर्घरोगी प्रधानमन्त्रीलाई स्वास्थ्यले साथ दिएकै छैन शायद अहिले त पार्टीले पनि भरपुर साथ दिएको छैन । सरकार र पार्टी बिच नै दिनहुँ किचलो छ यस्तोमा कुन मानसिकताले काम गर्ने ?
सरकार ! सीमा मिचिंदा जोडदार रुपमा प्रस्तुत हुन सकेन, नक्शा जारी गरी आधा–अधुरो जिम्मेवारी निभायो । अतिक्रमित भूमि वास्तवमा हो कि नक्शामा मात्रै चाहिएको हो ? त्यसको प्रभावकारी पहल खोइ ?
सरकार ! आन्तरिक शान्ति–सुरक्षामा त्यति प्रभावी देखिएको छैन । त्यसो हुन्थ्यो भने निर्मलाले न्याय उहिल्लै पाउथिन् । सेवामा खटिएका प्रहरीले नै कुटाई खानु पर्ने थिएन ।
सरकार ! अति बिपन्नहरुको साथ भएको पनि देखिएन, उनीहरु लक्षित कुनै योजना मलाई याद छैन । उनीहरुलाई सधैं दिनु भन्दा गरी खाने व्यबस्था मिलाई दिनु पर्ने हो । सरकारीस्तरबाट सुलभ आवासको हुनु पर्ने हो ।
सरकार ! शिक्षा–स्वास्थ्य–रोजगार को क्षेत्रमा पनि कतै देखिएन । निजी र सरकारी शिक्षा बिच ठुलो खाडल छ । शिक्षामा अभिभाबकले धेरै खर्चिनु परेको छ जबकी शिक्षा निःशुल्क हुनु पर्ने हो ।
स्वास्थ्य क्षेत्र झन खत्तम छ दुर्गम जिल्लाहरुमा समय मै उपचार नपाएर धेरैको मृत्यु हुन्छ । स्वास्थ्य विमा अविलम्व लागु हुनु पर्छ । यो सरकारको दायित्व हो यसबाट भाग्न मिल्दैन । नयाँ रोजगार निती ल्याएर विदेशिएकालाई स्वदेश मैं राख्न सक्नु पर्छ । उद्योगलाई बढावा दिने योजना ल्याउनु पर्ने हुन्छ । उद्योग–धन्दा बढे रोजगारी मा बृद्धि हुने हो ।
अहिले कोरोनाको विश्व–व्यापी मारबाट हामी पनि बच्न सकेनौं ।
स्वाभाविक पनि हो, महाशक्तिहरु त जुझिरहेका छन् । यस्तो महामारीका बेला पनि सरकार त्यति प्रभावकारी देखिएन । सारा गल्ती–कमजोरीमा सर्लक्कै माफी दिन्थे जनताले ! यो बेला सबै काम–कुरा न्यायोचित ढंगले गरेको भए तर त्यो पनि हुन सकेन ।
गर्ने नियत नै नभए नियती कसरी बदलियोस ?
दुःखद !
कुरा त अझ के छ भने हामी नेपाली सहि र गलत भन्दा पनि आफ्नो पार्टीले गरेको हो भने गलत पनि सहि नै हो भन्नेमा पुग्छांै । यहाँ यस्तै परिपाटी विकसित भएको छ जुन एकदमै गलत हो । यसले कसैलाई राम्रो गर्दैन ।
हामी धेरै भावुक पनि छौँ सजिलै बहकिन्छौं । कति पटक बहकिएर गलतको साथ दिइसकेका छौँ । त्यो विगत थियो अब त्यो गल्ती नदोहोरियोस् । समृद्ध नेपाल निर्माण केवल नेता र दलको भरमा हुन्न यसमा हामी नागरिकको पनि रचनात्मक भुमिका हुन्छ । आफ्नो भूमिका आफैले खोजौं अहिलेसम्म बिग्रेको नेतामुखी भएर हो ।
टोल, बस्ती, गाऊँ, शहर अनि देशैभर आ–आफ्नो स्थानबाट सबैले आफ्नो भूमिका रचनात्मक तरिका ले इमान्दार भएर निभाऊ । परिवर्तनको सम्वाहक बनी नेपाल आमाको मुहारमा खुशी ल्याउन पहल गरौँ ।
नेता बिनाको समाज को परिकल्पना गरौँ, सामुहिक नेतृत्वको बारेमा साेंच्न सुरु गरौँ । सह–अस्तित्व स्वीकार गर्न सिकौं, एक–अर्काको सम्मान गर्न पछि नपरौं ।
माथि चर्चा गरिएका सरकारबाट राज्य र जनताका निम्ती गर्नै पर्ने र आफ्नो प्रभावकारी उपस्थिति देखाउनु पर्ने मुलभुत कुराहरुमा हाम्रो सरकारलाई मैले कतै पनि देखिन–भेटिन । साँच्चै सरकार नभएको हो कि ? मैले नदेखेको हो ? कृपया देख्ने–भेट्नेले भनिदिनु होला– ‘कहाँ छ सरकार ?’