के होला कोरोनाकाल पछिको अवस्था ?

उद्यमी व्यापारी झुण्डिएर मरेछ, फलानो ऋण तिर्न नसकेर बेपत्ता भएछ भन्ने खबरहरुले पनि यहि सरकारलाई नै गिज्याउने छ । सरकारको खातामा त्यस्ताको बक्यौता जोडिएर नातीका पालासम्म अल्याका पान्नाहरु पनि भरिनेछन् । यो त उपभोक्तावाद हो, पूँजिबाद हो, कसैले कसैलाई माफ गर्ने विवेक राख्ने छैन । देश र समाजको लागि त्यो स्थितिको कल्पनाको भयमा आजको यो कोरोनाको भय त के पो हो र ?

अहिले नेपालमा लकडाउन अझै थप्नुपर्छ, बढाउनुपर्छ यो लकडाउनलाई कडा भन्दा कडा नबनाएसम्म कोरोनाको संक्रमण रोक्न सकिँदैन भन्नेहरुको बोलबाला छ । सत्ता राजनीतिका वर्तमान महारथीहरु देखि यिनका वरिपरी भन्किने भवँरारुपि कार्यकर्ताहरुसम्म, केहि बुद्धिजीवी, केहि डाक्टर, केहि कर्मचारीहरु र केहि सरकार र यिनीहरुबाट त्रास प्रसारका कारण मृत्यु त ढोका मैं आएको छ क्यारे भनेझै गरी घरभित्रै काँपेर बस्नेहरुको एउटा स्वर छ कि अझै यो लकडाउन बढाउनुपर्छ भन्ने ।

यस्तैहरुको मनको कुरा बुझे झैं गरि केन्द्रीय सरकारले विभिन्न सेवाहरु जस्तै यातायात, हवाईसेवा, विद्यालयहरु आदी भदौ मसान्तसम्म नै बन्द राख्ने निर्णय पनि गरिसकेको छ । यो समय भनेको चैत्र ११ गते यताको पूरा १७८ दिन अर्थात झण्डै ६ महिना हो । त्यसपछि पनि आम नेपालीहरु जो बेरोजगार भएर बिहान बेलुकाको छाकका लागि नै भौंतारिनु पर्ने बाध्यता छ तिनीहरुको पीडामा अझ कति समयको नूनचूक लाग्ने हो पक्का पक्की ठेगान भने छैन । लकडाउनका शुरुआती दिनहरुमा निमूखाहरुको सहायताका लागि भन्दै स्थानीय सरकारको बजेटबाट र केहि कार्यकर्ता संघसंगठनहरुबाट सहयोग भन्दै १५–२० किलो चामल देखि एककोसा केरासम्म लामलागेर गौदान गर्न लागेझै गरि फोटो खिचाएर बाँडिएका तस्वीरहरु समाजिक सञ्जालमा आएका थिए तर ती सबै नितान्त राजनीतिक प्रचारबाजीका लागि मात्रै थिए भन्ने कुरा समयले पुष्ट्याईँ गरिसकेको छ ।

आज न कुनै चामलका थैला छन् न त कुनै सहयोगका उदाहरणहरु । कहिँ कतै केहि संस्थाहरुले सामूहिक खाना खुवाएका उदाहरण बाहेक ती भोकानाङ्गाहरु आज कसरी बसेका छन् भन्ने कसैलाई चिन्ता छैन ।
अन्तराष्ट्रिय श्रम संगठनका अनुसार नेपालमा झण्डै ३७ लाख श्रमिक रहेका छन् । यो तथ्याङ्क कति सत्य हो होइन कुनै मापन गर्ने अर्को पैमाना छैन । किनपनि भने नेपालमा भएका पर्यटन, होटल, यातायात, नीजि विद्यालयहरु, थोक तथा खुद्रा व्यवसायीका संगठनहरु, औधोगिक प्रतिष्ठानहरुले दावा गर्ने गरेको प्रत्यक्ष रोजगारी सृजनाको आधारलाई जोडेर हेर्ने हो भने यो संख्या निकै धेरै हुन आउँछ । तर पनि यहि आइएलओ कै तथ्याङ्कका आधारमा यसकै भनाइलाई मान्ने हो भने पनि असार मसान्तसम्ममा २० लाख श्रमिकहरु बेरोजगार भै सकेका छन् । यो स्थितिमा यी श्रमिकहरुको आजको दिनमा कहाँ कुन दशा भएको छ भन्ने खोजखबर नेपालका कुनैपनि तहका सरकारसँग छैन ।
आज गत ६ महिना देखि यातायात, होटल, पर्यटन व्यवसाय, नीजि विद्यालय, धेरै थोक तथा खुद्रा व्यवसाय, कतिपय औधोगिक प्रतिष्ठानहरु बन्द नै छन् । यहाँ कार्यरत सबै श्रमिकहरुले न त तलब पाउने अवस्था छ न मालिकहरुले दिने अवस्था छ । यस्तोमा ती बेरोजगार भएकाहरुको दिनचर्या कहाँ र कसरी बितेको छ भन्ने कुराको यकिन गरेर भन्ने साहस कसैमा छैन अहिले ।
कोरोना भाइरस कोभिड–१९ भन्ने यो जेसुकै रोग होला तर यसको आजसम्म न त यो लाग्ने, सर्ने कुनै सर्वमान्य कारण पत्ता लागेको छ न त यो यहि नै कारणले हुन्छ भन्ने कुनै विश्वसनीय आधार छ । विश्व स्वास्थ्य संगठन नै समय समयमा बराल्लिएको जस्तो लाग्ने गरि अनेक अनेक कारण बताउँछ र मानिसहरुलाई आतंकित पार्छ तर त्यो केहि दिनमा अर्कै रुपमा या अर्कै तरिकाले देखिन्छ । आजसम्म न त कुनै एउटै लक्षण देखिएको छ न सबै ठाउँमा एउटै प्रवृति र प्रकृतिले यो रोग बढेको छ । सबै उहि अनुसन्धान हुँदै छ भन्ने प्रहरीको तयार उत्तर झैं छन् बस लकडाउन गरेपछि सब ठिक हुन्छ ।
अन्य देशहरुमा कस्ता अभ्यासहरु भए ? जनताको भोकलाई दैनन्दिनीको खर्चलाई कसरी टार्ने भन्ने चिन्ता नेपालमा भएका तीन तीन तहका प्रचण्ड बहुमतका सरकारहरुलाई भएको यहसास कसैले गर्न पाएको छैन । यहाँ त बस आफ्ना आसेपासेहरु, आफन्तहरुलाई कहाँ कुन ठाउँमा स्थापित गराउन सकिन्छ भन्ने चिन्तामा तानातान र भागबण्डा मिलाउन नै ब्यस्तता भएका सत्ता र प्रतिपक्षका समाचारहरु मात्रै छन् । आम गरिखाने वर्ग त आफ्नो परिवार पाल्नका लागि साहुकारीको चेपमा चर्को ब्याजको रकम लिएर भए पनि ज्यान कसरी धान्ने भन्ने ध्याउन्नमा ब्यस्त छ ।
यो रोगले त दुइ तीन सय केहि मरेको खबर छ तर भोकले, अन्य रोगले यहाँ मर्नेको लेखाजोखा छैन । त्यत्रो बाढिपैरो गयो तीन सय बढि मरे तर यसको रमिता हेर्ने पर्यटन मात्रै चल्यो । कति सानासाना कारोबारीहरु बैंकका ब्याज, घरबहाल, पानी बत्ती,सञ्चारको खर्च देखि सरकारको कर समेत तिर्न सक्ने अवस्थामा छैनन् । आन्तरिक रुपमा टाट पल्टिसकेका छन् भन्दा पनि अतिशोक्ती नहोला । फेरि पनि यिनीहरुको पीडाका सारथी कोहि छैनन् ।
देशमा टाइफाइड, मुटुरोग, अल्सर, झाडापखाला, मलेरिया, कालाज्वार, क्यान्सर, मिर्गौला खराबी जस्ता रोगले यो कोरोनाले भन्दा कति धेरै मरेका छन् तर यो रोगको जुन योजनाबद्ध तरिकाले त्रासको वातावरण सृजना गरियो यसबाट धेरैको आत्मबल पक्कै पनि खस्केको छ । भोली यहि कारण नै मृत्युको महामारी बनेमा आश्चर्य हुने छैन । यहाँ त केहि वर्गको विभिन्न खाले सुरक्षाका लागि पो यो लकडाउन हो भन्ने धेरैको गुनासो पनि बढेको पाइन्छ ।
आज घरघरम छोइछिटोको वातावरण छ । सहकार्य, आत्मियता, अपनत्व, भाइचाराका सबै पर्खालहरु भत्केका छन् । कसैले कसैलाई दया करुणा गर्न आवश्यक ठान्नै छोडिसकेका छन् । उनीहरु यो समाजिक दूरीको रटानमा एकाङ्कीपनका शिकार बन्न थालेका छन् । परिवार भित्रै पनि एक किसिमको शंका उब्जिएको छ । अलिकति छाँक्कछुँक्क भयो कि त कोहि कसैको नजिक जानुका त के कुरा कसरी उसलाई बहिष्कृत गर्ने योजनामा सिँङ्गो नातागोता देखि समाज अगाडी सरेको छ । न जीवन सहज छ न मरनमा लासको सम्मान छ । यो वातावरण सृजना गरेर यहाँ भोलिको भयावह स्थितिको कल्पनालाई बिर्सिइएको छ ।
हामीले विभिन्न देशमा र नेपाल मै पनि यो रोगको चर्चापछि कतिपय मानिसहरु आफ्नो जीवनलाई त्याग्ने गरेका खबरहरु सुनेका छौं । यसतर्फ कसैको किन चिन्ता गएन ? के एउटा समाजिक प्राणी समाजबाट कटेर बाँच्न कसरी सक्छ भन्ने हाम्रा समाजशास्त्रीहरुलाई किन हेक्का भएन ? एकाङ्कीपनले सृजना गरेको रोगको कुन अस्पतालले कतिको उपचार गर्नेछ भोली भन्ने पनि चिन्तन मनन गर्नै पर्छ ।
अब अलिकति आर्थिक पाटोबाट पनि चर्चा गरौं । आज यो रोगका कारण लकडाउनलाई बिकल्पको रुपमा देश बन्द गर्दा इण्डियाको कुल ग्राहस्थ उत्पादनमा २३ प्रतिशतले ऋणात्मक भयो । जब देशमा रोगले भन्दा भोकले जनता मर्ने भए लकडाउन कुनै समाधान होइन भन्ने निक्र्यौलमा त्यो देश पुग्यो तर नेपालमा गरिखाने वर्गको के भैरहेको छ भन्ने चिन्ता बिर्सेर लकडाउन नै कोरोनाका अचूक ओखती झैं प्रचार गर्दै बढाएको बढाइ छन । त्यसैपनि निम्न वर्ग र निम्न मध्यम वर्ग बढि भएको देश हो नेपाल । यहाँको गरिबीलाई हेर्ने हो भने सरकारको गरिबी निवारण नीतिले नै स्वीकार गरेको गरिबहरु कुल जनसंख्याको २८.६ प्रतिशत रहेका छन् । जसमा शहरमा ७ प्रतिशत र ग्रामीण क्षेत्रमा ३३ प्रतिशत गरिबी रहेको भनिन्छ । यो गरिबी निकालेको आइएनजीओको विधी हो जुन कुरा नेपालको समाजिक परिवेश, यहाँको कार्यशैली, परम्परा, यहाँको जीवन पद्धति आदीबाट यसलाई ठ्याक्कै यहि नै हो भन्न सकिँदैन । अब यो गरिबी ३५ प्रतिशततिर पुगेमा कुनै आश्चर्य हुने छैन । गरिबीका मानक आधारहरु आय, उपभोग, उत्पादनका साधनमा पहुँच, शिक्षा र स्वास्थ्यमा पहुँच, समाजिक विभेद र मानवाधिकार आदीलाई मानिएको छ । यी कुराले नेपालीको दैनिक जीवनमा सबैले सबै ठाउँमा असर गर्दैन पनि । अधिकांश कृषिमा निर्भर जनसंख्यालाई यिनका मानवाधिकार, यिनका उपभोक्ताबादी सोंचहरुले कुनै अर्थ राख्दैन । यिनको कार, मोटरसाइकल, फ्रिज, एसी कुलर, कोक, पेप्सी, चाउचाउ, टुथपेष्ट, क्रिमपाउडर र हर्लिक्स कति बिक्यो भन्ने आधारमा तय गरिएको नेपालको गरिबीलाई उनीहरुको भाषामा हो हाम्रो यर्थाथमा ब्याख्या गर्न मिल्दैन । यी बस्तु भनेका नेपालीका अति आवश्यकताका वस्तु नै होइनन् । अनि कसरी यो गरिबी भन्ने ? तर यसो भनेर नेपालमा गरिबी नै छैन भन्न खोजेको पनि होइन ।
यहाँ गरिबी छ । यहाँ बर्षभरी खान नपुग्ने गरिबहरु छन् । दिनभरि काम गरेर बच्चा परिवार पाल्ने गरिबहरु छन् । यहाँ महिना भरि समान बेचेर बैंक ब्याज, पसल र घरको भाडा बुझाएर बचेकोबाट खर्च चलाउन नसकेर ऋण थपेर घर चलाउने गरिब छन् । यी र यस्ता गरिबहरुको अहिले चलेको लकडाउनले कन्तबिजोग बनाएको छ । अब यो लकडाउन असोज कार्तिक जहिले खुल्ला तर यिनीहरुको कङ्गालीको आटा त गिलो भयो भयो ।
नेपाल राष्ट्र बैंकको एउटा तथ्याङ्क अनुसार गत कार्तिक मसान्तसम्ममा २८ वटा बाणिज्य बैंकहरुले मात्रै बिभिन्न क्षेत्रमा २६.४१ खर्ब कर्जा प्रवाह गरेका छन् । जस मध्ये कृषि, माछापालन, रियलस्टेट हाउसिङ, होटल र उपभोग्य वस्तुसेवामा मात्रै झण्डै ९.७३ खर्बको लगानी गरेका छन् । यी क्षेत्र भनेका अहिलेको कोरोनाका कारण सबैभन्दा प्रभावित क्षेत्र हुन । यसको अहिले कोरोनाकाल या लकडाउनको अवस्थामा कुनै प्रभाव नदेखिएको होला । बैंकहरुले ब्याज, किस्ताका लागि व्यवसाय नचलेको हुनाले चर्को ताकेता नगरेका होलान । तर अब खेतमा धान पाक्दै छ । लकडाउन पनि खुल्ला अनि बैंकका ताकेताका घण्टीहरु बज्ने छन् । आजसम्मको खर्च चलाउन घरगाउँका साहुकारबाट लिइएका चर्का ब्याजका मिटरहरुको हिसाबकिताब पनि हुनेछन् । लकडाउन भन्दा पहिला तिर्न बाँकी रहेकाहरुले पनि अब त खुल्यो ल्याउ भनेर ढोकामा दर्शन दिन थाल्नेछन् । यसै माथि मजदूरहरुले लकडाउनको तलब नलिएर कहाँ छोड्छु र भन्दै आफ्ना आतंककारी मित्रहरुबाट फोन घुमाउन लगाएर थर्काउन थालेमा पनि आश्चर्य हुने छैन । त्यतिखेर यी व्यवसायीहरु कहाँ जानेछन् त ? जब कहिँ कतैबाट उपाय नास्ति हुन पुगेपछि बिष खाएर मर्ने, डिप्रेशनमा जाने, पेशा व्यवसाय र देशै छोडेर कतै इण्डिया या खाडीतिर भासिन पुग्ने बाहेक अर्को उपाय के होला उनीहरुसँग?
लकडउन भन्न र लकडाउन गरेर निकै गतिलो काम गर्यौ भन्न अहिले जति सजिलो भएको छ नि त्यति सजिलो र कर्णप्रिय पक्कै पनि लकडाउन खोले पछिका दिन हुनेछैनन् । बैंकका ब्याज किस्ता चैत्र यता नतिरेका धेरै छन् । होटल छोडेर भागेका, गाडी ग्यारेजमा थन्काएर हिँडिसकेका पनि कम छैनन् । भोली यो संख्या घट्ने होइन बढ्ने नै हो । यस्तोमा भोली हुने भयावह स्थितिको सामुन्ने कोरोनाको कुनै महत्व रहने नै छैन । नाफाका वासलात बनाएर लगानीकर्ताहरुलाई मख्ख पारेका बैंकहरुले निकाल्ने लिलामीका सूचनाले भरिने पत्रपत्रिकाहरुका पान्नाहरुले पनि यो सरकारलाई पक्कै पनि गिज्याउने नै छ । बिभिन्न ठाउँमा उद्यमी व्यापारी झुण्डिएर मरेछ, फलानो ऋण तिर्न नसकेर बेपत्ता भएछ भन्ने खबरहरुले पनि यहि सरकारलाई नै गिज्याउने छ । सरकारको खातामा त्यस्ताको बक्यौता जोडिएर नातीका पालासम्म अल्याका पान्नाहरु पनि भरिनेछन् । यो त उपभोक्तावाद हो, पूँजिबाद हो, कसैले कसैलाई माफ गर्ने विवेक राख्ने छैन । देश र समाजको लागि त्यो स्थितिको कल्पनाको भयमा आजको यो कोरोनाको भय त के पो हो र ।

प्रतिक्रिया

प्रतिक्रिया