महिलाका लागि समाजमा बस्न उस्तै पनि गाह्रो छ । झन् त्यसमाथि बच्चाहरुको जिम्मेवारी कांधमा भइदियो भने अझ गाह्रो हुन्छ । मैले पतिसंगै बस्ने निर्णय गर्नुको मुख्य कारण बच्चाहरु भविष्य थियो । किनभने मेरो माइत आर्थिक रुपले त्यति सम्पन्न थिएन् । त्यसकारण मेरो र बच्चाहरुको खर्च उठाउन सक्ने गरी अवस्था थिएन् । यदि म अन्तै विवाह गर्थे भने बच्चाहरुलाई छाड्नु पर्थ्यो किनभने यस्तो महंगाईको जमाना आफ्नो बच्चा पालन त धौ धौ पर्छ अरुको बच्चा कस्ले पाल्दिन्थ्यो र ?
२०६४ साल कार्तिक २० गतेका दिन बाँंके जिल्लाको नेपालगन्ज नगरीमा एउटा दर्दनाक घटना बाहिर आयो । जो कसैको जीउनै सिरिंग पार्ने जसको चर्चा देशमा मात्र नभइ विदेश सम्मनै भयो । त्यही घटनालाई नजीर बनाई नेपालमा एउटा कानून बनाइयो “घरेलुहिंसा ऐन २०६६“ । त्यो घटनाकी पीडित थिइन् हासरुन इद्रीसी । दाइजोको निहुमा एउटी महिलालाई जलाइएको त्यो घटनाले धेरैलाई स्तब्ध बनाएको थियो जसबारे करिब करिब सबै अवगत नै होलान् । तर, जलाइएको उनको शरिरपछि बाँचेको अंशबाट चिकित्सा विज्ञानले दिएको पूनर्जीवनपछिको अवस्था सायदै थाह होला ।
जुन समय उनलाई जलाइयो त्यतिखेर उनको काखमा ३ महिने दुधे शिशु छोरा र डेढ वर्षकी छोरी थिइन् । यसरी आगो लगाइएको उनको शरीर करिब ७० प्रतिशत जलिसकेको थियो जसको बांँकेमा उपचार सम्भव थिएन् । उनलाई नेपालगन्जका महिला तथा बालबालिका कार्यालय, साथी संस्था, माइती नेपाल, फातिमा फाउंडेशन नेपाल लगायतका विभिन्न संघ संस्थाको अगुवाईमा अनमिनकी मरियम जोकोको अग्रसरता र सहयोगमा अनमिनकै हेलीकोप्टरमा काठमाडौं लगेर उपचार थालियो । उनलाई न्याय र पीडकलाई सजाय दिलाउन बाँकेका विभिन्न संघसंस्थाहरु सकृय भएर लागेका थिए ।
उपचारको क्रममा उनको बच्चाहरुको पालनपोषणमा समेत संघसंस्थाहरुले सहयोग गरे । जसको फलस्वरूप उनी निको भइ नेपालगन्ज फर्किन सफल भइन् र पीडक पक्षलाई जेल सजाय भयो । तर के त्यति सम्म मात्र उनको जीवन सीमित रह्यो त ? काठमाडौंबाट उपचार पश्चात फर्केपछि के गरिन् र त्यसपछि के भयो अहिले उनी के गर्दैछिन् होला भनी मष्तिष्कमा प्रश्न उठ्छ होला ? आज हामी यसै विषयमा जानकारी गराउनेछौं । घटना पश्चात हासरुन कहाँ छिन् के गर्दैछिन् उनको जीवनमा के कस्ता परिवर्तन आए आदि । मनमा जिज्ञासाका साथ परसपुर पुगेर हासरुन इद्रीसीसंग भेटघाट गरी उनको हालको अवस्था बारे जानकारी लिएपछि उहांको स्वीकृतिमा दैनिक नेपालगन्जका लागि यो आलेख तयार गरिएको छ ।
नयाँ सम्बन्धका प्रतिक सानो छोरासँगै भेटिएकी हासरुनसँग संवाद गर्न मनलाग्यो, वास्तवमा आफुमाथि त्यति गम्भीर घटना गर्ने पतिसँगै जीवनयापनको निर्णय कसरी लिइन् ?
पतिसंगै हासरुनको नयाँ जीवन
अस्पतालमा जीवनमरणको एक वर्ष लामो काठमाडौंमा उपचार सकिएपछि हासरुन निको भएर गृह जिल्ला बाँंंके फर्केर साथी संस्थाको सेल्टरमा बसिन् । त्यहाँं उनले सिलाई कटाई सिकिन् । सिलाइ कटाइको कोर्स पुरा सिकेर उनी माइत फर्किन् । पतिको घरमा पुनः जान सम्भव थिएन्, यही बसाइको क्रममा उनको पतिको सजाय अवधी पुरा भइ रिहा भएर आए । पतिलाई आफ्नो गल्तीको पश्चाताप भयो उनी पटक पटक हासरुनसंग भेट्ने प्रयास गरे तर दुबैको परिवार पक्ष सहमत थिएन् । उनको भेटघाट गराउन हासरुनकी भाउजुले अहम् भुमिका निर्वाह गरिन् । उनको भाउजूको भेट गराउने प्रयास सफल रह्यो र एक दिन हासरुन आफ्ना पतिसंग घर परिवारलाई थाहा नदिईकन घर बाहिर भेटिन् ।
यसरी दुईचार पटकको भेटघाट र छलफलले उनीहरुलाई यो निर्णयमा पुर्यायो कि उनीहरु दुबै परिवारबाट छुट्टिएर अबदेखि संगै बस्ने भनी तय गरे । यसै निर्णयानुसार दुबै जना आफ्ना छोरा र छोरीलाई लिएर सुर्खेत पुगे । त्यहाँ कोठा भाडामा लिएर कपडा सिलाउने काम सुरु गरे । सुर्खेतमा नयाँ जीवनयापन राम्रो रह्यो । बसाइकै क्रममा उनको पति निकै बिरामी भए । उनी तीन महिनाको बसाइपछि पतिको उपचार गराउन भनी पुनः नेपालगन्ज फर्किन् ।
नेपालगन्जमा उपचार सकिएपछि पतिलाई सन्चो भयो । तर सुर्खेतमा कपडा सिलाएर महंगो कोठाभाडा, घर खर्च, उपचार खर्च, बच्चाहरुको पालनपोषण गर्न त्यति सहज भइरहेको थिएन् त्यसकारण उनी यतै बस्ने निर्णय गरिन् । उनलाई आफ्नो परिवार बारे निर्णय गर्न अब सजिलो थियो किनभने निर्णयमा हस्तक्षेप गर्ने (सासु, नन्द, देवर) कोही थिएनन् । सो उनी कोठा भाडामा लिएर टेलर्सको पसल खोलिन् जसमा बच्चाहरु सहित बसेर पति र आफु दुबै जना कपडा सिलाउने काम सुरु गरिन् ।
हाल उनको छोरी १५ वर्षकी छिन् र कक्षा ९ मा पढ्दैछिन् भने छोरा १२ वर्षका छन् र कक्षा ८ मा पढ्दैछन् उनी सगैं बस्न थालेपछि एउटा छोराको जन्म भयो जो हाल ६ वर्षका भइसके । नयाँ सम्बन्धका प्रतिक सानो छोरासँगै भेटिएकी हासरुनसँग संवाद गर्न मनलाग्यो, वास्तवमा आफुमाथि त्यति गम्भीर घटना गर्ने पतिसँगै जीवनयापनको निर्णय कसरी लिइन् ?
मुख्यकुरा मेरो श्रीमानलाई आफ्नो गल्ती महसुस भयो । उनले आफुले ठुलो गल्ती गरेको स्वीकार गरे । श्रीमति(म) सँगै बच्चाहरुप्रतिको जिम्मेवारी पुरा गरेर गल्तीको पश्चाताप गर्न चाहन्छु भनेपछि त्यो अनुभूति मलाई पनि भयो । उसो पनि घटनाक्रम हँुदासम्म हामी बीच तलाक (डिभोर्स) भएको थिएन् । त्यस कारण संगै बस्नका लागि शरीयती कुनै बाधा अवरोध पनि थिएन् । मात्र खांचो थियो त केवल मेरो सहमतिको म सहमत भएँ ।
त्यति पीडादायी घटनापछि पनि तपाईं सहमत कसरी हुनुभयो ?
महिलाका लागि समाजमा बस्न उस्तै पनि गाह्रो छ । झन् त्यसमाथि बच्चाहरुको जिम्मेवारी कांधमा भइदियो भने अझ गाह्रो हुन्छ । मैले पतिसंगै बस्ने निर्णय गर्नुको मुख्य कारण बच्चाहरु भविष्य थियो । किनभने मेरो माइत आर्थिक रुपले त्यति सम्पन्न थिएन् । त्यसकारण मेरो र बच्चाहरुको खर्च उठाउन सक्ने गरी अवस्था थिएन् । यदि म अन्तै विवाह गर्थे भने बच्चाहरुलाई छाड्नु पर्थ्यो किनभने यस्तो महंगाईको जमाना आफ्नो बच्चा पालन त धौ धौ पर्छ अरुको बच्चा कस्ले पाल्दिन्थ्यो र ? अनि पतिले पनि अर्को विवाह गरे सौतेनी आमाले बच्चालाई नहेर्ने भए बच्चाहरु अलपत्र पर्थे । यस कारण मैले धेरै साेंचविचार गरेपछि बच्चाहरुको भविष्यका लागि भएपनि पतिसंगै बस्ने निर्णय गरे जुनकी सफल रह्यो । सफल छ ।
तपाईहरुको निर्णयलाई घरपरिवारले सहर्ष स्वीकार गरे ?
सहर्ष स्वीकार गर्ने अवस्था नै थिएन् । न यताका लागि न उताका लागि । किनभने छोरीलाई जलाएर यति पीडा भोग्न बाध्य गराउनेलाई पुनः कसरी ज्वांई स्वीकार गर्थे । उता, आफुहरुलाई सजाय दिलाउने बुहारीलाई कसरी पुनः भित्र्याउने यो त सम्भव नै छैन् भन्दै दुबैतिर भित्री अडान त थियो । तर, भविष्य यिनीहरुको हो र यस बारे फैसला गर्ने हक पनि यिनीहरुलाई नै छ भनी दबाब दुबैतिरबाट आएन् । त्यसकारण संगै बस्न हाम्रो निर्णयमा दुबैतिरका परिवारले न खुलेर समर्थन गरे न खुलेर विरोध गरे । जसले गर्दा हामी पति पत्नीलाई आफ्नो र बच्चाहरुको बारेमा सही फैसला गर्न सहज भयो । हामी अहिले कोठा भाडामा लिएर बसिरहेका छौं ।
अहिलेको दिनचर्या कस्तो छ ?
यद्यपि यस्तो मंहगाईको समयमा गाह्रो छ तथापि दुबै जना मिलेर कपडा सिलाएर आफ्नो परिवार लालनपालन गरिरहेका छौं । घरायसी कामकाज गर्ने र पति अनि बच्चाहरुको हेरचाह गरी बचेका पुरा समयमा सिलाइ गर्ने गर्छु । यसैको इर्दगिर्द (वरिपरि) घुमिरहेको छ जीवनचक्र । तर लकडाउनका कारण अहिले सिलाइ पनि खासै चलिरहेछैन् के भनूं बस गुजारा हँुदैछ ।
जीवन परिवर्तनको योे कालखण्ड र अहिलेको अवस्थालाई कसरी लिनुहुन्छ ?
परिवर्तन त जीवनमामा होइन शरीरमा पनि धेरै परिवर्तनहरु भयो । उहिले खेतीपाती पनि गर्न सक्थें र गर्थें पनि । तर पोलेको शरीर भएकोले अब घाममा धेरै बेर बस्न सक्दिन् किनभने घाममा बस्दा शरीर पोल्न थाल्छ यस्तो शरीर हँुदा खेतीपाती गर्नै सकिंदैन । आगो नजिक बस्दा पनि शरीर पोल्न थाल्छ खाना पकाउन समेत गाह्रो भइरहको हुन्छ । उहिले सबै निर्णय सासु ससुरा नन्द देवर र पतिको हुन्थ्यो जसको मैले पालना गर्नुपर्थ्यो । माइत जान पनि सासु लगायतका परिवारको अनुमति भए मात्र जान पाइन्थ्यो आफुलाई चाहिने आवश्यक सरसामान घरपरिवार ल्याइदिए मात्र पाइन्थ्यो । अहिले परिवारबाट छुट्टिएर बसिरहेकोले त्यस्ता समस्या छैनन् । आफुलाई चाहिने सरसामान आफै गएर किन्छु । कहीं कतै जानु परेमा पतिलाई भनिदिए पुग्छ पहिलाको जस्तो झन्झट हुदैंन् । आफ्नो बाल बच्चाहरुको भविष्यको बारेमा पतिको सहमतिमा आफै निर्णय लिन सक्ने वातावरण छ । कुनै पनि निर्णय लिन पहिला भन्दा अहिले धेरै सहज वातावरण छ ।
अन्तमा केही ?
अवश्य नै भन्न चाहन्छु , हामी अहिले पनि त्यही समाजमा बस्छौं जहाँं छोरीलाई बोझ ठानिन्छ, दाइजोका लागि बुहारीलाई जलाइन्छ । जहां अहिले पनि दाइजो प्रथा कायम छ, अहिले पनि महिलालाई विभिन्न निहुमा तलाक दिई घरबाट निकालिन्छ । यो अवस्था कहिलेसम्म रहने ? हामी अब समाजमा सकारात्मक परिवर्तन गरौं न, छोरीलाई बोझ नठानौं, बुहारीलाई छोरी सरह माया गरौं । दाइजो मुक्त समाज बनाऔं । एउटा यस्तो दाइजो प्रथा मुक्त सभ्य समाजको सृजना गरौं । जहाँं महिला पुरुष दुबैलाई सम्मानपूर्वक बाँंच्ने वातावरण होस् । अनि ती सबैलाई धन्यवाद दिन चाहन्छु ज जसले मलाई नयाँ जीवन दान दिन आफ्नो स्तरबाट साथ र सहयोग गर्नुभयो ।
दाईजोकै निहुंमा जलाईएकी हासरुन इद्रीसी चाहन्छिन् कि अब हाम्रो समाज दाईजो मुक्त होस् । हुन पनि हो, हाल पनि हाम्रो समुदायमा दाईजो लिने र दिने चलन व्यापक छ । जो संग धन छ जो धनी छन् , जो आर्थिक रुपले सबल छन् उनीहरुले आफ्नी छोरीबेटीलाई घरै भरिने गरी दाईजो दिएर पठांउछन् । तर जो गरीब छन् आर्थिक रुपले सम्पन्न छैन्न् जसले आफ्नी छोरीलाई धनीमानी जति को दाईजो दिन सक्ने छैन्न् तिनीहरुकी छोरीहरुको उमेर ढलेपनि विवाह भएको हुदैंन् । हासरुनले त समयमा उपचार पाईन् नागरिक समाज र संघसंस्थाहरुबाट सहयोग पाईन् र त बाच्न सकिन् । तर हासरुन जस्ती धेरै छोरी छिन् जो दिनदिनै दाईजोकै लागि हिंसा सहेर बसिरहन बाध्य हुन्छिन् । किनभने न त उनीहरुको माइत आर्थिक सम्पन्न छ, न त उनीहरुसंग कुनै विकल्प छ । तसर्थ परिवारको इज्जत जोगाउने नाममा होस् वा बच्चाहरुको ममता र भविष्यको नाममा होस् उनले हिंसा सहेर बस्नु पर्ने बाध्यात्मक अवस्था अहिले पनि यथावत छ ।
तस्विर ः आगो लगाएर गम्भीर घाइते अवस्थामा उपचारार्थ अस्पतालमा रहँदा । अहिले आफ्नै पौरखबाट जीवनयापन गर्दा सिलाई मसिनसँगै हासरुन (माथि) । – तस्विर दैनिक नेपालगन्ज)